ग्रीनहिल सिटीद्धारा सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा छ वर्षसम्म कैद सजाय हुनसक्ने

२८ भाद्र २०७९, मंगलवार १५:४३

काठमाडौं । आफूलाई नेपालकै चर्चित हाउजिङ कम्पनी भनेर दावी गर्ने ग्रीन हिल सिटीले सेन्चुरी बैंकबाट ऋणीको नाममा प्राप्त ऋण रकम दुरुपयोग गरेको प्रमाणित भएको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रीन हिल सिटी नामक कम्पनीले ललितपुरको इमाडोलस्थितको हाउजिङको १५ नम्वर घर बिक्री गर्दा त्रिपक्षिय सम्झौता गरी ऋणीसँग एक करोड तीन लाख रुपैयाँ बैंना र बैंकबाट एक करोड रुपैयाँ ऋणीको नामको ऋणसमेत लिएका थिए ।

त्रिपक्षिय सम्झौतामार्फत घर तयार गरी हस्तान्तरण गर्ने भन्दै २०७५ सालमा पुस २९ गते ग्रीन हिल सिटीकी सहायक मार्केटिङ म्यानेजर सुशिला दाहालले सेन्चुरी बैंकलाई पत्र लेख्दै कम्पनीको सिटिजन्स बैंकको खाता नं …….. १८३२ सिए नम्वरका खातामा जम्मा गरिदिन आग्रह गर्दै ऋणीको नाममा निकासा हुने रकम एक करोड रुपैयाँ प्राप्त हुने वित्तिकै घर फिनिसिङ गरेर हस्तान्तरण गर्ने ग्यारेन्टी गरिएको छ ।

२०७५ साल पुस २९ गते बैंकसँग गरेको प्रतिबद्धता अनुसार सोही दिन बैंकले ग्रीन हिल सिटीको नाममा जम्मा भएको सिटिजन्स बैंकमा रहेको खातामा रकम जम्मा गरिदिएको थियो । तर, बैंकले ग्रीन हिल सिटीकी सहायक निर्देशक सुशिला दाहालले कम्पनीको तर्फबाट गरेको प्रतिबद्धता विपरित चारवर्षसम्म कर्जा दुरुपयोग गरी ऋण प्रयोजनको लागि प्रयोग छैन ।

 

केही अघि उच्च अदालतमा चलेको मुद्दाको क्रममा ग्रीन हिल सिटीले सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रमाणित भएको हो । ग्रीनहिल सिटीले बैंकिङ कसुर सजाय ऐन २०६४ को दफा ८ अनुसारको कर्जा दुरुपयोग गरेको प्रमाणित भएको पब्लिक इन्नोभेटर ई. दीपेन्द्र कँडेलले बताए । सो दफा अनुसारको कैद अन्तर्गत अदालतमा मुद्दा दर्ता भई अभियोग प्रमाणित भएमा बैंकिङ कसुर सजाय ऐन २०६४ को दफा १५ उपदाफा २ (घ) अनुसार न्यूनतम चार वर्षदेखि छ वर्ष कैद सजाय हुनेछ । यस्तो सजाय प्रत्यक्ष रुपमा संलग्न ग्रीन हिल सिटीका व्यक्तिले पाउनेछ भने उनका सहयोगी तथा मतियारहरुले उक्त कैद सजायको आधा कैद सजाय हुने व्यवस्था बैंकिङ कसुर सजाय ऐन २०६४ को दफा १५ को उपदफा ६ मा उल्लेख भएकोले ग्रीनहिल सिटीका कर्मचारीहरु समेत कानुनी दायरामा आउनेछन् ।

बीमापोष्टलाई प्राप्त कागजातमा ग्रीनहिल सिटीले पाटन उच्च अदालतमा चलेको एक मुद्दामा सेन्चुरी बैंकबाट प्राप्त ऋण बापतको रकम प्राप्त नभएको लिखित जवाफ पेश गरेको थियो । तर, ग्रीनहिल सिटीकी सहायक मार्केटिङ म्यानेजर सुशिला दाहालले २०७५ साल पुस ९ गते लेखेको पत्रमा बैंकले एक करोड रुपैयाँ भुक्तानी दिने वित्तिकै घर फिनिसिङ गरी हस्तान्तरण गर्ने उल्लेख छ । निर्माण हुँदै गरेको घरको फिनिसिङ गरी निर्माण सम्पन्न गर्न रकम नपुगेको भन्दै सेन्चुरी बैंकबाट ऋण लिएका थिए ।

