चाडबाडमा सहुलियत दरमा चिनी उपलव्ध गराउन उपभोक्ता मञ्चको माग

२ आश्विन २०७९, आईतवार ११:५६

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वहरुमा सहुलियत दरमा चिनी उपलब्ध गराईदिन माग गरेको छ । उपभोक्ता मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालयलाई एक पत्र पठाउँदै चाडबाडमा अत्यधिक प्रयोग हुने चिनीको मूल्य घटाउन माग गरेको हो ।

आ–आफनो रीति परम्परा अनुसार मनाईने यी चाडबाडमा खास गरी दैनिक उपभोग्य वस्तुका सामाग्रीहरुको बढी उपभोग हुने भन्दै खासगरी चिनीको मूल्य सहुलियत हुनुपर्ने मञ्चले जनाएको छ ।

जनता संगै सरकारले पनि चाडपर्वलाई उतिकै महत्व दिई यसको लागी आवश्यक सामाग्रीहरुको आपूर्ति व्यवस्थापन बिगतका दिनहरुमा जस्तै यस बर्ष गर्ने जमर्को गरेको छ । सरकारले दशैं, तिहार तथा छठ लक्षित सुपथमूल्यका पसलहरु संचालन गरी बजार मूल्य हस्तक्षेप गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने प्रयास गरेको छ । सरकारले प्रयास गर्दै गर्दाको अवस्थामा सरकारको मन्त्रालयहरु बिचमा समन्वय नहुंदा आम नेपाली उपभोक्ताले उपभोग गर्ने चिनी यस पटकको दशैं बजारमा नपाउने भएको देखिएको छ ।

नेपाल सरकारको आपूर्ति मन्त्रालयले चाडबाडलाई लक्षित गरी सहुलियत दरमा चिनी उपलव्ध गराउनको लागी साल्ट ट्रेडिंङ कर्पोरेशन लि. र नेपाल खाद्य व्यापार कम्पनीलाई क्रमशः ३० र १० हजार मेट्रिक टन चिनी आपूर्ति गर्नको लागी छूट मूल्यमा आयात गर्न सिफारिश गरेकोमा अर्थ मन्त्रालयले वेवास्ता गर्दा अहिले बजारमा प्रति किलो ११० रुपैयांमा किन्न उपभोक्ता बाध्य भएको छन् ।

स्वदेशी उद्योगसंग मौज्दातमा ११ हजार मेट्रिक टन मात्र चिनी मौज्दात रहेको भनि रहंदा एकोहोरो रुपमा बजारमा चिनी पर्याप्त छ र भाउ बढनु पर्ने कुनै कारण छैन भनि अडान लिएर बजार भाउ बढाउने खेल अर्थ मन्त्रालयबाट भई रहेको देखिएको उपभोक्ता मञ्चको दाबी छ ।

साथै मञ्चले गरेको अध्ययनको क्रममा भारतले निर्यातमा प्रतिबन्ध लगाई सकेको चिनी आपूर्ति नेपालमा पर्याप्त आपूर्ति भई रहनुको कारण नेपालको दक्षिणी सिमावर्ती क्षेत्रबाट तस्कर भई आउने चिनीको परिमाण दैनिक ३०० मेट्रिक टनको हाराहारीमा रहेको पाइएको छ र त्यही चिनी नै अहिले बजारमा प्रर्याप्त मात्रामा उपलव्ध भई रहेको बिश्वस्त शुत्रबाट जानकारी प्राप्त भएकोछ ।

बैध रुपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिबृध्दि कर लाग्दै आएकोमा यसरी अबैध बाटोबाट आयात गर्दा सरकारलाई ठूलो परिमाणमा राजस्व गुमि रहेकोछ भने अर्को तिर पहाड तथा शहरी क्षेत्रका नेपाली जनताले महंगो मूल्यमा चिनी उपभोग गर्न बाध्य भर्ई रहेका छन् ।

चाडबाडमा चिनीको अभाव नखड्कियोस् भन्ने हेतुले चिनीको मूल्य सहुलियत बनाउन उपभोक्ता मञ्चले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*