बीमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाको कार्यसूचिमा, मन्त्री नहुँदा विधेयकबारे अलमल
काठमाडौं । राष्ट्रिय सभाको आजको कार्यसूचिमा बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । अर्थमन्त्री जनार्दन शर्मा बाहिर रहेकोले मन्त्री शर्माको तर्फबाट अन्य कुनै मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश हुनेछ । तर, विभागीय मन्त्री नभएकोले बीमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अलमल हुनसक्ने जनाइएको छ । राष्ट्रियसभाको बैठक आज अपरान्ह ३ बजे बस्नेछ ।
राष्ट्रियसभाको प्रक्रिया अनुसार विचार गरियोस् भन्ने प्रस्तावमा विभागीय मन्त्री नै हुन आवश्यक छ । अर्थमन्त्री जनार्दन शर्मा सुर्खेतमा रहेकोले आजको राष्ट्रियसभाको बैठकमा अनुपस्थित हुनेछन् । विभागीय मन्त्री नभएको अवस्थामा उक्त विधेयकमाथि उठेका हरेक प्रश्नहरुको जवाफ दिन सक्छु भनेर कुनै अर्थमन्त्रीका तर्फबाट मन्त्रीले जिम्मा लिएमा मात्रै विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।
विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको ७२ घण्टासम्म संशोधन दर्ता गर्ने समय हुन्छ । त्यसैले उक्त समयभित्र आएका संशोधनमाथि छलफल गरेर विधेयक पारित हुनेछ । संशोधन गरेमा पुनः प्रतिनिधिसभामा फर्कनेछ । संशोधन नभई हुबहु पारित भएको अवस्थामा मात्रै बीमा विधेयक राष्ट्रियसभाबाट पारित भई राष्ट्रपति समक्ष पुग्नेछ ।