फराकिलो नियमन र बीमा क्षेत्रको समृद्धिको लागि नयाँ बीमा ऐन जारी, बीमा क्षेत्रले फड्को मार्ने विश्वास

२४ आश्विन २०७९, सोमबार १८:२२

काठमाडौं । लामो समयदेखि पखाईमा रहेको बीमा ऐनलाई प्राधिकरण बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाईसकेकि छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको ‘बीमा ऐन २०७९’ अनुसार अबको ३० दिनपछि कार्यान्वयनमा आउनेछ र सोहि दिनबाट बीमा समिति प्राधिकरणमा रुपान्तरण हुनेछ ।

नयाँ बीमा ऐनको सर्वत्र स्वागत र बीमा उद्योगमा आमूल परिवर्तन गर्ने प्रतिकृयाहरु व्यक्त भईरहेका छन् । पूर्व अध्यक्षदेखि नियामक निकायका कर्मचारी, बीमा विज्ञहरु र बीमा कम्पनीका कर्मचारीहरुले समेत नयाँ बीमा ऐनको स्वागत गरेका छन्।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ बीमा ऐन बीमा क्षेत्रमा आएको परिवर्तनको आवश्यकता भएको बताउँदै नियामकीय क्षमता अभिवृद्धि भई बीमा उद्योग थप व्यवस्थित र मर्यादित हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘समयसापेक्ष ऐन कानुनलाई परिमार्जन गर्दै जानुपर्ने हुन्छ, बीमा ऐन २०४९ पुरानो भएको कारण नयाँ बीमा ऐन तर्जुमा गरि लागु गर्नु अति जरुरी थियो, लामो प्रयासपछि सफल भएको छ । उक्त कार्यमा योगदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दछु।’ पौडेलले नयाँ ऐनमार्फत बीमा क्षेत्रलाई प्रभावकारी रुपमा नियमन गर्न थप सहयोग पुग्ने बताए।

नियामावली बन्न बाँकि नै रहेको र बनेपछि अझै प्रभावकारी कार्यान्वयनमा आउने कार्यकारी निर्देशक पौडेलले बताए । पौडेलले नयाँ बीमा ऐन जारी भएपनि अझै धेरै काम गर्न बाँकि रहेको बताए । ‘ऐन स्वीकृत भयो, स्वीकृत भएको ३१ दिनपछि लागू हुन्छ,’ उनले थपे– ‘यो ऐन अन्तर्गत नियमावली बन्न बाँकी छ, बनेपछि पूर्ण रुपमा कार्यान्वयनमा आउँछ।’

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपति भण्डारीसमक्ष पेश भएका विभिन्न तीन विधेयक एकैदिन प्रमाणिकरण भएका छन् । राष्ट्रपति भण्डारीले असोज २३ गते मात्रै बीमा विद्येयकसहित अन्य तीन विधेयक प्रमाणिकरण गरेकी हुन्।

यससँगै राष्ट्रपतिबाट स्वीकृत बीमा ऐनले अधिकांश विषय समेटेको समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।‘ऐनले गरेको निर्देशन ऐन अन्तर्गत नै हुने छ । र, तोकिए बमोजिम भनिएका व्यवस्थाहरु नियमावलीले ताकिदिन्छ र सोही अनुसार कार्यान्वयनमा आउने छ,’ उनले भने।

नयाँ ऐन लागू भएपछि बीमा समिति रहँदैन र बीमा कम्पनीको नियामक निकायको रुपमा बीमा प्राधिकरण स्थापना हुनेछ । हालको बीमा समितिको सबै संरचना स्रोत साधनहरु बीमा प्राधिकरणमा रुपान्तरण हुन्छ । केन्द्रीय कार्यालय काठमाडौं उपत्यका भित्रै हुने छ भने प्राधिकरणले नेपालभित्र जुनसुकै स्थानमा आफ्नो कार्यालय खोल्न सक्ने छ ।साथै, यो ऐन नेपाल राज्यभर र बीमकले नेपाल बाहिर जुनसकै ठाउँमा खोलेको शाखा कार्यालयको हकमा समेत लागू हुने छ ।

यता, बीमा विज्ञहरुले पनि बीमा ऐन लागू भएपछि बीमा प्राधिकरणको क्षेत्राधिकार फराकिलो भई प्राधिकरणलाई थप जिम्मेवार बनाउने बताउँछन् । बीमा विज्ञ डा.रविन्द्र घिमिरेले नयाँ बीमा ऐनले धेरै कुराहरु समेटेकोले आगामी दिन बीमा क्षेत्रका लागि नयाँ युग हुने बताए । सबैको सामूहिक प्रयासबाट बीमा ऐन जारी भएकोले नयाँ ऐन कार्यान्वयनमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । जीवन बीमक संघका अध्यक्ष निर्मलकार्जी श्रेष्ठले नयाँ बीमा ऐन २०७९ स्वागतयोग्य नै बताए । नयाँ ऐनले बीमा क्षेत्रमा अझै उज्वल भविष्यको कामना गर्दछु । नयाँ बन्ने बीमा प्राधिकरणलाई पनि स्वागत छ।

यो एक ऐतिहासिक उपब्धि नै हो । यसले बीमा क्षेत्रमा भएका कम्पालयनसहरु अझ थप बलियो र समय अनुसार चल्न सक्ने पाटोलाई थप सहज बनाएको छ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओले बीमा ऐन प्रमाणिकरण भई कार्यान्वयनमा आएको र सामान्य खाका मात्रै भएको बीमा ऐन २०४९ लाई प्रतिस्थापन गर्दै नयाँ बनेको बीमा ऐन धेरै गतिशिल रहेको बताएका छन् ।

नमिलेका केही कुराहरु भए आगामी दिनमा शंशोधन गर्न सकिने छ । नयाँ बीमा ऐनका लागि योगदान गर्ने बीमा समिति, अर्थमन्त्रालय, संघीय संसद र राष्ट्रपतिप्रति धेरै धेरै आभार व्यक्त गर्दछु , उनले भने ।
नयाँ बीमा ऐन २०७९ लाई हार्दिक स्वागत छ । नयाँ ऐनले बीमा क्षेत्रमा अझै उज्वल भविष्यको कामना गर्दछु । नयाँ बन्ने बीमा प्राधिकरणलाई पनि स्वागत छ ।
पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले बीमा प्राधिकरण आएपछि अभिकर्ताको हकहितको लागि धेरै सुधार हुने र बीमा अभिकर्ता पेशा मर्यादित बनाउन थप सहज बाटो बन्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*