 

ग्रीन हिल सिटीले सेन्चुरी बैंकबाट घर खरिदकर्ता ऋणीको नाममा प्राप्त रकम फिनिसिङ गर्न बाँकी रहेको घर तयार गर्न खर्च गर्नुपर्नेमा सो नगरी सिटिजन्स बैंकमा रहेको ऋण तिर्न उपयोग गरिएको तथ्य फेला परेको छ । ऋणीको नाममा जुन प्रयोजनको लागि ऋण लिइएको हो, सोही प्रयोजनको लागि ऋण बापतको रकम उपयोग हुनुपर्नेमा उपयोग नगरी चार वर्षदेखि घर फिनिसिङ गरिएको छैन ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकमाथि बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जा बापतको रकम जुन शिर्षकमा प्रवाह भएको हो, सोही शिर्षकमा खर्च गनुपर्ने र गरे नगरेको नियमित अनुगमन नगरेको भन्दै दवाव परिरहेको छ । चरम तरलता अभावको समयमा कर्जा दुरुपयोगको विषय चर्को रुपमा उठिरहेको भएपनि ग्रीनहिल सिटीले राष्ट्र बैंकभित्रै सेटिङ गरेको कारणबाट ग्रीनहिल सिटीले सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोगमाथि छानविन हुन सकेको छैन ।
घर बिक्री गर्न सम्झौता गर्ने, घर तयार गर्नुपर्नेमा नगरी खरिदकर्तालाई बैंकबाट ऋण लिन लगाउने अनि घर पनि तयार नगर्ने र खरिदकर्तालाई अनावश्यक रुपमा बैंकको ब्याजको भार पार्ने ग्रीनहिल सिटीको ठगीबारे बीमापोष्टले श्रृंखलाबद्ध समाचारहरु पस्कदै आएको छ ।

 

ग्रिनहिल सिटीको खण्डन

उपरोक्त सम्बन्धमा यस ग्रिन हिल सिटी प्रा.लि. को बारेमा त्यस बिमापोष्ट (www.beemapost.com) पत्रिकामा २८ भाद्र २०७९ मा ग्रिन हिल सिटीद्वारा सेञ्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा ६ वर्षसम्म कैद सजाय हुनसक्ने’ भन्ने शिर्षक राखी र २९ मङ्सिर २०७९ मा ‘ठगी काण्डमा ग्रिन हिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार’ शिर्षक राखी समाचार प्रेषित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ। यो समाचार झुट्टा रहेको भन्ने बारेमा निम्नानुसारको बुँदामा खण्डन गरेको छु :

१) कस्तो विषय बैंकिङ कसुर हुने कस्तो नहुने भन्ने बारेमा आफ्नै कानुनी मान्यता एवं सिद्धान्त छन्, यसरी विना कानुनी आधार आफूखुशी पत्रिकामा समाचार प्रकाशन गर्नु गैरजिम्मेवारपूर्ण हो ।

२) यस संस्थाका अध्यक्ष भेषराज लोहनीको नाम नै किटान गरी प्रकाशित समाचार प्रकाशन गर्नु अघि के कसो हो विषय भनेर एकपटक पनि यस कम्पनीलाई सोधिएको समेत छैन। यदि त्यसो हुन्थ्यो भने सम्मानित उच्च अदालत पाटन बाट टुङ्गिएको विषय (मुद्दा नं. 078-WO-0496) यसरी औचित्यहीन समाचार प्रकाशित हुने थिएन ।

३) अदालतबाट नै रीट निवेदन खारेज गरी यस कम्पनीउपर कुनै दायित्व सृजना नगरेको अवस्थामा आफूखुशी यसरी लाञ्छना लगाई अरुको बेईज्जत गराउने कार्य गैरकानुनी एवं भ्रम सृजना गरी व्यक्तिगत र संस्थागत विकासमा दिगोरुपमा असर पर्ने प्रकृतिको छ ।

