कैलालीको चुरे गाउँपालिकाका बीमा समितिको अन्तरक्रिया, किसानलाई थप बीमा सुविधा दिने प्रतिबद्धता
काठमाडौं । कैलाली जिल्लाको चुरे गाउँपालिकाको कार्यालय घरखेडामा बीमा समितिको आयोजनामा बीमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ । बीमा समितिका उप निर्देशक तथा सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारी र चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाको उपस्थितिमा स्थानीय किसान, बीमितहरुसँग सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालयले स्थानिय सरकारसँग बीमा समिति बिषयक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चुरे गाउँपालिकाकी अध्यक्ष धना देवी थापाले सरकारले कृषि बीमा शुल्कमा ८० प्रतिशतले अनुदान दिएको र किसानलाई राहत दिन अझै थप बीमा शुल्क अनुदान दिन गाउँपालिका तयार रहेको प्रतिबद्धता जनाएकी छिन् ।
कार्यक्रममा बीमा समितिका उप निर्देशक तथा सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख अधिकारीले बीमाको पहुँच गाउँ गाउँमा पुर्याउन आवश्यक रहेको भन्दै किसान, श्रमिक तथा अन्य सर्वसाधारणलाई बीमामा आबद्ध हुन आह्वान गरेका छन् । उप निर्देशक अधिकारीले बीमा कम्पनीहरुको दायित्व, बीमा समितिको भूमिका, बीमाले स्थानीय किसानहरुलाई पुर्याउने लाभका बारेमा प्रस्तुति दिएका थिए ।
बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चुरे गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरु, स्थानीय सहकारी संस्थाका प्रतिनिधिहरु, शिक्षक र कृषकहरु सहभागी भएका थिए । कार्यक्रममा करिब एक सय जनाले बीमा सेचतनाबारे जानकारी पाएको बीमा समिति सुदुरपश्चिम कार्यालयले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा उपस्थिती स्थानीय जनप्रतिनिधिहरु तथा कृषि सहकारीका सदस्यहरु, अगुवा कृषकहरुका साथै अन्य सरोकारवालाहरुले कृषि बीमाका समस्याहरुका बारेमा जिज्ञाशा राखेका थिए । कृष बीमाका कठिनाइबारे जानकारी गराएपछि बीमा समितिले सहजिकरण गर्ने प्रतिबद्धता जनाएको छ । कुनै पनि बीमा कम्पनीको उपस्थिति नपुगेको सो गाउँपालिकामा बीमाबारे किसान तथा सहकारीहरुमा बीमा शिक्षा भने पुगिसके पाइएको बीमा समितिका सहायक निर्देशक दीपक ज्ञवालीले बताए ।
कार्यक्रम रुपमा चुरे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बीबी राज सोती तथा प्रहरी चौकी घरखेड़ा, चुरेका प्रमुख लक्ष्मण सिंह चैसिरको उपस्थितिमा सम्पन्न भएको थियो भने बीमा समितिका सहायक निर्देशक दीपक ज्ञवालीको पनि उपस्थिति रहेको थियो ।