लघुबीमाको लाईसेन्स दिने म्याद आज मध्यान्ह १२ बजे सकिँदै, आवेदन पर्ने क्रम जारी

१३ आश्विन २०७९, बिहीबार ०९:३२

काठमाडौं । बीमा समितिले गरिब वर्गसम्म पुराउन लक्ष्यले ल्याएको लघुबीमाको लाईसेन्समा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदकले आज मध्यान्ह १२ बजेसम्म मात्रै लघुबीमा कम्पनीमा आवेदन दिन पाउनेछन्।समितिले गत भदौ १० गते ३५ दिनको म्याद दिएर सिलबन्दी प्रस्ताव आह्वान गरेको थियो ।

समितिमा ११ वटा लघुबीमा कम्पनीको आवेदन परिसकेको छ । नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, स्वदेशी लघु जीबन बीमा कम्पनी, जानकी जीवन लघुबीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गौर्दैन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र बाँकि चार कम्पनीले समेत आवेदन दिईसकेको छ ।

लघुबीमा प्रति निर्जीवन बीमा कम्पनीहरूको आकर्षण नदेखिएपछि सरकारले लघुबीमाको सीमा नै तोकिदिएको थियो । तर पनि लघुबीमाको पहुँच नबढेको भन्दै सरकारले नै लघुबीमा ल्याउने बाटो खुल्ला गरिदिएको थियो ।

समितिको साउन ३१ गते बसेको संचालक समितिको बैठकले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेसँगै समितिलाई लघु बीमा व्यवसाय गर्ने कम्पनीलाई लाईसेन्स दिने बाटो खुलेको हो। सोहि अनुसार समितिले आवेदन आह्वान गरेको थियो । उक्त म्याद आज सकिँदैछ ।

बीमा समितिको निर्देशिका अनुसार लघुबीमा कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संथापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने उल्लेख छ । ३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने छ। ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने छ ।

त्यस्तै लगानीकर्ता संगठित संस्था भएमा सोको पूँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने उल्लेख छ । निर्देशिका अनुसार संस्थापकका एकाघर परिवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पूँजीको पन्ध्र प्रतिशत वा सोभन्दा कम शेयर स्वामित्व हुनु पर्नेछ । प्रस्तावित बीमकको संस्थापक वा सञ्चालक निजको एकाघर परिवारका कुनै सदस्य सोही प्रकारका अन्य बीमकको सञ्चालक वा आधारभूत शेयरधनी भएको हुनु नहुने ब्यबस्था निर्देशिकामा छ।

समितिले तीन वटा जीवन र चार वटा निर्जीवन गरि बढीमा सातवटा लघुबीमा स्थापना गर्न लाईसेन्स दिने जनाएको हो ।यस अघि आवेदन दिएकाहरुको आवेदन भने बीमा समितिले रद्द गरेको छ । उनीहरुले चाहेमा फेरी आवेदन दिन सक्ने समितिले जनाएको छ । चुक्ता पुँजी प्रस्ताव गर्दा ७५ करोड भन्द कम नहुने गरि प्रस्ताव गर्नु पर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*