४) पत्रकार आचारसंहिता, २०७३ को दफा ४ मा पत्रकार र सञ्चारमाध्यमले पेशागत मर्यादा तथा व्यवहार गर्नुपर्ने उल्लेख गर्दै वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्दछ भनी उल्लेख गरेको छ । यसका साथै पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैलीको प्रयोग गर्नुपर्छ भनी बाध्यात्मक व्यवस्था गरेको छ । यसका अतिरिक्त दफा १४ मा अनलाइन सञ्चारमाध्यमको जिम्मेवारीको व्यवस्था गर्दै अनलाइन सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन प्रसारण वा बाह्य लिङ्कहरुलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

५) अभिव्यक्ति स्वतन्त्रताको नाममा हुदै नभएको मनोगत तथ्य राखी एकतर्फीरुपमा यस संस्था विरुद्ध रिस पोख्ने कार्य भएको छ । अदालतबाट टुङ्गो लागिसकेको विषयमा केहि असन्तुष्टि भएमा अदालतबाटै उपचार खोजुपर्नेमा सो नगरी व्यक्तिगत लाञ्छना लगाउने कार्य निन्दनीय छ । उक्त कार्यले विगत केहि समय देखि यस संस्थाले अनावश्यक तनाब भोग्नु परिरहेको छ ।

६) उक्त समाचारमा भनेको जस्तो न त ग्रिन हिल सिटीका निर्देशक ठाकुर भट्टराई ठगीको आरोपमा पक्राउ परेका छन् न त अध्यक्ष लोहनी फरार नै रहेका छन्। के कुन आधारमा किन यस्तो समाचार छापिएको हो हामी आश्चर्यचकित परेका छौं। उक्त समाचार प्रकाशन गर्नु अघि के कसो हो विषय भनेर एकपटक पनि यस कम्पनीलाई सोधिएको समेत छैन। यदि त्यसो हुन्थ्यो भने सम्मानित उच्च अदालत, पाटनबाट टुङ्गिएको विषय (मुद्दा नं. 078-WO-0496) यसरी औचित्यहीन समाचार प्रकाशित हुने थिएन ।

७) केही दिन अघि शान्ता शर्मा लगायतका केही व्यक्ति यस कम्पनीको कार्यालयमा आई होहल्ला गरेपछि यसै कम्पनीका प्रबन्ध सञ्चालक/निर्देशकले सबै पक्ष बसी सल्लाह गरौं भन्नुभएको थियो। एक प्रकारको यथार्थता रहेको विषयमा यसरी आफूखुशी आधारहीन समाचार प्रेषित हुनुले सञ्चार जगतको नै बेईजती हुनसक्ने सम्मको जोखिम छ ।

कुनै पनि सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नु त्रुटि एवं गल्ती भएको जानकारी हुनसाथ यथाशीघ्र सच्याउनु तथा प्रकाशित वा प्रसारित सामग्री असत्य हो भन्ने भन्ने सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रष्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रसारण गर्नुपर्ने व्यवस्था अनुरुप म प्रति लगाइएको लाल्छनालाई क्षमायाचना सहित खण्डन प्रकाशन गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । धन्यवाद ।

समाचार लिंक

ग्रीनहिल सिटीद्धारा सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा छ वर्षसम्म कैद सजाय हुनसक्ने

ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लाेहनी फरार


ज्योति दाहाल
(प्रमुख कानुन तथा कम्पनी सचिव)

 

बीमापोष्टको भनाईः
ग्रिनहिल सिटी नामक हाउजिङ कम्पनीले ललितपुरको इमाडोलमा विकास गरेको आवासिय भवन खरिद गर्ने भनि २०७५ पुस २९ गते त्रिपक्षिय सम्झौता गरी पीडित शान्ता शर्माले सम्पूर्ण रकम बुझाएको, चार वर्षसम्म घर तयार नपारेर आफू ठगिएको भन्ने गुनासो, सो सम्बन्धमा प्राप्त कागजातमा ग्रिनहिल सिटी प्रा. लि.ले सम्झौता बमोजिम भन्दा बढि रकम प्राप्त गरेको तर चार वर्षसम्म घर पास नगरेको विषयमा सो कम्पनीका सञ्चालक भेषराज लोहनीको नाम समावेश भएको हो । सो घर खरिदमा एक बैंकबाट एक करोड रुपैयाँ ऋण प्रवाह भएकोले बैंकलाई धितोपास नगरिएको अवस्था छ । र, धितो असुरक्षित छ । बैंकको सम्पत्ति, धितोको दुरुपयोग गरेको देखिएकोले बैंकिङ कसुर सम्बन्धी कैद सजायको ध्यानाकर्षण गराइएको मात्रै हो ।

