सरकारी जागिरबाट बीमा व्यवसायमा छिरेका बीमा सम्राट धर्मराज भण्डारी नौ वर्षदेखि बीमितकै घर आगँनमा

रिना खत्री
२० आश्विन २०७९, बिहीबार ११:३०

काठमाडौं । सरकारी जागिर भन्ने वित्तिकै धेरै नेपालीहरुको सपना बन्ने गर्दछ । तर, सरकारी जागिर समेत छोडेर अघि बढेकाहरु समाजमा धेरै प्रगति गर्न सफल भएका उदाहरणहरु समेत छन् । निजामति कर्मचारीको सेवा छोडेर जीवन बीमा क्षेत्रमा प्रवेश गरेका बीमा सम्राट धर्मराज भण्डारी हाल एलआईसी नेपालको अभिकर्ता मात्रै नभई उत्प्ररेणा तालिम दिने प्रशिक्षक समेत हुन् ।

भनिन्छ, घोकन्ते विद्या धावन्ते खेती, यो भनाईभित्र मेहनत र परिश्रमबारे गहिरो सम्बन्ध लुकेको छ । जति धेरै मेहनत गरिन्छ उति नै प्रतिफल प्राप्त हुन्त भन्ने कुरा यस उक्तिले पुष्टि गर्दछ । सरकारी जागिर छोडेर बीमा क्षेत्रमा प्रवेश गरेका धर्मराज भण्डारी आजको मितिसम्म पनि बीमितकै घर आँगनमा पुगेर बीमा सचेतना फैलाउनेदेखि बीमा सुल्क संकलन गर्ने र आवश्यक पर्दा ऋण उपलब्ध गराउन समेत सक्रिय भएर जुटिरहेका छन् । त्यसैले त उनलाई सरकारी जागिर छोडेर बीमा क्षेत्रमा प्रवेश गर्दा बीमा क्षेत्रले कुनै पछुतो हुन दिएको छैन ।

सामान्य प्रशासन मन्त्रालयको निजामति कर्मचारीको रुपमा काम गरिरहेका भण्डारीले उतिबेलाको मासिक २० हजार रुपैयाँको जागिर छोडेर बीमा क्षेत्रमा प्रवेश गर्दा धेरै मानिस तथा आफन्तहरुले अनौठो समेत माने । तर, उनले सरकारी जागिर छोडेर बीमा क्षेत्रमा प्रवेश गरेको आज नौ बर्ष पूरा भईसकेको छ । यस अवधीमा उनले पछाडि फर्केर हेर्नु परेको छैन, बरु बीमा सचेतना, बीमा प्रशिक्षण दिएर गाउँ गाउँमा बीमाको प्रचार गर्दैमा फुर्सद छैन ।

 

 

सरकारी जागिरको सीमित मासिक आम्दानी भन्दा बीमा अभिकर्ता पेशा उत्कृष्ट रहेको बताउँने धर्मराज भण्डारी ४८ भन्दा बढी देशहरुमा बीमा अभिकर्ताको माध्यमबाट भ्रमण गरेर बीमा जगतबारे धेरै नै राम्रो अन्तर्राष्ट्रिय अभ्यास गरिसकेका छन् ।

स्वतन्त्र पेशा र मेहनत गर्नेको लागि असीमित सम्भावना रहेको क्षेत्रमा आकर्षक हुन स्वभावि नै   धैयर्ता, लगानशीलता र निरन्तरतालाई साथ राखेर अघि बढे बीमा अभिकर्ता पेशाबाट धेरै नै अगाडि बढ्न सक्ने अभिकर्ता धर्मराजको सुझाव छ ।

बीमा अभिकर्ता पेशालाई सेवामूलक एवं जनचेतनामूलक पेशाका रुपमा स्थापित गर्नु नै अभिकर्ताको मुख्य धर्म रहेको भण्डारीको भनाई छ । बीमा अभिकर्ता पेशामा आउनुअघि भण्डारीले आफनौ साथीको माध्यमबाट एलआईसी नेपालमा २० लाखको बीमा गराएका थिए । बीमाको रकम ठूलो भएको कारण घरको नक्सा समेत राख्नुपरेको कुरा स्मरण गरे । त्यतिबेला बीमाबारे अभावका कारण २० लाखको बीमा पास गराउन एक महिना लागेको थियो भण्डारीलाई ।

 

आफ्नै साथीको सल्लाहमा उनले बीमा गराएका थिए । यसअघि पनि बीमाको प्रस्ताव लिएर अभिकर्ताहरु भण्डारीसमक्ष नपुगेको भने हैनन् । उनले त्यसलाई अस्वीकार गरेको अनुभव सुनाउँछन् भण्डारी । बीमा अभिकर्ता भनेको ठग हो भन्ने उनको मानसिकतामा थियो । त्यसैले सुरुमा विश्वास गर्न सकिन ।

