नाडा अटोमोबाइल्सले असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने, ग्राहकमुखी बनाउन इन्स्योरेन्सका स्टल राखिने

२७ भाद्र २०७९, सोमबार १२:०५

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले यहि असोज ६ गतदेखि ९ गतेसम्म ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एशोसियसननले नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्र्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी सिएटद्धारा प्रायोजित उक्त एक्स्पो मेला आयोजना गर्न लागेको हो ।

उक्त एक्स्पो काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी मार्गमा हुनेछ । एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी हुनेछ भने युसेड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको संचालन गर्ने भएको छ । साथै एक्स्पोको शिर्ष प्रायोजनक सिएट टायर रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । त्यस्तै, डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

उक्त एक्स्पोबाट आयोजक टिमले विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास लिएको छ । वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गइरहेकोमा यस्ता सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशको अर्थतन्त्रको सुधारमा समेत यसले सहयोग हुने आयोजक टिमले अपेक्षा राखेको छ ।

वातावरणमैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गर्न लागिइएको उक्त एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने आयोजक पक्षले जनाएको छ । साथै एक्स्पोमा ७ वटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता रहेको छ ।

नेपालीहरुको महान पर्वको अवसरमा आयोजना हुन गइरहेको उक्त एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिबृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समष्टिगत प्रबर्धनमा तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त रहेको छ ।त्यस्तै, एक्सपोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्स्योरेन्सका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिनेछ । एक्स्पोमा बरुण सुरक्षाका लागि फायर सेफ्टि सर्पोटको रुपमा हिटको प्रा.लि. रहेको छ ।

वातावरण एवं इभी सम्बन्धी व्यापक छलफल तथा सूचना प्रवाह गर्नका लागि युसेइड क्लिन एयरले तीन दिनसम्म इभी चौतारी नामक गोष्ठी संचालन गर्नेछ । यसका अलावा सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौंको सूचना कक्ष समेत प्रदर्शनीमा रहनेछ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था रहेको छ । आज (भदौ २७) गतेदेखि असोज ५ गतेसम्मको लागि अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपद्धारा २५ प्रतिशत क्यासब्याकको समेत अफर रहेको छ । चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजनक टिमको प्रक्षेपण रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*