कार्तिक २२ गतेभित्र बीमा समिति बीमा प्राधिकरण बन्ने, शुभ साइत हेर्न सुरु
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट बीमा ऐन २०७९ लाई स्वीकृत गरेसँगै उक्त ऐन आजैबाट लागू भएको छ । यद्यपि राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै औपचारिक रुपमा लागू भएको मानिने छ । राष्ट्रपतिबाट आजै प्रमाणिकरण गरिएकोले राजपत्रमा समेत २०७९ असोज २३ गतेकै मितिमा प्रकाशित हुनेछ ।
नयाँ बीमा ऐनमा ऐन प्रारम्भ भएको ३० दिनभित्रमा बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने भन्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार आगामी कार्तिक २२ गतेभित्र बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण भइसक्नुपर्नेछ । त्यसको लागि केही कानुनी प्रक्रिया पुरा गर्नुपर्ने भएकोले बढिमा एक साता समय लाग्ने अनुमान गरिएको छ । यद्यपि बीमा समितिको सञ्चालक समितिबाट निर्णय भएमा तत्कालै समेत बीमा प्राधिकरणमा रुपान्तरण गर्न सकिनेछ ।
आजबाट नयाँ बीमा ऐन प्रारम्भ भइसकेपछि पुरानो ऐन आजैका मितिबाट खारेज भइसकेको छ । नयाँ ऐन अनुसार बीमा समितिले बीमा प्राधिकरणको हैसियतमा काम कारवाही गर्नुपर्नेछ । बीमा प्राधिकरण बनाउन बीमा समितिमा साइत हेर्ने काम सुरु भएको छ । शुुभ साइतमा बीमा समितिलाई बीमा प्राधिकरणमा रुपान्तरण गर्ने तयारी भइरहेको छ ।