हिमालयन एभरेष्टको आठ लाख कित्ता संस्थापक शेयर बिक्री, लक्ष्मी बैंकपछि खेतान समुहले बीमाको पनि शेयर घटायो

२३ आश्विन २०७९, आईतवार १६:०५

काठमाडौं । गत साउन १ गतेबाट एकीकृत कारोबार गर्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको आठ लाख १६ हजार २६२ कित्ता संस्थापक शेयर आज एकै दिन बिक्री भएको छ । उक्त संस्थापक शेयरको कारोबारसँगै आज नेप्सेमा उच्च अंकले बृद्धि भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा परेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर यति ठूलो मात्रामा खरिद गर्ने र बिक्री गर्ने दुवै ४९ नम्बर ब्रोकर कम्पनी रहेको छ । सुरुमा प्रतिकित्ता २७५ रुपैयाँका दरले खरिद बिक्री भएकोमा तीन लाख १५ हजार २६२ कित्ता शेयर बिक्री गरिसकेपछि मूल्यबृद्धि गरी २८० रुपैयाँ पुर्याइएको थियो ।

सो शेयर राजेन्द्र खेतानले बिक्री गरेको जनाइएको छ । खेतान समुहले सेवामुलक कम्पनीबाट धमाधम शेयर बिक्री गरिरहेको छ । दशैंपछि खुलेको पहिलो दिन हिमालय एभरेष्टको २२ करोड ६९ लाख ८१ हजार ७४४ रुपैयाँको शेयर कारोबार भएको छ । सो रकम मध्ये २२ करोड ६९ लाख ८१ हजार ७४४ रुपैयाँको शेयर एउटै कम्पनीबाट बिक्री भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गर्नुअघि खेतान समुहले लक्ष्मी बैंकको शेयर समेत यसैगरी बिक्री गरेको थियो । गत असोज २ गते लक्ष्मी बैंकको १० लाख कित्ता शेयर पनि ४९ नं ब्रोकर कम्पनीबाट बिक्री भएको थियो । उक्त शेयर पनि ४९ नम्बर ब्रोकरबाटै खरिद गरिएको थियो । उतिबेला २० करोडभन्दा बढि रकमको शेयर बिक्री गरेको खेतान समुहले अहिले पुनः २२ करोड रुपैयाँको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*