पैचोका उत्पादन अमेरिकामा

१० भाद्र २०७९, शुक्रबार १३:४४

काठमाडौं – ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्रि वितरण गर्दै आएको पैचो पसल प्रा.ली.ले उत्पादन गरेको ‘पैचो उत्पादन’हरु अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ ।

पैचोले आफनो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो । पैचोका उत्पादन अमेरिका पुर्याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालीमार्फत सहकार्य गरेको छ ।

‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल नाराका साथ सुरु भएको पैँचो पसल प्रा.ली.का उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दो क्रममा छ । यस्तै विदेशमा बसोबास गर्ने आम नेपाली समुदायले पनि रुचाउने आफ्नै जन्ममाटोको स्वादको पारखकै कारण समेत पैचोले आफनो उत्पादनलाई औपचारिक रुपमा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन लागेको हो ।

अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धतीबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको पैचो पसल प्रालीका बजार ब्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिए । गैरेले भने,‘अहिले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादनप्रति धेरै नै चाहना गरिरहेका हुन्छन् । नेपाल आएपछि विदेशमा फर्किदा थोरै मात्र त्यस्ता उत्पादन साथमा लगेपनि लामो समय विदेशमा बस्दा स्वेदशी खाद्यवस्तुको अभावको महशुस भैरहेको हुन्छ । त्यसैले पैचोले अहिले नेपालको ग्रामीण स्वादलाई विश्वभरी छरिएर रहेका नेपालीमाझ पुर्याउने योजनामा अगाडि बढाइरहको छ ।’

गुल्मीबाट सुरु भएको पैचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोट लगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दैआएको छ । जसका कारण ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भएपनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैचोका उत्पादनले भूमिका खेलेका छन् ।

पैचोको उत्पादनमा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, स्याङ्जा रुकुम, रोल्पा, कालीकोट, जुम्लासम्मका दशौं हजार कृषक प्रत्यक्ष अप्रत्यक्ष रुपमा आबद्ध भएका छन् । पैचो पसल प्रालीले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पीठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आटो च्याख्ला, लगायतका जस्ता खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।

अमेरिकाको न्यूयोर्कमा रहेको फेन्सी हाउस इन्कले अग्नि एक्जिम प्रा.ली.मार्फत नेपालमा उत्पादित खाद्यवस्तुलाई आयात गरेर त्यहाँबाट एक्पोर्ट फर्म नेपाल आईएनसी मार्फत अमेरिकाभर वितरण गरिरहेको छ । यी तीनवटै संस्थाको सहकार्यमा कन्टेनर मार्फत पुग्ने विभिन्न नेपाली उत्पादनहरु अमेरिकाका विभिन्न राज्यमा उपलब्ध भैरहेका छन् । यसैक्रममा, पैचोका उत्पादनहरु पनि अग्नि एक्जिम मार्फत फेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्र्पोट फर्म नेपालमार्फत सबै राज्यमा बिक्रि सुरु गरेको छ । यसका लागि पैचो पसल र फेन्सी हाउस इन्कबीच सहकार्यका लागि सम्झौता भएको छ ।

फेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले भने,‘‘नेपालबाट हामीले सुरुवाती व्यापार प्रर्वधनका लागि पैचोका केही उत्पादन अमेरिकमा लगेका थियौं । अमेरिकामा यी उत्पादनलाई अत्यधिक रुचाइयो । त्यसपछि हामीले नियमित रुपमा पैचो ब्राण्डलाई अमेरिका लैजाने गरी सहकार्य गरेका छौं । हामीलाई विश्वास छ पेचोसँगको सहकार्यले नेपालको पहाडी क्षेत्रका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुबाट उत्पादित सामान नियमित रुपमा अमेरिकी बजारमा पुर्याउन सफल हुनेछौं ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*