श्रीमान श्रीमती नै राष्ट्रिय बीमा संस्थानमा जमेर व्यवसाय गर्दै, २१ वर्षमा १६ पटक उत्कृष्ट बनेका रेग्मीको बीमा यात्रा

मनिष सोती
१८ आश्विन २०७९, मंगलवार ०६:५५

जीवन बीमामा सबैभन्दा भरपर्दो र विश्वाससिलो कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान अहिले वर्षौदेखि बार्षिक साधारणसभा गर्न नसके पनि संस्थानमा कार्यरत बीमा अभिकर्ताहरुले भने उत्साहप्रद बीमा व्यवसाय गर्दै आएका छन्।

२०५७ सालबाट बीमा अभिकर्ताको रुपमा बीमा क्षेत्रमा प्रवेश गरेका बुद्धि प्रसाद रेग्मी हाल सरकारी स्वामित्वको बीमा कम्पनी ‘राष्ट्रिय बीमा संस्थान’मा सक्रिय अभिकर्ताको रुपमा आबद्ध छन् ।२१ वर्ष पहिले जीवन बीमा पेशामा आबद्ध भएका रेग्मी १६ वर्षसम्म लगातार सर्वोकृष्ट कारोबार गर्ने टपटेन अभिकर्ता बनिसकेका छन् । अहिले उनी राष्ट्रिय बीमा संस्थानको सक्रिय अभिकर्ताको रुपमा काम गर्दै आइरहेका छन् ।

लामो समयदेखि राष्ट्रिय बीमा संस्थानमै आबद्ध रहेका रेग्मी हालसम्म करिब आठ हजार बीमा पोलिसी बिक्री गरिसकेको बताउँछन् । उनी भन्छन्, ‘२०५७ सालबाट काम सुरु गरेको २१ वर्षको अन्तरालमा आठ हजार बीमा पोलिसी बेचियो, ३ हजार बढी पोलिसी म्याचुरिटी अवधि भुक्तानी पाइसकेका छन् ।’

ग्राहकहरुलाई सहि सूचना दिने र लिने गरेमा अहिलेको समयमा बीमा गर्नुस् भन्दै नयाँ ग्राहकलाई आग्रह गर्नु नपर्ने उनी बताउँछन् । कम्पनीले भनेअनुसारको रकम छुट्याई दाबी भुक्तानी गरिदिएमा सोही ग्राहकले बीमाको लागि सिफारिस गर्ने उनी बताउँछन् ।

२०२४ सालमा स्थापना भएको राष्ट्रिय बीमा संस्थानले दिनहुँ १५० को हाराहारीमा दाबी भुक्तानी गरेको उनको दाबी छ । ‘संस्थानमा ५० प्रतिशत ग्राहकहरु आफैं स्वतःस्फुर्त बीमा गराउने छन्, उनी भन्छन् ‘५० प्रतिशतले मात्रै एजेन्टहरुमार्फत बीमा गराउने गरेका छन् ।’

अन्य कम्पनीका बीमा ब्यवसाय ल्याउनेमा शतप्रतिशत योगदान अभिकर्ताकै हुनेमा राष्ट्रिय बीमा संस्थानमा स्वतःस्फूर्त रुपमा ग्राहकहरु आफैं कम्पनीमा आई बीमा गर्ने बढी रहेको उनको भनाई छ ।
सरकारी स्वामित्वको संस्था मात्र नभई बोनस, सर्भिस, दाबी भुक्तानी, लोन क्लेम, म्याचुरिटी क्लेम जस्ता कुराहरुले गर्दा पनि बीमितहरुको संस्थानप्रति बढी विश्वास बढेको उनी तर्क गर्छन् ।

