बन्दुक समाएका हातले बीमा पोलिसी पल्टाउँदै, बीमा शिक्षक बनेर गाउँ–शहर सचेतना जगाउँदै यतिराज
काठमाडौं । मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र बर्गीय मुक्तिको सपना देखेको यतिराज अधिकारी मुक्तिकामी जनताको सपना पुरा गर्ने उद्देश्यले २०५२–२०६२ मा चलेको १० वर्षे सशस्त्र जनयुद्धमा होमिए । सिन्धुली जिल्लाको रातोमाटाबाट केही परको गाउँ सालुमा २०४६ साल कार्तिक १ गते जन्मिएका यतिराज अधिकारी कक्षा ७ मा पढ्दा पढ्दै माओवादी जनयुद्धमा होमिए ।
तत्कालिन माओवादीले जनताको मुक्ति, बर्गीय मुक्ति र मुक्तिकामी जनताका सपना पूरा गर्दै नेपाललाई एक स्वतन्त्र, शक्तिशाली, आर्थिक रुपमा सम्पन्न राष्ट्र बनाएर नागिरकलाई समेत निर्भिक, आर्थिक, सामाजिक तथा लैंगिक रुपमा समान बनाउने, बर्गीय खाडलको अन्त्य गर्ने सपना गाउँ गाउँमा छरेको थियो । दैनिक जसो हुने लडाई र भिडन्तलाई पर्वाह नगरी १४ बर्षिय कलियो उमेरमै उनले आफ्नो जीवन बलिदान गर्न तयार भएर जनयुद्धमा होमिए ।
जनताको सपना पूरा गर्न उनको बाल्यकालमै अन्तरहृदयदेखि उत्पन्न भएको बलिदानी भावले डोर्याएपछि जनमिलिसिया हुँदै जनमुक्ति सेनाका कुशल जनसैनिक बने । २०६१ साल फागुनमा सिराहाको बन्दिरपुर मोर्चामा सहभागी भएका उनले अन्य कैयौं सहकर्मीहरुले सहादत पाउँदा आफू बाच्न सफल भए ।
पढाई छोडेर जनयुद्धमा लागेको केही समयपछि नै देशमा शान्ति वार्ता सुरु भयो, जनताको सपनालाई अब शान्तिपूर्वक राजनीतिक गरेर पार्टीले लक्ष्य प्राप्त गर्ने गरी २०६३ बैशाख १५ गतेबाट अस्थायी हुँदै स्थायी युद्धबिरामतर्फ देश अघि बढ्यो । अब यतिराजको सपना पुरा गर्ने माध्यम फेरियो । बन्दुकमार्फत जनताको सपना पूरा गर्न भनेर हिडेका यतिराज अब गाडी ड्राइभिङतर्फ लागे । उनले करिब १४ वर्ष सार्वजनिक यातायातका साधन कुदाए अनि जनताको सेवा गरे । बाल्यकालमा देखेको सपना, अनि पेशा ड्राईभिङ उनलाई अलि चित्त बुझेन ।
यही बीचमा उनको विवाह भइसकेको थियो । यतिराजकी श्रीमती निर्मला पहाडी नेशनल लाइफमा एजेन्सी बनेर काम गरिरहेकी थिईन् । जीवन बीमाप्रति सकारात्मक हुन नसकेका अधिकारीले जब जीवन बीमाबारेमा राम्रोसँग बुझ्ने र यसबाट जनताले पाउने फाइदाबारे बुझेपछि अब जनताको सेवा गर्ने अर्को माध्यम जीवन बीमातर्फ यतिराजका पाइलाहरु अघि बढ्न थाले ।
बालमष्तिस्कमा उत्पन्न भएको बिद्रोहको ज्वाला, करिब १५ वर्ष स्टेरिङमा बसेर ४९ जिल्ला घुम्दाका अनुभव र फेरि पनि जनताको सेवा गर्ने भावलाई मर्न नदिन यतिबेला यतिराज जीवन बीमा पोलिसीका पन्नाहरु पल्टाइरहेका छन् । बीमाको माध्यमबाट जनताको जोखिमलाई रक्षावरण गर्दै आइरहेका यतिराज भन्छन्, ‘म गाडी चलाइरहेको हुन्थे । मलाई लाग्दथ्यो, आज म बसको ड्राइभर छु, एक दिन म देशको डाईभर पनि बन्नुपर्छ भन्ने चिन्तन आइरहन्थ्यो, पछ्याईरहन्थ्यो ।’
बीमा क्षेत्रमा प्रवेश गर्नुअघिका टर्निङ प्वाईन्ट बारे उनि सम्झन्छन्, ‘जुन पेशामा म आबद्ध थिए, त्यो पेशा मलाई मन नपरिरहेको र कम्पनीका मालिकको एउटा शब्द मन नपरेकोले मैले त्यो पेशालाई सोही समय भारी बिसाएँ ।’ ‘यातायातमा रहँदा मजदुरहरुको अवस्था देखे, उनीहरुको जीवन देखे । म पनि मजदुर युनियनमा आबद्ध थिए । ट्रेड युनियनका पदाधिकारीहरुको रवाफ र जीवनशैली देखेपछि मलाई त्यहाँ बसिरहन मन लागेको थिएन ।’
