एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१३ आश्विन २०७९, बिहीबार १४:४३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

उक्त सभाले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँबाट १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

साथै सभाले बोनस शेयर पश्चातको जारी पुँजी र चुक्तापुँजी बृद्धि गर्ने, कम्पनीको हाल कायम संस्थापक र सर्वसाधारणको शेयर ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृत पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसबाहेक कम्पनीले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको एनएफआरएस प्रणाली बमोजिम असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धि विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापीक्षकको नियुक्त तथा निजको पारिश्रमिक समेत निर्धारण गर्ने जस्ता एजेण्डाहरु छलफल गरी पारित गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गते एक दिनका लागि बुकक्लोजको गरेको थियो । यसअनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाएका छन् ।

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको आ.व. २०७८/७९ असार मसान्त सम्ममा रु.३२ अर्ब जीवन बीमा कोष र करिब रु.३० अर्ब लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को असार मसान्तसम्ममा कूल रु.२ अर्ब २३ लाख प्रथम बीमाशुल्क र रु.६ अर्ब ९६ करोड ६८ लाख ३८ हजार कूल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०४ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*