‘बीमा ऐन २०४९ अनुसार बीमा भनेको परम् सद्विश्वासमा गरिने करार हो सोही अनुसार नै बीमितहरुले संस्थानप्रति विश्वास गरेर बीमा गर्ने गरेका छन्’ उनी भन्छन्, ‘बीमा भनेको परम् सद्विश्वास र साख हो र बीमाको सिद्धान्त भनेको नै ‘परम् सद् विश्वास’ हो यहि आधारमा इन्स्योरेन्स पोलिसी बेच्ने हो ।’

पछिल्लो समय बीमा कम्पनीहरुले ग्राहक तान्न गलत सूचना दिएर बीमा गराउने गलत प्रवृत्ति रहेको उनले सुनाए । ‘२ प्रतिशतभन्दा बढी मानिसले बीमाको बारेमा जानकारी नलिई बीमा गराउने गरेका छन् ।
बीमा क्षेत्रलाई हानी गर्ने काम अहिले जीवन बीमा अभिकर्ताहरुले गरिरहेका छन् रेग्मी बताउँछन् । यस्तो हुनुमा कम्पनी आफैं पनि जिम्मेवार रहेको र बीमा कम्पनीहरुले अभिकर्तालाई दिने तालिम उपयुक्त नभएको उनको तर्क छ ।

बीमा ऐनको कुरा, इन्स्योरेबल इन्टे«स्ट, सरेन्डर तथा म्याचुरिटीको समायवधिको पर्याप्त जानकारी नहुने, लगानी के कहाँ भएको छ, कम्पनीको बोनसले के कति फरक पार्छ भन्ने कुराको जानकार नहुँदा बीमा अभिकर्ताहरुमा पछिल्लो समय गलत कार्य गर्ने अथवा बीमितहरुलाई गलत सूचना दिएर बीमा गराउने प्रचलन बढेको उनी बताउँछन् ।

‘१९ जीवन बीमा कम्पनीले जीवन बीमा सम्बन्धि तालिम केवल सर्टिफिकेट बाँड्नका लागि मात्रै संचालन गरिरहेका छन् ।’उनले भने, ‘कम्पनीहरुले सहि ढंगबाट पूर्ण रुपमा सूचना प्रदान गर्ने गरी तालिम दिएको छैन, यो कम्पनीको कमजोरी हो ।’

साथै कम्पनीहरुले जीवन बीमा अभिकर्ताहरुलाई पूर्ण सूचना नदिई तालिम दिई उल्लेख्य ब्यवसाय गरोस् भन्ने हेतु रोखेको उनको तर्क छ ।

बीमा अभिकर्ता तथा एजेन्टहरु रियल अन्डरराइटर रहेको उनी दाबी गर्छन् । अभिकर्ताहरुले ग्राहक तथा बीमितको शारीरिक, मानसिक तथा आर्थिक रुपमा अन्डरराइटिङ गरेको हुन्छ । पछिल्लो समय बीमा क्षेत्रमा भित्रिएको नकारात्मक गतिविधिलाई मध्यनजर गर्दै अभिकर्ताले अन्डरराइटिङमा गल्ती गरेपनि कम्पनीले त्यसलाई पुनः पूर्ण रुपमा अन्डरराइटिङ गर्नु आवश्यक रहेको उनले बताए ।

नियमक निकाय बीमा समितिले अभिकर्ताहरुको परिक्षा लिनुपर्ने नयाँ निर्देशिका उपयुक्त रहेको उनी बताउँछन् । बीमा समितिले हरेक ३–३ वर्षमा अभिकर्ताहरुको जाँच लिनुपर्छ, उनले भने, ‘परिक्षामा बीमा ऐन कानून, मार्केटिङ र क्लेम गरी ३ वटा विषय राखेर नयाँ अभिकर्तालाई मात्रै नभई पुराना अभिकर्ताको समेत परिक्षा लिनुपर्छ ।’ साथै बैंकहरुलाई नेपाल राष्ट्र बैंकले नियमन गरे जस्तै सम्पूर्ण बीमा कम्पनीहरुलाई बीमा समितिले रेगुलेट गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