सुरु सुरुमा जीवन बीमाप्रति असाध्यै नेगेटिभ थिए यतिराज अधिकारी । ‘मरेपछि आउने पैसा के काम भन्ने मान्छे’ अधिकारी सुरुवाती दिन सम्झन्छन्, ‘एक जना दाइले पाँच पाँच लाख रुपैयाँको बीमा गराईदिनु भयो, मैले त्यतिकै गरेको सम्झेको थिए । तर आज बुझे त्यो मेरो भविष्य अनि मेरा परिवारको लागि समेत रक्षाकवच रहेछ ।’
अवसर पाएमा महिलाले पनि केही गर्छन भन्ने कुरा १४ वर्षको उमेरमा बन्दुक समाउँदा हिड्दा जनयुद्धमा लामबद्ध महिलाहरुलाई देखेर अवसर पाएमा महिलाले पनि धेरै काम गर्न सक्छन् भन्ने मलाई विश्वास थियो । त्यसैले मैले निर्मला पहाडीलाई बीमा क्षेत्रमा अघि बढ्नको लागि आवश्यक वातावरण तयार गरिदिएको थिए । श्याम कुमार श्रेष्ठ सर नेशनल लाइफका सिनियर एजेन्सी म्यानेजर श्याम कुमार श्रेष्ठ सरको व्यवहार, उहाँको कार्यशैलीकै कारण पनि म अलि बढि पोजटिभ हुन थाले । अनि ‘ए ! जीवन बीमा त अति नै जरुरी पो रहेछ’ भन्ने निष्कर्षमा म पुगे ।
उनै श्याम कुमार श्रेष्ठको उत्साह, प्रेरणा अनि धर्मपत्नी निर्मला पहाडीको हौसला पछि यतिराज अधिकारीले २०७६ साल सालमा नेशनल लाइफबाट बीमा अभिकर्ताको लाइसेन्स निकाले । सो अवधीसम्म अधिकारीले स्टेरिङ घुमाउँदै गाडी दौडाउँदै आएका थिए । लाइसेन्स निकाले पनि उनले काम भने सुरु गरिसकेका थिएन् । सो वर्षको माघतिर एक दिन कार्यरत कम्पनीका मालिकले आफ्नो गल्ती नहुँदा नहुँदै ‘लास्ट वारेन्ट है’ भनेर चेतावनी दिएको कुरा उनलाई मन परेन र यतिराजले जागिर मात्रै नभई पेशालाई त्यही तिलाञ्जली दिएर घर फर्किए । घर फर्केपछि उनले जीवन बीमा क्षेत्रमा सक्रिय भएर १५वर्ष काम गर्ने अठोट गरे ।
जीवन बीमा व्यवसाय सुरु गर्दा आफन्तबाट पहिलो बीमा पोलिसी कटाएका अधिकारीले यो पेशामा आबद्ध भएपछि पछाडि फर्केर हेर्नु परेको छैन । वर्षदिनमा अहिले उनी एमडिआरटीको लक्ष्य चुमिसकेका छन् भने अझै अगाडि बढ्ने क्रममा रहेका छन् । बीमा क्षेत्रमा अन्तरहृदयदेखि समर्पित भएर सक्रिय रहेका यति राज अधिकारी आज वर्षदिनको छोटो अवधीमा नै सिनियर बिजनेश म्यानेजर बनिसकेका छन् । व्यस्त जीवनशैली, बीमा शिक्षक बनेर बीमितका घर घरमा पुगेर बीमा सचेतना फैलाउन उनी कहिले गाउँ पुग्छन् त काठमाडौं शहरका कुना कुनामा अल्झिरहेका भेटिन्छन् ।
जनयुद्धमा बोकेको बन्दुक छोडेर बसको स्टेरिङमा पुगेका राज अधिकारी अब बीमा क्षेत्रमा प्रवेश गरेपछि सुरुमै व्यवसायमै गएनन् । बरु बीमाबारे अध्ययन सुरु गरे । बमिापोष्टलगायतका बीमा सम्बद्ध अनलाईनहरु पढ्न थाले । बीमा के हो ? भन्ने कुरा राम्रोसँग बुझ्नको लागि गरिएको अध्ययनबाट ‘बीमा भनेको जिम्मेवारी लिनु’ भन्ने भावार्थ बुझेको स्मरण गर्दछन् । नबुझीकन बीमा गर्न बजारमा जाँदा अनेकन समस्या आइपर्न सक्ने भएकोले अधिकारीले सुरुमा विस्तृतमा अध्ययन गरेर बिताए । जब मैले बीमामै जीवन बिताउने भएपछि सबैभन्दा पहिला मैले अध्ययन आवश्यक ठाने । अनि बीमा भनेको जिम्मेवारी लिनु वा जिम्मेवारी आदानप्रदान भन्ने अर्थमा बुझे । जब बीमा बुझे अनि बीमा क्षेत्रमा प्रवेश गरे ।
