बीमा प्राधिकरण बनेपछि बीमा क्षेत्र थप चलायमान बन्छः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाल संसदमा रहेको बीमा ऐन पास भई आएपछि बीमा क्षेत्रको नियमन र बजारिकरण थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् । सुर्खेतस्थित बीमा समितिको प्रदेश कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐन पारित हुने क्रममा रहेको र छिट्टै बीमा प्राधिकरण बन्ने बताए ।
मन्त्री शर्माले देशभर बीमाको पहुँच ४१ प्रतिशत पुर्याउन सफल भएकोमा बीमा समितिका अध्यक्षलाई धन्यवाद दिँदै कर्णालीमा बीमाको पहुँच ११ प्रतिशत हुनु खुशी कुरा भएपनि अझै थप मेहनत गर्नुपर्ने बताए । मन्त्री शर्माले बीमा सम्बन्धी जनशक्ति स्वदेशमै उत्पादन गर्न बीमा कलेज स्थापना हुनेतर्फ अघि बढेको बताउँदै अब बीमा क्षेत्र चलायमान भएको बताए । मन्त्री शर्माले गाउँ गाउँमा, देशको कुना काप्चामा पुग्ने गरी बीमा सचेतना फैलाउन निर्देशन दिएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेशका भूमी ब्यवस्था तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले कर्णालीका जनताको बीचमा बीमाको पहुँच नपुगेको गुनासो गरेका छन् । उनले भने, ‘अहिले पनि कर्णालीका जनताले बीमा बुझेका छैनन् । बीमा सम्बन्धी सबै जिम्मेवार ब्यक्ति संस्थाले पाखा पखेरामा पठाउनु आवश्यक छ ।’
कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा भनेको वितरण गर्ने माध्यम भएको बताउँदै हुनेले शुल्क तिर्ने र नहुनेले पाउने गरी वितरण गर्नुपर्ने बताए । अध्यक्ष सिलवालले राज्यले सिधैं अनुदान दिनुको सट्टा बीमाको माध्यमबाट जनताले राहत पाउने व्यवस्था गनुपर्ने बताए । तस्विर/भिडियोः शंकर लामिछाने ‘अशान्त’