ग्रीनहिल सिटीलाई ७ दिनभित्र जवाफ दिन सेन्चुरी बैंकको पत्र, बैंकिङ कसुरमा मुद्दा चलाउन बाटो खुल्दै

६ आश्विन २०७९, बिहीबार २०:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त सेन्चुरी बैंकले घरजग्गाको व्यवसाय गर्दै आएको ग्रीनहिल हाउजिङलाई ऋणीसँग र बैंकसँग रकम लिई धितोबन्धक दिन बाँकी रहेको घरजग्गा ७ दिनभित्र नामसारी गर्न वा नगर्नुपर्ने कुनै कारण भए सोबारे लिखित जवाफ दिन पत्राचार गरेको छ ।

यही असोज २ गते सेन्चुरी बैंकले ग्रीनहिल सिटीका नाममा लेखेको पत्रमा ऋणी, ग्रीनहिल सिटी र बैंकबीच भएको करार बमोजिम ग्रीनहिल सिटीले २०७५ पुस २९ गते एक करोड रुपैयाँ रकम बुझेकोमा त्रिपक्षिय करारको शर्त नं १० बमोजिम ऋणी नाममा नामसारी गरी दिने भन्ने उल्लेख भएकोमा हालसम्म पनि सो शर्त पुरा नभएकोले ७ दिन भित्र घर पास गराई बैंकको नाममा रोक्का राख्ने व्यवस्था गर्न भनिएको छ ।

बैंकको यस्तो पत्रसँगै घर बिक्री भनेर ऋणी र बैंकसँग दुई करोड तीन लाख रुपैयाँ रकम लिई घर तयार नगरी अटेर गर्दै आएको ग्रीनहिल हाउजिङ अप्ठेरोमा पर्ने देखिएको छ । त्रिपक्षिय करार सम्झौतामा जग्गा नामसारी गर्ने नभई २२६ बर्ग मिटर क्षेत्रमा फैलिएको जग्गा र सो जग्गामा बनेको घर समेत नामसारी गर्ने उल्लेख छ । तर, ग्रीनहिल सिटीले घर निर्माण गरी ऋणी र बैंक दुवैलाई ठगी गर्दै आएकोमा अब भने ग्रीनहिल सिटी अप्ठेरोमा पर्ने भएको छ । बैंकले पत्र काटेको ७ दिनभित्रमा घर तयार भई नामसारी गर्ने अवस्थामा पुर्याउन नसकिने र सो कार्य गर्न नसकेमा बैंकले कर्जा दुरुपयोगमा बैंकिङ कसुर मुद्दा अघि बढाउन सक्ने भएकोले ग्रीनहिलका कर्मचारी तथा सञ्चालकहरुले कडा कानुनको सामना गर्नुपर्ने देखिएको छ ।

बैंकबाट लिएको ऋण बापतको रकम घर बनाउन प्रयोग नगरी अन्यत्र नै प्रयोग गरेको हाउजिङ कम्पनीका विरुद्धमा बैकिङ कसुरमा मुद्दा चलाउन यसअघि उच्च अदालत पाटनका न्यायाधिशले नै सुझाव दिइसकेका छन् । बैंकिङ कसुरमा मुद्दा चलेर अभियोग प्रमाणित भएमा यस काण्डमा संलग्न व्यक्तिहरु छ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

२०७५ सालमा घर किन्न भन्दै एक करोड तीन लाख रुपैयाँ बैना दिएको र एक करोड रुपैयाँ सेन्चुरी बैंकबाट ऋण लिएर जम्मा दुई करोड रुपैयाँ भुक्तानी दिएका ऋणीले विगत चारवर्षदेखि घर पाउन सकेका छैनन् । ग्रीनहिल सिटीको इमाडोलस्थित हाउजिङको १५ नं घरका लागि भएको यो सम्झौता अन्य सबै घर तयार भइसके पनि उक्त घर भने हाउजिङले तयार नपारी अलपत्र अवस्थामा राखेको छ । बैंक र बैंकको ऋणीलाई घर दिन्छु भन्दै सम्झौता गरी घर निर्माण नै नगरेको विषयमा ग्रीनहिल हाउजिङ विवादमा पर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*