विगतका अनुभव सुनाउँदै अधिकारी भन्छन्, ‘सुरुवातमा त खासै काम गर्न सकिन । तर पछि अब योजना रणनीति र लक्ष्य तोकेर व्यवसाय गर्न थाले । यसो गर्दा मैले एमडिआरटी बनेरै छोड्ने अठोट लिए ।’ अहिले अधिकारी नेशनल लाइफबाट एमडिआरटी लक्ष्य चुम्न सफल सिनियर एजेन्सी म्यानेजर बनिसकेका छन् । बीमा क्षेत्रमा सक्रिय अधिकारी अब नेपालको बीमा व्यवसायलाई सुधार गरेर अघि बढ्नुपर्दछ भन्ने कुराले घचघच्याइरहेको अनुभव सुनाउँछन् । हुन त उनी पेशागत बीमा अभिकर्ता संघमा समेत आबद्ध भइ केन्द्रीय सदस्य बनिसकेका छन् ।
अधिकारी बीमा पेशालाई हेर्ने दृष्टिकोण फरक बनाउनुपर्ने धारणा राख्छन् । बीमा अभिकर्तालाई बीमा शिक्षकको रुपमा समाजमा चिनाउनुपर्ने आवश्यकता रहेको उनको धारणा छ । बीमा अभिकर्ताहरु र संगठित बीमा अभिकर्ताहरु गरी दुई खालका बीमा अभिकर्ताहरु बजारमा रहेको अनुभव गरेका अधिकारीले संगठित बीमा अभिकर्ताले जीवन बीमाको स्थायित्व र दीगो विकास हेरेर व्यवसाय गर्ने र अभिकर्ता मात्रैले आजको लाभ हेरेर जस्तोसुकै बीमा पोलिसी काट्ने गरेको उनको अनुभव छ । उनले बीमा अभिकर्ता सधैं संगठित अभिकर्ता हुनुपर्ने बताउँछन् । ‘बीमा पोलिसी ल्याउने मात्रै रुपमा बुझ्नु भएन बरु व्यवसायिक हिसाबले सोचेर बीमा अभिकर्ताहरु बीमा टिचर बन्नुपर्दछ’ नेशनल लाइफका सिनियर एजेन्सी म्यानेजर अधिकारी भन्छन्, ‘क्षणिक लाभका लागि अभिकर्ताले काम गर्नुहुँदैन बरु जिम्मेवारी बोधका साथ अन्तिम किस्ता समेत तिर्ने गरी बीमा पोलिसी बिक्री गर्नुपर्दछ ।’
बीमा क्षेत्रमा आबद्ध भइसकेपछि बीमाको माध्यमबाट जनतालाई समानता दिन सकिने उनले अनुभव सुनाए । गरिब जनताको बर्ग उत्थान र आम जनतामा बीमाको माध्यमबाट समानता ल्याउन सकिने गरी काम गर्ने अठोटका साथ बीमा क्षेत्रमा सक्रिय भएको यतिराज अधिकारी बताउँछन् । बीमाले मानिसको बाँकी जीवन सहज बनाउने, आत्मनिर्भर भई आम्दानी बृद्धि गर्न सिकाउने र बचत गर्न संकल्प गर्न लगाउने हुँदा जीवन बीमा आम जनता त्यसमाथि पनि बर्गीय रुपमा उत्पीडनमा परेका जनताको लागि धेरै नै महत्वपूर्ण रहेको उनको ठम्याई छ ।
अन्य बीमा अभिकर्ता मित्र तथा सहकर्मीहरुलाई बीमाबारे राम्रोसँग अध्ययन गरेर मात्रै बीमा क्षेत्रमा सक्रिय हुन सुझाव दिन्छन् । त्यस्तै बीमाको लागि ठूलो रकम नहेरेर केही नभएका गरिब, निम्न आय भएका जनतालाई बीमाको रक्षाकवच आवश्यक रहेको कुरा सधैं मनमा राख्न आह्वान गर्दछन् । देशकै अग्रणी कम्पनीमा रहेर काम गर्दै आएका यतिराज बीमाकै माध्यमबाट देशका गरिब, किसान र निम्न बर्गीय जनताको बर्गउत्थान सपना देख्न थालेका छन् । अनि विगतमा बर्गीय मुक्तिका लागि बन्दुक बोक्ने हातहरुले तिनै जनताको जोखिम रक्षावरण गर्न बीमा पोलिसीका पानाहरु पल्टाउनमै व्यस्त रहेका छन् ।
मुलुकले शान्तिपूर्ण राजनीतिको मार्ग रोज्यो, जनताका सपनाहरु धेरै पुरा गर्न बाँकी छन् । अनि विगतमा विद्रोहबाट सत्ता कब्जा गर्छु र जनतालाई न्याय दिन्छु भनेर हिडेका युवाहरु यसरी बीमा क्षेत्रमा आबद्ध भई जनताको सपनासँग जोड्न सकिन्छ भनेर प्रतिबद्ध भएको घटनाले सिंगो बीमा जगतकै लागि खुशी कुरा मात्रै नभई देश र जनताकै लागि समेत एउटा नयाँ युगको सूत्रपात हो ।