लाभांश घोषणा गरेका तीन जीवन बीमा कम्पनीको यस्तो छ लाभांश इतिहास, कुनले कति दिए ? (तथ्याङ्कसहित)

३१ भाद्र २०७९, शुक्रबार १६:४६

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । लाभांश घोषणा सिजन सुरु भएसँगै १० वटा म्युचुअल फण्ड र एक हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् ।

म्युचुअल फण्डहरुसँगै यता जीवन बीमा कम्पनीहरुले समेत आर्थिक वर्षभित्र आर्जन गरेको संचित मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म तीनवटा जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीहरुमा एशियन लाइफ, नेशनल लाइफ र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । यी तीन जीवन बीमा कम्पनीमध्ये आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई सबैभन्दा बढी लाभांश प्रस्ताव एशियन लाइफ इन्स्योरेन्सले गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले सो आर्थिक वर्षको लागि कायम चुक्तापुँजीको १५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७६ प्रतिशत नगद लाभांश गरी कुल १६.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले पनि उक्त आर्थिक वर्षको लागि आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोसन शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यता नेपाल लाइफ इन्स्योरेन्सले भने विगतका वर्षहरुमा शेयरधनीहरुलाई राम्रै प्रतिफल दिदै आइरहेकोमा उक्त आर्थिक वर्षका लागि बोनस शेयर नदिई १५ प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको छ । साथै कर प्रयोजनका लागि कम्पनीले शुन्य दशमलव ७८ प्रतिशत छुट्याएको छ ।

तुलनात्मक रुपमा हेर्दा नेपाल लाइफ इन्स्योरेन्सले अघिल्ला वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल बाँड्दै आइरहेको छ । १० वर्षे लाभांश इतिहासमा कम्पनीले आर्थिक वर्ष २०६८।६९ मा सबैभन्दा बढी १२६ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । यसैबीच हालसम्म लाभांश घोषणा गरिसकेका यी तीन जीवन बीमा कम्पनीहरुले विगतका वर्षहरुमा के–कति लाभांश वितरण गरेको थियो भनि लाभांश इतिहासको बारेमा बीमापोष्टले तथ्याङ्क तयार पारेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स
जीवन बीमा कम्पनीहरुमा सबैभन्दा पुरानो र अब्बल मानिने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रो प्रतिफल वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।७९ मा आफ्ना शेयरधनीहरुलाई ५६.३१ प्रतिशत बोनस शेयर र ७० प्रतिशत नगद लाभांश गरी कुल १२६ प्रतिशत लाभांश बाँडेको थियो ।

१० वर्षे लाभांश इतिहासमा कम्पनीले आव २०७५।७६ सम्म शेयरधनीहरुलाई २५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आइरहेको छ । जीवन बीमा ब्यवसायमा उल्लेख्य विस्तारसँगै मुनाफा र जीवन बीमा कोषको आकार बढाउँदै कम्पनीले शेयरधनीहरुलाई खुशि बनाउने खालको लाभांश बाँड्दै आइरहेको छ । तर कोरोना महामारीको चपेटामा बीमा ब्यवसाय धरापमा परेसँगै कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा १५ प्रतिशत मात्रै लाभांश बाडेको थियो ।

एक खर्ब ३६ अर्बमाथि जीवन बीमा कोष खडा गरेको नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा भने नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले आजमात्रै उक्त आर्थिक वर्षको लागि लाभांश घोषणा गरेको हो । कम्पनीले १५.७८९५ प्रतिशतले हुन आउने रकम एक अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ बाँड्ने निर्णय गरेको हो । जसमा ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि हुने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ र हालको शेयरमूल्य ६३४ रुपैयाँ रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको १० वर्षे लाभांश इतिहास : 

नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्सले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई चित्तबुझ्दो लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६९।७० बाट प्रतिफल बाँड्न सुरु गरेको हो ।

९ वर्षे लाभांश इतिहासमा कम्पनीले सबैभन्दा बढी आव २०६९।७० मा नै शेयरधीहरुलाई १७.५० प्रतिशत बोनस शेयर र ५५ प्रतिशत नगद लाभांश बाँडेको थियो । त्यसयताका वर्षहरुमा पनि कम्पनीले चित्तबुझ्दो लाभांश दिदै आइरहेको छ ।

तर आर्थिक वर्ष २०७३।७४ भने कम्पनीले शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर मात्रै वितरण गरेको थियो । बीमा ब्यवसाय विस्तारमा सुधारसँगै कम्पनीले प्रतिफल बाँड्नमा पनि राम्रै रेकर्ड राखेको छ ।

हाल ४ अर्ब ३ करोडमाथि चुक्तापुँजी रहेको कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ मा शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

५१ अर्बमाथिको जीवन बीमा कोष रहेको कम्पनीले विगतका वर्षहरुमा बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्दै शेयरधनीहरुलाई समेत उत्कृष्ट प्रतिफल वितरण गर्दै आइरहेको छ । कम्पनीको हालसको शेयरमूल्य ५४७ रुपैयाँ रहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको ९ वर्षे लाभांश इतिहास : 

 

एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले विगत १० वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आइरहेको छ । आर्थिक वर्ष २०६८।७९ देखि कम्पनीले प्रतिफल बाँड्न सुरु गरेको हो ।

१० वर्षे लाभांश इतिहासमा कम्पनीले सबैभन्दा बढी आर्थिक वर्ष २०७०।७१ मा २८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

तर कम्पनीले तीनवटा आर्थिक वर्षमा भने कुनै खालेका लाभांश वितरण गरेको थिएन । सोही आर्थिक वर्षहरुमा कम्पनीले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको थियो । सोकारण कम्पनीले बोनस शेयर र नगद लाभांश बाँडेको थिएन ।

हाल कायम २ अर्ब ५३ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ मा आफ्ना शेयरधनीहरुलाई १५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  ३२ अर्बको जीवन बीमाकोष रहेको कम्पनीको हालको शेयरमूल्य ५४७ रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्सलको १० वर्षे लाभांश इतिहास : 

तीनै कम्पनीको लाभांश बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिबाट स्वीकृत हुन बाँकी छ । बीमा समितिबाट लाभांश प्रस्ताव स्वीकृत भएपश्चात् कम्पनीहरुको आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सम्बन्धित शेयरधनीहरमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*