जीवन बीमा कम्पनीहरुले लगानीबाट कमाए ४४ अर्ब, एशियन लाइफको बृद्धि सबैभन्दा उच्च, कुन कम्पनीले कति कमाए ? (सूचिसहित)

१ भाद्र २०७९, बुधबार १५:३३

काठमाडौं । जीवन बीमा कम्पनीहरुको आम्दानी गत आर्थिक वर्षमा २४.३५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा बीमालेख धितोमा कर्जा, लगानी तथा कर्जा र अन्य आय बापतको रकम ३५ अर्ब ७८ करोड १३ लाख ८९ हजार रहेकोमा गत आवमा बृद्धि भई ४४ अर्ब ४९ करोड ३७ लाख ८० हजार १५८ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

गत आर्थिक वर्षमा बैंकले ब्याजदर बढाएको कारण बीमा कम्पनीहरुको आम्दानीमा बृद्धि भएको हो । अधिकांश बीमा कम्पनीहरुको आम्दानीमा उल्लेख्य बृद्धि भएपनि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आम्दानीमा भने ह्रास आएको छ ।

बीमालेख धितोमा कर्जाबाट प्राप्त आय, लगानीबाट प्राप्त आय तथा अन्य कर्जा तथा अन्य आम्दानीबाट प्राप्त आय यस खण्डमा समावेश गरिएको छ । बीमा कम्पनीहरुले दुई खालको आय प्राप्त गर्दछन् । पहिलो बीमाुशल्क आम्दानी र दोस्रो लगानीबाट प्राप्त आम्दानी हुन्छन् ।

गत आवमा सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनीको सूचिको पहिलो नम्वरमा नेपाल लाइफ परेको छ । नेपाल लाइफले १२ अर्ब ५० करोड ५९ लाख १८ हजार एक रुपैयाँ आम्दानी गरेको छ । नेपाल लाइफको आम्दानी १७.७ प्रतिशतले बृद्धि भएको छ । देशकै ठूलो बीमा कम्पनी जसको जीवन बीमा कोष मात्रै एक खर्ब ३६ अर्ब छ, उक्त कम्पनीको बृद्धिले बीमित र लगानीकर्ता दुवैलाई फाइदा भएको छ ।

 

 

त्यस्तै दोस्रो ठूलो आम्दानी गर्ने कम्पनी हो लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल । सो कम्पनीले गत आवमा आठ अर्ब ९० करोड १९ लाख ८८ हजार ४४३ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । एलआईसी नेपालको आम्दानी ८.८ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, तेस्रो नम्वरमा एशियन लाइफ परेको छ । सो कम्पनीले चार अर्ब २९ करोड ९८ लाख सात हजार ४३२ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । सो कम्पनीको आम्दानी १०३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा सबैभन्दा धेरै प्रतिशत बृद्धि गरेर एशियन लाइफले आफूलाई पोर्टफोलियो म्यानेजमेन्टमा अब्बल रहेको पुष्टि गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफको लगानीबाट प्राप्त आम्दानी ३५.३ प्रतिशतले बृद्धि भएको छ । सो कम्पनीले तीन अर्ब ९९ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले तीन अर्ब छ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । संस्थानको यस्तो आम्दानी २४.६ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै प्राइम लाइफको आम्दानी १६.४ प्रतिशतले बृद्धि भई एक अर्ब ८७ करोड ३२ लाख ६३ हजार पुगेको छ ।

सूर्या लाइफले गत आवमा एक अर्ब २५ करोड ६० लाख रुपैयाँ कमाउन सफल भएको छ भने गुराँस लाइफले एक अर्ब २४ करोड ७७ लाख रुपैयाँ कमाउन सफल भएको छ । त्यस्तै, युनियन लाइफले ९८ करोड, ज्योति लाइफले ७२ करोड, सिटिजन लाइफले ७० करोड, आइएमई लाइफले ५१ करोड, रिलायन्स लाइफले ४९ करोड, रिलायबल नेपाल लाइफले ४८ करोड, सन नेपाल लाइफले ४१ करोड, प्रभु लाइफले ३८ करोड, सानिमा लाइफले ३७ करोड र महालक्ष्मी लाइफले २९ करोड रुपैयाँ कमाउन सफल भएका छन् ।

लगानीबाट प्राप्त आम्दानी प्रभु लाइफको १४.७ प्रतिशतले घटेको छ । बैंकको ब्याज बृद्धि भएको बेलामा समेत आम्दानी गुमाउने प्रभु लाइफ एक मात्र कम्पनी हो । त्यस्तै एशियन लाइफको सबैभन्दा धेरै बृद्धि भएको छ भने बृद्धि हुने दोस्रो कम्पनीमा सानिमा लाइफ ७२.४ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*