राष्ट्रिय सभामा बीमा विधेयक अघि बढ्यो, धेरै संशोधन नपरेमा २६ गते पास हुनसक्ने
काठमाडौं । राष्ट्रिय सभामा आज अघि बढेको बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि बढेको छ । बीमा विधेयक २०७५ लाई अर्थमन्त्री जनार्दन शर्माले विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । अर्थमन्त्री शर्माले पेश गरेको उक्त प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत रुपमा पारित भएको छ ।
शर्माले पेश गरेको उक्त विधेयक अब संसदको अंग बनेको छ र त्यसमाथि संशोधन गर्नुपर्ने भएमा सांसदहरुले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गराउन सक्नेछन् । उक्त विधेयक उपर दर्ता भएका संशोधनहरु समेतमाथि छलफल गरी संशोधनहरु स्वीकृत वा अस्वीकृत गरी बीमा विधेयक पास हुनेछ ।
राष्ट्रियसभाबाट संशोधन सहित स्वीकृत भएमा पुनः प्रतिनिधिसभामा पठाएर स्वीकृत हुनेछ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बीमा विधेयक अघि बढिसक्यो, संशोधन गर्न चाहनुहुने महानुभावहरुले ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सक्नेछन् ।
बीमा विधेयक २०७५ माथि धेरै संशोधन नपरेको खण्डमा आगामी भदौं २६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित हुन सक्नेछ । संशोधन धेरै परेमा विधायन समितिमा लगेर थप छलफल गरिनेछ ।