भारतद्धारा नेपाली उपभोक्तामाथि अपराध, उपभोक्तावादीहरु समेत प्रलोभनमा पर्दा जनता महंगीको मारमा
काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले नेपाली उपभोक्तामाथि गम्भिर आर्थिक अपराध गर्दा समेत नेपाल सरकार, नेपाल आयल निगम र उपभोक्तावादी संस्थाहरुले मुख खोल्न समेत सकेका छैनन् । भारतले नेपाली उपभोक्तामाथि दुई थरी मूल्य कायम गरी इन्धन आपूर्ति गरेका कारण नेपालकै आर्थिक अवस्था धरासायी बन्दै गइरहेको छ ।
भारतले नेपालमा पठाउने इन्धन र भारतमा बिक्री गर्ने इन्धनमा फरक फरक मूल्य लगाएको सम्बन्धी एक्ल्युसिभ समाचार बीमापोष्टले तथ्य प्रमाणसहित प्रकाशन गर्दै आएको छ । बीमापोष्टको समाचार प्रभाव अनुसार भारतले पछिल्ला दिनहरुमा केही मात्रामा इन्धनको मूल्य घटाए पनि अझै भारत र नेपालमा ठूलो मूल्यअन्तर रहेको छ ।
भारत सरकारको नियन्त्रणमा रहेको भारतीय आयल कर्पोरेश (आईओसी)ले नेपालमा पठाउने इन्धन नेपाल भारतबीचको सम्झौता विपरित दुई थरी मूल्य कायम गरी पठाउँदै आएको छ । जसका कारण नेपाल आयल निगमलाई करिब ४० अर्ब घाटा हुन पुगेकोछ । नेपाली उपभोक्ताबाट महंगो शुल्क असुलेर समेत नपुगेर आयल निगमले टेकुको जग्गा भाडामा राखेर ऋण लिएर आईओसीलाई भुक्तानी गर्दा समेत २३ अर्ब रुपैयाँ बाँकी रहेको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले भारतले दुई थरी मूल्य कायम गरेको स्वीकार गरेका छन् । थानी मात्रै होइन, निगममा सबै उच्च अधिकारीहरु भारतले नेपाली उपभोक्तामाथि अन्याय र ज्यादति गर्दै दुई थरी मूल्य कायम गरी ठगी गरेको स्वीकार गरेका छन् । गत साउन ३१ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उप प्रबन्ध निर्देशक नगेन्द्र शाहले आइओसीले भारतीय र नेपालीका लागि फरक फरक मूल्य कायम गरेर बिक्री गरिरहेको स्वीकार गरे । उनले भने, ‘आईओसीले भारतीय बजारमा पेट्रोल भारु ५७ रुपैयाँ बेस रेट राखेर बिक्री भइरहेको छ र नेपालमा ६१ रुपैयाँ भारु मूल्य लगाएर पठाएको छ ।’
आयल निगमकै अनुसार आईओसीले डिजेल भारतमा प्रतिलिटर ५७.९४ रुपैयाँ बेसरेट राखेर बिक्री गर्दै आएको भएपनि नेपालमा भने ७४ रुपैयाँ भारु मूल्य लगाएको छ । डिजेल धेरै मात्रामा खपत हुने भएकोले यसको असर नेपाली उपभोक्ताहरुमा ढाड सेकिने गरी अप्ठेरो परेको छ ।
भारतले दुई थरी मूल्य कायम गरिएको घटनाको पुष्टि भएमा भारतमाथि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्नुपर्ने उपभोक्तावादी संस्थाहरुको भनाई छ । राष्ट्रिय उपभोक्ता मञ्चमा अध्यक्ष प्रेमलाल मजर्हनले दुई थरी मूल्य गरिएको तथ्य पुष्टि भए आफूहरु तत्काल संघर्षको लागि तयार भएको प्रतिक्रिया दिए ।
स्रोतका अनुसार आईओसीले दोहोरो मूल्य कायम गराई नेपाली उपभोक्ताबाट असुल गरेको रकम नेपालका सत्ताधारी पार्टीहरुलाई चुनाव खर्च बापत कमिशन दिने गरेको छ । प्रधानमन्त्री पत्नी आरजु राणामार्फत सत्ता गठबन्धनका सबै राजनीतिक पार्टीहरुलाई काठमाडौंस्थित दुताबासमार्फत कमिशन वितरण भइरहेको छ । भारतीय लगानीमा नेपालमा राजनीतिक गतिविधि गर्दै आएका कथित कम्युनिष्ट भन्ने पार्टीहरुले समेत दुताबासबाट पाउने रकमको लागि आईओसीले पठाउने गरेको दोहोरो मूल्यको विषयमा आवाज नउठाएको विश्वस्त स्रोतले जनाएको छ ।