आफ्नै साथीले बारम्बार बीमाबारे फाईदा बुझाएपछि ठूलो रकमको बीमा गरेका थिए, उनले । उनको साथीले जीवन रक्षाको साथै ब्याज सहित बीमा गरिदिने वाचाका साथ बीमा गराएका थिए । भविष्यमा जीवनमा आउने भावि जोखिमबाट सुरक्षण पाउनुको साथै ब्याज पाईने प्रलोभनमा विंस २०६९ सालमा २० लाखको बीमा एक महिना लगाएर घरको नक्सा देखाएर पास गरेका थिए ।

आफनौ बीमा किस्ता तिर्न पटक–पटक एलआईसी नेपालमा पुगेका धर्मराज भण्डारी कर्मचारीकै सल्लाह र उत्प्रेरणामा बीमा अभिकर्ता बन्न पुगेको अनुभव छ । एजेन्ट बन्नुपर्छ भनेर ६ महिनासम्म किस्ता तिर्न जाँदासम्म उनले वास्ता नै गरेनन् । त्यसपछि फेरी अभिकर्ता बन्नपर्यो भन्दै बीचबीचमा कल आउन थाल्यो । त्यसपछि बीमा अभिकर्ताको लागि आवश्यक डकुमेन्ट सहित एक हजार २५० रुपैयाँ लिएर लाईसेन्स लिन पुगे ।

विभिन्न तालिम र उत्प्रेरणामूलक तालिम लिएका भण्डारीले आफन्तको पहिलो चरण ५ लाखको बीमा गराएर बीमा व्यवसायको औपचारिक रुपमा सुरुवात गरेका थिए । त्यसपछि एक करोड बीमा गराएर हाल बीमा सम्राटको उपाधि पनि पाईसकेका छन् ।

बीमितलाई आजको दिनसम्म पनि घरमै बीमा सुविधा दिन जान्छन् धर्मराज । ९९ प्रतिशत बीमितलाई उनले घरमै बीमा सुविधा दिँदै आईरहको बताउँछन् उनी । किस्ता तिर्ने देखि बीमा दाबी भुक्तानी र ऋणको सल्लाह पनि उनी घरमै गएर दिन्छन् । उनका १ प्रतिशत बीमित मात्रै कार्यालयसम्म आउने गरेको बताउँछन् ।

अभिकर्ता पेशामा लागेको दुई महिनामा नै कम्पनीको पाँच लाखको टार्गेट पूरा गरेर दिल्ली घुम्ने स्कीम जितेका भण्डारी पुरानो विगत सम्झदै भन्छन्, हरेक चुनौतिलाई सम्भावनामा बदल्न सकिन्छ । नेपाल एयरलाईन्समा पहिलो जहाज चढेर विदेश जाने अनुभव गर्न पाएका थिए, उनले ।

 

मानिसको जीवनमा बीमाको ठूलो महत्व रहेको भण्डारी बताउँछन् । महामारी, भुकम्प तथा विपत्तिमा बीमाले मानिसको जीवनमा साहाराको पिल्लर बनेर साथ दिने उनको भनाई छ । ‘पैसाको मात्रै फाइदा होइन बीमा, पैसा मात्रै हेर्ने हो भने बीमा किन गर्नु बैंकमा जम्मा गरे भइहाल्यो नि । बीमा भनेको बचत र सुरक्षा दुवै हो । पैसा बचत बापत ब्याजको रुपमा बोनस दिन्छ ।’ बचतको साथमा जोखिम बहन हुने हुँदा बीमाको ठूलो महत्व रहेको उनको भनाई छ ।

बीमाको महत्व प्रष्ट पार्दै भण्डारी भन्छन्, ‘बीमा भनेकै जोखिम हस्तान्तरण सम्झौता हो । बीमितले बीमा कम्पनीसँग एउटा सम्झौता गरेको हुन्छ । त्यसैले, बीमा भनेको कुनै बस्तु किन्नु होइन । पोलिसी किन्नु होईन बीमा भनेको बीमक कम्पनीसँग गरिएको एक प्रकारको सम्झौता हो । त्यसैले चेतनशील मानिसले बीमालाई बीमा पोलिसी बिक्रीको रुपमा बुझ्दैनन्, सम्झौताको रुपमा बुझ्दछन् ।’

जीवन बीमा व्यवसायमा छोटो अवधीमा नै निकै अनुभव संगालेर खारिएका भण्डारीले बीमाको संख्या भन्दा पनि गुणस्तरीय रुपमा बीमा पोलिसी बिक्री गर्नु महत्वपूर्ण रहेको बताउँछन् । बीमा कम्पनीहरुको भविष्य अभिकर्ताको हातमा हुने भन्दै भण्डारीले हचुवा तालमा ठूलो रकम बीमा भरिदिने अनि अर्को वर्षदेखि बीमा शुल्क भुक्तानी गर्न नसक्ने अवस्था आउन नदिन बीमा अभिकर्ता आफै सचेत हुनुपर्ने बताउँछन् ।

