लगानी बोर्डको आयोजनामा ‘सिफ २०२२’ सम्पन्न, लगानीकर्तालाई सेवा दिने उद्देश्यले एकल विन्दु सेवाको शुभारम्भ

३० भाद्र २०७९, बिहीबार १८:३६

काठमाडौँ । लगानी बोर्डको आयोजनामा काठमाडौँमा सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम (सिफ)–२०२२ सम्पन्न भएको छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट समुद्घाटन भएको उक्त कार्यक्रममा लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका तथा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डबाट तयार पारिएको ‘Establishing a Fertilizer Plant in Nepal’ सार्वजनिक गरिएको थियो । उक्त अवसरमा प्रधानमन्त्रीले लगानीकर्तालाई एकल विन्दुबाट सेवा दिने उद्देश्यले तयार पारिएको वेभमा आधारित एकल विन्दु सेवाको पनि शुभारम्भ गर्नुभयो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई वार्षिक रूपमा १९ विलियन डलर आवश्यक पर्ने र यसको लागि ठूलो परिमाणमा लगानी आवश्यक रहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । लगानीकर्ताको लगानी सुरक्षा र आवश्यक पर्ने सबै खालको सहजीकरण गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी महामहिम राजदूत निकोला पोलिट, विश्व बैंकका तर्फबाट म्यानेजिङ डिरेक्टर मारी पङ्गेस्टु, निजी क्षेत्र तथा परियोजना विकासकर्ताका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपालमा विभिन्न परियोजनाहरूमा लगानी गर्ने विकासकर्तालाई प्रधानमन्त्रीले प्रशंशा पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा Accelerating Climate Finance in Nepal र Investment in NepalÚs Energy Transition विषयक समानान्तर सत्रहरू सञ्चालन भएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले अध्यक्षता गरेको Business Environment for Development Sustainable Infrastructure in Nepal विषयक मुख्य सत्रमा एसियाली विकास बैंक, डब्लुएपीपीपी, निजी क्षेत्र र सरकारी निकायका उच्च अधिकारीहरूले दिगो पूर्वाधार विकासमा लगानीको वातावरण सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमको समापन समारोहलाई नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी तथा एफसीडीओकी डेभलपमेन्ट डाइरेक्टर पिप्पा बर्डले सम्बोधन गरे । मुख्य सचिवले “नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो । पूर्वाधार संरचनामा लगानी गर्नुहोस् । तपाईँहरुको लगानीको पूर्ण सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गरेको छ’ भनी लगानीकर्ताहरुलाई थप लगानीका लागि आह्वान गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डले परियोजना विकासलाई परिणाममुखी ढाँचामा अघि बढाएको बताउँदै लगानीको सम्पूर्ण चक्रमा लगानीकर्तालाई आवश्यक सहजीकरण गरिरहेको बताए । प्रमुख कार्यकारी अधिकृतले कार्यक्रममा उपस्थित विभिन्न विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिले कार्यक्रमको अपेक्षित लक्ष्य हासिल गर्न सहयोग गरेको उल्लेख गर्दै आयोजकका तर्फबाट सम्पूर्ण अतिथिहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए । समापन मन्तव्यको क्रममा प्रमुख कार्यकारी अधिकृतले प्रधानमन्त्रीको गरिमामय उपस्थितिले ‘सिफ २०२२’ कार्यक्रम सफल भएको उल्लेख गर्दै पूर्वाधार संरचनाका विकासमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले भविष्यमा पनि यस्तै प्रकारका कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा लगानीकर्ता।निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ।विशेषज्ञ र सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*