नेपाल पुनर्बीमा कम्पनीको लगानी १८ अर्ब माथि, मुद्दती निक्षेपमा सबैभन्दा बढी, अन्य कुन क्षेत्रमा कति ?
काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा पुनर्बीमा कम्पनीले १८ अर्ब भन्दा बढी रकम विभिन्न शीर्षकमा लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा १५ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तिय क्षेत्रमा लगानी गरेको देखिएको छ ।
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा क वर्गको बैंक र ख वर्गको मुद्धती निक्षेप गरि साढे १५ अर्ब मुद्धती निक्षेपमा जम्मा गराएका छन् । कम्पनीले ग बर्गको बैंक तथा वित्तिय संस्थामा भने रकम जम्मा गराएको छैन ।
पुनर्बीमा कम्पनीले नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, म्युचअल फण्ड र नागरिक स्टक डिलरमा संस्थापक शेयर लगानी र अन्य लगानीका क्षेत्रहरुमा समेत लगानी गरेको छ ।
असार मसान्तसम्ममा पुनर्बीमा कम्पनीले क वर्गको बैंकको मुद्दती निक्षेपमा सबैभन्दा धेरै लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले बाणिज्य बैंकहरुमा १४ अर्ब २ करोड रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, पुनर्बीमा कम्पनीले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १ अर्ब ७३ करोड खरुपैयाँ लगानी गरेको छ । ख वर्गका बैंकको मुद्दती निक्षेपमा १ अर्ब ४८ करोड रुपैयाँ, जम्मा अन्य लगानीमा १ अर्ब रुपैयाँ, संस्थापक शेयर तर्फ १ अर्ब रुपैयाँ, नेपाल सरकारको बचतपत्रमा ३० करोड रुपैयाँ, पब्लिक कम्पनीको साधारण शेयरमा ९ करोड रुपैयाँ र अन्य लगानीमा ७१ करोड रुपैयाा लगानी गरेको तथ्यांकले देखाएको छ ।
नेपाल पुनर्बीमा कम्पनी नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । नेपाल पुनर्बीमा कम्पनीले विश्वका ३० भन्दा बढि देशमा आफ्नो व्यापार सञ्जाल विस्तार गरिसकेको छ । ३० वटा देशबाट बीमा शुल्क आर्जन गर्ने नेपालको एक मात्र अन्तर्राष्ट्रिय व्यापार गर्ने संस्था नेपाल पुनर्बीमा कम्पनी हो ।
बीमा समितिले लगानी निर्देशिका ल्याएर विविध क्षेत्रमा लगानी गर्ने निर्देशन दिएपनि बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको देखिन्छ। कम्पनीले गएको वर्ष लगानीको दायरा फराकिलो बनाउने रणनीति लिएको थियो। तर अन्य क्षेत्रमा लगानी गर्दा जोखिको विश्लेषण गर्नु पर्ने भएकाले कम्पनीको लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै केन्द्रित छ।
कम्पनीले नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, म्युचअल फण्ड र नागरिक स्टक डिलरमा संस्थापक शेयर लगानी र अन्य क्षेत्रहरुमा समेत लगानी गरेको छ ।
समग्र बीमा कम्पनीहरुले वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् । तर, सरकारले नै प्राथमिकता प्राप्त क्षेत्र भनेर वर्गीकरण गरेको कृषि तथा पूर्वधारको क्षेत्रमा भने नगन्य लगानी देखिन्छ।
बीमा समितिले जारी गरेको लगानी निर्देशिका अनुसार पुनर्बीमा कम्पनीले घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत, वित्त कम्पनीको मुद्दतिमा १० प्रतिशत र राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लागनी गर्न पाँउछ ।
साथै, सो लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत डिबेञ्चरमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा, ५ प्रतिशत नागरिक लगानी कोष र म्यूचुअल फण्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
त्यस्तै, पुनर्बीमा कम्पनीले घरजग्गाको क्षेत्रमा, सूचीकृत कम्पनीको शेयरमा यस अवधिमा लगानी नगरेको बीमा समितिको तथ्यांकले देखाउँछ ।नेपाल पुनर्बीमा कम्पनी नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । नेपाल पुनर्बीमा कम्पनीले विश्वका ३० भन्दा बढि देशमा आफ्नो व्यापार संजाल विस्तार गरिसकेको छ ।कम्पनीले पछिल्लो समय विदेशी मुद्रा भित्र्याउन सहयोग गरिरहेको छ। नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा मार्फत हरेक वर्ष अर्बौ रुपैयाँ विदेश पठाउन थाले पछि नेपाल सरकारले यो कम्पनीको स्थापना गरेको थियो।