२१ वर्षको यात्रामा राष्ट्रिय बीमा संस्थान विश्वसनीय हुनुका साथै केही कमजोरी समेत रहेको उनको तर्क छ । कर्मचारी युनियनको गुट र प्रशासकीय टिमको तालमेल नमिल्दा संस्थानमा केही समस्याहरु आएको उनको भनाई छ । केही वर्षसम्म बाह्य लेखापरीक्षण अद्यावधिक नभएको राष्ट्रिय बीमा संस्थानमा बीमितहरु पूर्ण रुपमा सुरक्षित रहेको उनी दाबी गर्छन् । ‘बाह्य लेखापरीक्षण अद्यावधिक नभएपनि आन्तरिक लेखापरिक्षण अद्यावधिक छ । म्यानेजर तथा कर्मचारीहरु संस्थाप्रति सकारात्मक छ, पछिल्ला समयका कर्मचारी युनियनहरु संस्थान बचाउ अभियानमा रहेका छन् ।’ उनले भने, ‘संचालक समितिको कारण र प्रशासकीय पक्षको केही कमजोरीले बाह्य लेखापरीक्षण अद्यावधिक नभएको हो, अब यो समस्या पनि समाधान हुनेमा विश्वस्त छौं’ ।

सिँगो बीमा क्षेत्रलाई सुधार्न बीमा कम्पनीहरु ग्राहकमुखी हुनुपर्ने उनको भनाई छ । अबका दिनमा बीमितको हितका साथै कम्पनीको हित, अभिकर्ताहरुको तालिम उपयुक्त, बीमा समितिको हित र सिँगो राज्यको हितमा काम गर्नुपर्ने उनले बताए ।

बीमा क्षेत्रको यात्रा
वि.सं.२०५७ सालबाट बीमा अभिकर्ताको रुपमा बीमा क्षेत्रमा पाइला टेकेका बुद्धि प्रसाद रेग्मी वि.सं. २०२६ सालमा तेह्रथुममा जन्मिएका थिए । वि.सं. २०४९ सालमा काठमाडौं टेकेका रेग्मी एमए तथा बिएड उत्तीर्ण गरिसकेका छन् । २०५० साल देखि २०६० सालसम्म ग्यालेक्सी पब्लिक स्कुलको शिक्षक समेत रहेका रेग्मी अहिले बीमा क्षेत्रमा राष्ट्रिय बीमा संस्थानमा आबद्ध भएर बीमा सचेतना फैलाउँदै अघि बढिरहेका छन् ।

२०६० सालदेखि उनी पूर्णकालिन रुपमा राष्ट्रिय बीमा संस्थानमा सक्रिय रुपमा कार्यरत छन् । सुरुका दिनमा संस्थानमा उनी १२ घण्टा काम गर्थे । काम गर्ने दौरानमा सुरुका दिनहरुमा मानिससँग पैसा कम रहेको र बीमा शिक्षाको अभावले गर्दा ग्राहकसमक्ष बीमाको लागि कन्भिन्स गर्न चूनौतीपूर्ण रहेको उनी बताउँछन् ।

वि.सं. २०५४ सालमा मन कुमारी निरौलासँग उनको विवाह भयो । उनकी श्रीमति निरौलासमेत राष्ट्रिय बीमा संस्थानकै अभिकर्ता बनेर काम गर्दै आएका छन् । श्रीमान श्रीमती नै मिलेर अहिले बीमा सचेतना फैलाउँदै व्यवसायमा रम्दै आएका छन् ।

बीमा एजेन्सी दम्पत्तीको एक छोरा र एक छोरी छन् । २१ वर्षको जीवन बीमा करियरमा राष्ट्रिय बीमा संस्थानले धेरै उपलब्धि दिएको उनी बताउँछन् । आगामी दिनमा पनि बीमितहरुलाई सहि सूचना, उत्कृष्ट सेवा र निःस्वार्थ भावले काम गर्ने उनले बताए । दामको लागि काम गर्ने भन्दा पनि दानको लागि काम गर्ने उनको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*