पत्रकार आचार संहिता अनुसार कम्पनीमा सम्पर्क गर्दा कुनै जवाफ नआएकोले एक पक्षिय जस्तो समाचार देखिएको हो । ठूला घरानाको व्यवसायी हुँ भन्ने पत्रकारहरुको फोन नउठाउने, कुरा गर्नै नमान्ने, कार्यालयमा सम्पर्क गर्दा थाहा छैन भन्ने जवाफ कर्मचारीहरुले दिने अनि दुई पक्षिय नभई राख्न नपाएकै कारण ठूला भनिएका व्यक्तिबाट हुने अपराध सञ्चार माध्यममा समाचार नबन्ने भन्ने हुनसक्दैन । समाचार असन्तुलित र एक पक्षिय होइन र छैन । त्यसैले पनि समाचारको विषय बस्तुका कारण पीडित बनेको पक्षबाट खण्डन केही घण्टाभित्रैमा प्रकाशित, समावेश गर्ने गरिएको छ ।

उच्च अदालत पाटनबाट टुंगिएको मुद्दा भन्ने सन्दर्भमा सो प्रकरण ठगी, वा बैंकिङ कसुर सम्बन्धमा टुंगिएको होइन, छानविन गर्ने कि नगर्ने भन्ने विषयमा मुद्दा टुंगिएको हो, बैंकिङ कसुरमा प्रहरी र ठगी वा करार कार्यान्वयनमा जिल्ला अदालतबाट मुद्दा प्रक्रियामा जान सक्ने कुरा फैसलामा लेखिएको व्यहोरा अवगत नै होला ।

सेवाग्राहीलाई बैंकबाट घर किन्न लगाउने, बैंकबाट ऋण लिएर समेत घरमा पैसा हाल्न लगाउने अनि रकम प्राप्त गरेको चार वर्षसम्म घर पास नगर्ने कार्य ठगी नभएर के हो ?

पक्राउ परेको विषय सम्बन्धी समाचारमा समावेश फोटो आफैमा प्रमाण हो । ग्रिनहिल सिटीका निर्देशक ठाकुर भट्टराईको तस्विर सिंहदरवारस्थित प्रहरी वृत्तमा लिइएको तस्विर हो । प्रहरीले जावलाखेल चलान गर्न खोज्दा पीडित पक्षले बृद्धा अवस्था र सकारात्मक कुरा गरेकोले ठगी सम्बन्धी विषयस्तु छलफलबाटै मिल्न सक्छ कि आजलाई छोडीदिऊ भनेर रिहा गरिएको हो । अन्यथा अहिले प्रहरी कार्यालयभित्र हुनसक्नुहुन्थ्यो । ठाकुर भट्टराईलाई कम्पनीबाटै पक्राउ गरिएको र अर्का सञ्चालक भेषराज लोहनी भन्ने व्यक्ति ‘हत्तपत्त गाडी स्टार्ट गरेर भागेको’ भन्ने सो घटनामा संलग्न प्रहरी (सिआरभी) ले भनेको आधारमा लेखिएको हो ।

बीमापोष्ट सम्पादकीय टिम सञ्चार माध्यममा प्रकाशित समाचारमा पीडा पुगेको पक्षलाई तत्कालै खण्डन वा आफ्नो विचार राख्ने उचित समय र स्थान दिनुपर्छ भन्ने स्पष्ट नीति अनुसार यो खण्डन प्रकाशित गरिएको हो । ग्रिनहिल सिटीसँग कुनै प्रकारको रिसइवी गर्नुपर्ने कारण छैन । जनताले न्याय नपाएको विषय, जनता ठगिएको विषयवस्तु जोडिएका कारण समाचार र फोटो प्रकाशित भएको हो । र, पीडितले न्याय नपाउँदासम्म समाचार छापिन क्रम जारी रहन्छ । –सम्पादक

One thought on “ग्रीनहिल सिटीद्धारा सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा छ वर्षसम्म कैद सजाय हुनसक्ने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*