अभिकर्ताले बीमितको आम्दानी तथा आर्थिक अवस्थता विश्लेषण गर्नुपर्ने बताउँछन् । बीमितको आर्थिक अवस्था अडिट गरेर बीमा गर्न सुझाव दिन्छन् उनी । बीमितले आज गरेको बीमा २० वर्षसम्म भुक्तानी गर्न सक्ने हुनुपर्ने उनको धारणा छ । ‘बीमा के हो ? जीवन बीमाबारेको सही कुरा के हो ? यति फाइदा र उति फाइदा भनेर ल्याउँछन् । त्यस्ता पोलिसीहरु ड्रप आउट हुन्छ । आर्थिक अवस्था हेरेर बीमा गर्नुपर्दछ ।’ जीवन बीमाबारे प्रष्ट पार्दै भण्डारी भन्छन् ।

बीमा गर्दा अभिकर्ताले धेरै विषयमा ध्यान दिनुपर्ने उनको भनाई छ । ‘आम्दानी बैधानिक हो कि होइन । राज्यलाई कर तिरेको छ छैन ? धेरै कुरा पो आउँछ । व्यक्तिको आजदेखि २० वर्षसम्मको आर्थिक अवस्था विश्लेषण गर्नुपर्दछ । ठूलो रकम बीमा हालेर हुँदैन । सबै आम्दानी बीमा गरिदियो भने उसको जीवन नै भद्रगोल हुनसक्छ । अनि उसले भुक्तानी गर्न सक्दैन । बीमा अभिकर्ताले यी कुराह भुल्नु हुँदैन ।’ जीवन बीमा क्षेत्रमा नवप्रवेशीहरुलाई त्यति सजिलो नभएको उनी बताउँछन् । तर, धैर्य गरेर व्यापार गर्न सकेमा सफलता मिल्ने उनको बुझाई छ ।

बीमा अभिकर्ताहरु जुनसुकै कम्पनीमा जाँदा पनि लाईसेन्स नै लिनुपर्ने हुन्छ । तर एलआईसी नेपालको जुन ब्रान्ड रहेको छ, त्यसमा बीमितको थप चासो हुने भण्डारी बताँउछन् । विश्वमा परिचित कम्पनीसँग जोडिएर बीमा अभिकर्ता बन्दा थप सहयोग पुग्ने उनको भनाई छ । बीमा बजारमा खटेर मात्रै नभएर आफ्नो व्यक्तित्व विकास गरेर बीमा कम्पनीका प्रडक्टरबारेमा राम्रो ज्ञान लिएर मात्रै बजारमा निस्कनुपर्ने उनको भनाई छ । बीमितले अभिकर्ताहरुलाई राम्रोसँग चिनेर मात्रै बीमा गर्न आग्रह गर्छन अभिकर्ता भण्डारी ।

कतिपय अभिकर्ताहरु झूट बोलेर व्यापार गरिरहेका छन् । टार्गेटले गर्दा बीमा क्षेत्रमा सर्वसाधारणलाई झुक्याउने काम भइरहेको उनको अनुभव छ । बीमाको बोनससहित म्याचुरिटी आउँदा यति नै पैसा आउँछ भनेर तोक्न नहुनेमा अहिले कतिपय बीमा कम्पनीका एजेन्टहरुले डबल ग्यारेन्टी इत्यादि भनेर ढाँटिरहेकोमा दुखेसो व्यक्त गर्दछन् । यस्तो गलत प्रवृत्तिबारे आम जनतामा सही सूचना पुर्याउन आवश्यक रहेको उनको बुझाई छ ।

‘कम्पनीहरुले आज एउटा बोनस दर तोकेका छन्, भोलिका दिनमा त्यही दर हुन्छ भन्ने आधार के हो ? त्यसैले अहिले नै डबल आउँछ भनेर भन्ने कुरा झूठो हो । सत्य के हो पत्ता लगाएर बीमा गराउनुपर्दछ ।’ बजारमा खराव आचरणका अभिकर्ताहरु धेरै नै छन् । अभिकर्ताकै कारण विकृति आउँछ कि जस्तो लाग्छ । जसरी पनि पहिलो बिजनेश ल्याएर कमिशन खाउँ भन्ने सोच हावी भएको छ । यसले ढिलो चाँडो एउटा विकृति ल्याउनेछ । यसतर्फ नियमनकारी निकायको ध्यान दिन आग्रह गर्दछन् ।

बाँकी बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले दिने निर्देशन बीमा कम्पनी र अभिकर्ताहरुको हितका लागि नै ल्याईएको हुन्छ, त्यसमा कुनै आपत्ति छैन । जीवन बीमा अभिकर्ताहरुले व्यक्तिको जीवन सहज बनाउन बीमा गर्नुपर्ने सुझाव दिँदै भण्डारी भन्छन्, अप्ठेरो पार्नेगरी बीमा गर्नु हुँदैन ।