चालु आवको दुई महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गरे २९ अर्ब बीमा शुल्क, कसको अवस्था कस्तो ? (तथ्याङ्क सहित)
काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा २९ अर्ब १७ करोड २७ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । बीमा समितिले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन २९ अर्बमाथि उक्लिएको हो ।
जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले भदौ मसान्तसम्म ७ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरी आफ्नो अग्रता कायम गर्न सफल भएको छ । दोस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्मा ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। बीमा समितिको तथ्यांक अनुसार ८३ करोड रुपैयाँ मात्र संकलन देखाईएको छ ।
बीमा पोष्टले तथ्यांक बिश्लेषण गर्ने क्रममा राष्ट्रिय बीमा संस्थान नागरिक लगानी कोषबाट सरकारी कर्मचारीहरुको जीवन बीमा नविकरण शुल्क बापत प्राप्त गरेको ३ अर्ब १४ करोड रुपैयाँ तथ्याङ्कमा नदेखाइएको फेला परेको छ । खोजविनको क्रममा संस्थानको खातामा नागरिक लगानी कोषले करिब तीन अर्ब १४ करोड रुपैयाँ जम्मा गरिसकेको र संस्थानले समेत सो रकम विभिन्न बैंकहरुमा मुद्दति निक्षेपमा लगानी समेत गरिसकेको फेला परेको छ । सो तथ्याङ्क समेत समायोजन गर्दा संस्थानको कूल जीवन बीमा शुल्क ८८ करोड नभई तीन अर्ब ९७ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको छ । सो आधारमा कम्पनी दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै नेशनल लाइफ इन्स्योरेन्सले पनि सो अवधिसम्ममा ३ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरी चालु आवको तथ्याङ्कको आधारमा तेस्रो जीवन बीमा कम्पनीहरुको सूचिमा आफैलाई उभ्याउन सफल भएको छ ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पनि भदौ मसान्तसम्म ३ अर्ब १९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । बीमा व्यवसायमा उल्लेख्य सुधार गर्दै युृनियन लाइफ इन्स्योरेन्सले समेत कुल बीमा शुल्क आर्जनमा फड्को मारेको छ । युनियन लाइफले सो अवधिसम्म एक अर्ब ४० करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, भदौ मसान्तसम्म एशियन लाइफ इन्स्योरेन्सले पनि अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएको छ । सो अवधिसम्म एशियन लाइफले एक अर्ब २१ करोडमाथि बीमा शुल्क आर्जन गरेको छ ।
साथै, सिटिजन लाइफले १ अर्ब ६ करोड, सूर्या लाइफले ९६ करोड, मेट लाइफले ९२ करोड, राष्ट्रिय बीमा संस्थानले ८३ करोड, प्राइम लाइफले ७७ करोड, सन नेपाल लाइफले ७० करोड, ज्योति लाइफले ६९ करोड, आइएमई लाइफले ६३ करोड, रिलायबल नेपाल लाइफले ५९ करोड, गुराँस लाइफले ५८ करोड, रिलायन्स लाइफले ५२ करोड, प्रभु लाइफले ३९ करोड, सानिमा लाइफले ३७ करोड र महालक्ष्मी लाइफले २७ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेको छ । *सम्पादन गरिएको ।