निक्षेप तथा कर्जा सुरक्षण कोषले मनायो ४९औं वार्षिकोत्वस, आफ्नो सेवामा थप गुणस्तरीयता कायम गर्दै अघि बढ्ने प्रतिबद्धता

४ आश्विन २०७९, मंगलवार १४:५७

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कोषले आज प्रदर्शनी मार्गस्थित सभा गृहमा एक कार्यक्रम आयोजना गर्दै बार्षिकोत्वस कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा विशिष्ट तथा प्रमुख अथितिका रुपमा अर्थमन्त्री जनार्दन शर्मा र विशेष अतिथिका रुपमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपस्थित रहेका थिए । कार्यक्रममा अर्थमन्त्री शर्माद्धारा दीप प्रज्वलन गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले निक्षेप सुरक्षण कोषको दायरा प्रतिव्यक्ति तीन लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ कायम गरिएको बतााएका छन् । कोषको आकार तथा दायरा बृद्धिसँगै निक्षेप सुरक्षण कोषको जिम्मेवारी समेत थप बढेको उनले बताए ।

साथै उनले सरकारी संस्थानहरुको रकम सुरक्षणका लागि लघुवित्त कोष निर्माण गर्ने र सो रकम सहुलियत ऋणको रुपमा ग्रामिण क्षेत्रका साना किसानहरुलाई सहुलियत दरमा कर्जा दिने बताए । यसका अलवा अर्थतन्त्र सुधारका निमित्त आयात प्रतिस्थापन गरी उत्पादनमा जोड दिने उनले बताए ।

साथै सोही कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका गभर्नर अधिकारीले कर्जा सुरक्षण कोषको कार्य निक्षेप सुरक्षण गर्न मात्रै नभई नीति निर्माण प्रयोजनका लागि ‘डिफल्ट डिपोजिट’ विश्लेषण गर्न आवश्यक रहेको सुझाव ब्यक्त गरे ।

कोषले आफ्नो ३९औं वार्षिकोत्वसको अवसरमा आफ्नो वेबसाइटको डिजाइनलाई समेत परिमार्जन गरेको थियो । जसमा सर्वसाधारणको गुनासो तथा समस्यालाई कथन गर्न सकिने खालको रहेको कोषले बताएको छ । हाललाई अंग्रेजी भाषमा मात्र परिमार्जन गरेको वेबसाइट भविष्यमा नेपाली भाषा पनि उपलब्ध गराउने कोषले बताएको छ ।

साथै सोही अवसरमा निक्षेप तथा कर्जा सुरक्षण कोषले ‘सञ्जीवनी’ नामक जर्नल समेत विमोचन गरिएको थियो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको कर्जाको सीमा हाल ३ करोड रुपैयाँ रहेको छ । हाल सातवटै प्रदेशमा उपस्थित रहेको कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय काठमाडौं र शाखा कार्यालय विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटलव, सुर्खेत र धनगढीमा संचालन रहेको छ ।

निक्षेप सुरक्षणतर्फ हाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ६१ वटा बैंक तथा वित्तीय संस्थाहरु संलग्न रहेका छन् । २०३१ सालमा कुल ३० लाख रुपैयाँ चुक्तापुँजीमा स्थापना भएको कोषको हाल चुक्तापुँजी १० अर्ब रुपैयाँ र पुँजीकोष झण्डै २० अर्ब रुपैयाँ कायम रहेको छ । कोषको कुल शेयर स्वामित्वमा ९० प्रतिशत नेपाल सरकार र १० प्रतिशत नेपाल राष्ट्र बैंकको रहेको छ ।

अधिकृत र जारी पुँजी १० अर्ब रुपैयाँ रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले गत आर्थिक वर्ष २०७८।७९ मा ३ अर्ब ६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा कोषले ७९ अर्बको निक्षेप र २ खर्ब ६५ अर्बको कर्जा सुरक्षण गर्दै कोषले उक्त मुनाफा आर्जन गरेको हो ।

सर्वसाधारणको निक्षेप तथा कर्जा सुरक्षण गरी वित्तीय विकासमार्फत् आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित निक्षेप तथा कर्जा सुरक्षण कोष ४९औं वर्षमा प्रवेश गरेको छ । आगामी दिनहरुमा कोष आफ्नो सेवाको गुणस्तरमा निरन्तरता दिदै थप विश्वसनीय सुरक्षित सेवामा टेवा पुर्याउने र देशको वित्तीय प्रणालीप्रति अवछिन्न विश्वासको वातावरण कायम गर्दै अझै बढी सक्रियताका साथ अघि बढ््ने प्रतिबद्धता जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*