शान्ति विद्यागृहको हीरक वार्षिकोत्सवको तयारी पूरा

१५ भाद्र २०७९, बुधबार १३:०८

काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले बताए। शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो ।

विद्यालयको हीरक महोत्सव गत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको भण्डारीले बताए ।
हीरक महोत्सव अन्तर्गत भदौ १६ गते प्रभातफेरी र हाल अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम छ । १७ गते पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई सम्मान मायाको चिनो र सम्मान गर्ने कार्यक्रम तय भएको छ । १८ गते शनिबर स्मारिका र शान्ति कविता विमोचन, संस्थापकहरु, पूर्व प्रधानअध्यापकहरु, संस्थापक शिक्षकहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, कवि, एवं अन्य व्यक्तित्वलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम छ ।

१६ गतेको कार्यक्रममा शिक्षा विकास तथा समनवय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल, १७ गते त्रिभुवन विश्वविद्यालयका पूर्व उपलकुलपति शंकरराज पाठक र १९ गते पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी हुने विद्यालय व्यवस्थापनले जनाएको छ ।

शान्ति विद्यागृह गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीको घरबाट सुरु भएको थियो । एक वर्षपछि ठमेलस्थित भगवान बहालमा भाडाको घरमा सारियो । त्यहाँ करीब ३ वर्ष पठनपाठन चल्यो । त्यसपछि अहिले भवन भएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धर बताए ।

शान्ति विद्यागृहमा स्थापनाको दिन बिहान साढे ६ बजे जनकविकेशरी धर्मराज थापाबाट सरस्वती वन्दना वाचन गर्दै प्रथम कक्षा सुरु गरिएको थियो । सुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रका करिब ३ सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्ति विद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्ति विद्यागृह कन्या प्राथमिक स्कुलपट्टि राखेर पढाइयो । २०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भयो ।

अहिले विद्यालयमा पूर्वप्राथमिक ‘ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमा अहिले ६ सय २ छात्र र ५ सय १८ छात्रा अध्ययन गरिहेका छन् । उनीहरूलाई पढाउन ७ जना शिक्षक र ३२ जना शिक्षिका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*