लघुबीमाको लाइसेन्सका लागि प्रतिकित्ता ५५ रुपैयाँदेखि १०० रुपैयाँसम्म घुस रकम संकलन

६ आश्विन २०७९, बिहीबार ०९:५६

काठमाडौं । बीमा समितिले खुल्ला गरेको लघुबीमाको लाइसेन्स लिन बिचौलिया र माफियाहरुले प्रतिकित्ता ५५ रुपैयाँ देखि १०० रुपैयाँसम्म संकलन गरिरहेका छन् ।
घुस सेटिङमा दर्ता हुन लागेको लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने बीमा समितिको निर्णय गैर कानुनी रहेको भन्दै सर्वोच्च अदालतमा रिट परिसकेको छ । सो रिटमाथि लिखित प्रमाणसहित उपस्थित हुन हिजो आदेश जारी गरिसकेको छ ।

औद्योगिक घाराना र बिचौलियाहरुले ठूलो रकम संकलन गरेर दर्ता गर्न लागेको लघुबीमा कम्पनीको लागि राजनीतिक नेतृत्वले चुनाव खर्च उठाउने बाहना बनाएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणाको प्रत्यक्ष संलग्नतामा हुन लागेको उक्त घुस सेटिङमा बीमा समितिले गत साउन ३१ गते अधिकार क्षेत्र मिचेर लघुबीमक दर्ता तथा संस्थापना सम्बन्धी निर्देशिका जारी गरेको थियो ।

बीमापोष्टका सम्पर्कमा आएका लगानीकर्ताहरुले लघुबीमाको लाइसेन्स लिनको लागि घुस सेटिङ गर्न अतिरिक्त रकम उठाएको लघुवित्त कम्पनी दर्ता गर्दै गरेका मुख्य सञ्चालकहरुले समेत स्वीकार गरेका छन् । केही लगानीकर्ताहरुले आफूहरुले घुस रकम बुझाइसकेको समेत दावी गरेका छन् । लघुबीमा कम्पनीको दर्ता नै गैर कानुनी भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएपछि रकम उठाएर लाइसेन्सको ठेक्का लिनेहरु भने छटपटीमा परेका छन् । केही बीमाका अभियान्ता समेत यस्तो ठेक्का पट्टामा लागेको पाइएको छ ।

यसअघि पौने दुई अर्ब घुस सेटिङमा दर्ता हुन लागेको भनिएको लघुबीमाको लागि ठेक्का पाउनेहरु जथाभावी रकम उठाउन थालेपछि लगानीकर्ताहरु नै विरुद्धमा उत्रिन थालेका छन् । पोखरा चितवन पृष्ठभूमिका एउटा समुहले दर्ता गर्न लागेको लघु जीवन बीमा र लघु निर्जीवन बीमाको लागि उठाएको रकम बढि भएको भन्दै विरोध भएपछि रकम फिर्ता गर्ने सहमति भएको बुझिएको छ ।

लघुबीमाको लाइसेन्सको नाममा बजारमा अर्बौको चलखेल भएसँगै तालुकदार मन्त्रालय अर्थमन्त्रालयमाथि नियन्त्रण नगरेको भन्दै गम्भिर नैतिक प्रश्न उठ्ने जोखिम बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*