१९ कम्पनीको जीवन बीमा कोषमा चार खर्ब ६५ अर्ब संचिती, नेपाल लाइफ पहिलो, सिटिजन लाइफको उत्कृष्ट बृद्धि

१ भाद्र २०७९, बुधबार १२:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिज हो जीवन बीमा कोष । जीवन बीमा कोष जति धेरै बलियो हुन्छ त्यति नै कम्पनी बलियो छ भन्ने अर्थमा बुझ्दा सामान्यतया फरक पर्दैन । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको ढुकुटीमा जीवन बीमा कोष बापत चार खर्ब ६५ अर्ब नौ करोड ६० लाख ८९ हजार ९४९ रुपैयाँ संचिती रहेको छ ।

गत असार मसान्तसम्म कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार १९ जीवन बीमा कम्पनीहरुको समग्र कोषको आकार २२.३ प्रतिशतले बृद्धि भएको छ । २०७८ असार मसान्तसम्मा नेपाली बीमा कम्पनीहरुको खातामा तीन खर्ब ८० अर्ब २० करोड १८ लाख ७८ हजार ६७० रुपैयाँ संचिती रहेको थियो । यति धेरै बचत बापत सर्वसाधारणले जम्मा गरेको रकम रहने भएकोले जीवन बीमा क्षेत्रलाई देशको अर्थतन्त्रको ब्याकबोनको रुपमा हेरिन्छ । जीवन बीमा कोष कुनै पनि देशका लागि पुँजि निर्माणको उच्चतम माध्यम समेत हो । नेपालको जीवन बीमा कोष देशको कूल राजश्वको आधा हिस्सा ओगट्न सफल भएको छ ।

जीवन बीमा कोषमा बृद्धि हुनुलाई सबैभन्दा ठूलो फड्को मानिन्छ । सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफसँग एक खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ जीवन बीमा कोष रहेको । यही जीवन बीमा कोषकै आधारमा नेपाल लाइफ देशकै सबैभन्दा ठूलो कम्पनी भनेर भनिएको हो ।

दोस्रो नम्वरमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीको ९३ अर्ब ६३ करोडभन्दा बढिको जीवन बीमा कोष रहेको छ । एलआईसी नेपाल अब छिट्टै खर्ब क्लवमा उक्लिनेछ भनेर विश्वास गर्न सकिन्छ ।

त्यस्तै अर्को ठूलो जीवन बीमा कोष बनाउने कम्पनी नेशनल लाइफ हो । सो कम्पनीले ५१ अर्ब १५ करोड ५३ लाखभन्दा ठूलो जीवन बीमा कोष रहेको छ । त्यस्तै, राष्ट्रिय बीमा संस्थानको ३७ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेकोछ । त्यस्तै, एशियन लाइफको जीवन बीमा कोषमा ३२ अर्ब रुपैयाँ छ भने मेट लाइफको जीवन बीमा कोषमा २० अर्ब ४४ करोड रुपैयाँ संचिती रहेको छ ।

त्यस्तै, प्राइम लाइफसँग १८ अर्बको जीवन बीमा कोष छ भने सूर्या लाइफसँग १४ अर्ब, गुराँस लाइफसँग १२ अर्ब, युनियन लाइफसँग ११ अर्ब, ज्योति लाइफसँग ६ अर्ब ३४ करोड, सिटिजन लाइफसँग ५ अर्ब ८१ करोड रुपैयाँ जीवन कोषमा संचिती रहेको छ ।

आईएमई लाइफको जीवन बीमा कोषमा चार अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफको ४ अर्ब ६० करोड, रिलायन्स लाइफले तीन अर्ब ५१ करोड, सन नेपाल लाइफले ३ अर्ब ५१ करोड, सानिमा लाइफले तीन अर्ब ३४ करोड, प्रभु लाइफले तीन अर्ब तीन करोड र महालक्ष्मी लाइफले दुई अर्ब १२ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेको छ ।

गत आवमा जीवन बीमा कोषमा बद्धि गर्नेको आधारमा सिटिजन लाइफ सबैभन्दा पहिलो कम्पनी बन्न सफल भएको छ । सिटिजन लाइफको जीवन बीमा कोष १२३.५ प्रतिशतले बृद्धि भएको छ । बृद्धिका आधारमा दोस्रो नम्वरमा रिलायबल नेपाल लाइफ रहेको छ । सो कम्पनीको जीवन बीमा कोष ७८ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा कम मेटलाइफको ९ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*