कोरोना बीमाको रकम भुक्तानी गर्ने तयारीमा अर्थमन्त्रालय, बीमितले तत्कालै नपाउने
काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न एक अर्ब रुपैयाँ बीमा समितिको बैंक खातामा पठाउने तयारी गरेको छ ।
मन्त्रालयले समितिको खातामा उक्त रकम पठाए पनि बीमितको खातामा भने दसैँ तथा तिहारअघि नआउने भएको छ ।बीमा समितिका अध्ययक्ष सूर्य प्रसाद सिलवालले हालसम्म बीमा समितिमा चिठ्ठिसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् ।
विभिन्न संचार माध्यममा मन्त्रालयले कोरोना बीमाको रकम दिने भन्दै समाचार सम्प्रेषण भएपनि बीमा समितिमा भने हालसम्म कोरोना बीमा दाबी भुक्तानीको पत्र समेत नआईपुगेको उनले बताए ।दसैँअघि सरकारी कार्यालय अब तीन दिन मात्र खुल्नेछ । अहिलेसम्म समितिको खातामा रकम नआएकोले बिमितले कहिलेसम्म रकम पाउँछन् भन्ने यकिन छैन ।समितिमा ११ अर्ब ८७ करोड रुपैयाँ कोरोना बीमाबापतको भुक्तानीका लागि दाबी परेको छ ।
“समितिको बैंक खातामा रकम जम्मा भएको पत्र मन्त्रालयबाट आएको छैन । हामीले अर्थमन्त्रालयमा बैंक खाता मन्त्रालयलाई उपलब्ध गराएका छौँ,” उनले भने, “११ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दाबी परेको छ । अब कसरी गर्ने भन्ने विषयमा खाका तयार गरेर मात्र बिमितको खातामा रकम पठाइनेछ ।
त्यसको लागि समय लाग्न सक्छ ।”अब बाँकी रकम बीमा कम्पनीहरूले थप गर्नुपर्ने भएकाले त्यसका लागि छलफल गर्नुपर्ने पौडेलले बताए । रकम भुक्तानी के कसरी गर्ने भन्ने समितिले खाका बनाउने उनकोे भनाइ छ ।
सोही कारण बिमितले भुक्तानी प्राप्त गर्न अझै केही समय कुर्नुपर्ने भएको हो ।उनका अनुसार मन्त्रालयले एक अर्ब निकासा गर्ने र बाँकी पैसा बीमा कम्पनीहरू आफैँले व्यवस्था गनुपर्ने हुन्छ । त्यसपछि मात्र बिमितले रकम पाउनेछन् ।