प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन र मुनाफा घट्यो, अन्य सूचक समेत खस्किदै

३० श्रावण २०७९, सोमबार १०:१५

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले सो अवधिसम्म बीमा कोषको आकार बढाउन सफल भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म प्रिमियर इन्स्योरेन्सले बीमा कोषको आकार १९.७२ प्रतिशतले बढाएर कोषमा १ अर्ब २ करोड ६ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ८५ करोड २५ लाख रुपैयाँ मात्रै कोषमा संचित गरेको थियो ।
बीमा ब्यवसायमा सुधार गर्दै प्रिमियर इन्स्योरेन्सले चौथो त्रैमाससम्म २ अर्ब १० करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १०.४० प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले १ अर्ब ९१ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्म कम्पनीको लगानी, कर्जा अन्यबाट हुने आम्दानी घट्न पुगेको छ भने व्यवस्थापन खर्च बढ्न पुगेको छ । यसले गर्दा कम्पनीको नाफा प्रभावित बन्न पुगेको छ । समिक्षा अवधिसम्म कम्पनीको यस्तो आम्दानी २६.६६ प्रतिशतले घटेर २२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ भने व्यवस्थापन खर्च ४६.०५ प्रतिशत बढेर ३५ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

खर्च बढेसँगै इन्स्योरेन्सको खुद नाफा यस अवधिसम्म २.८१ प्रतिशतले घटेर ३६ करोड ४ लाख ७० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवको यसै अवधिसम्ममा कम्पनीले ३७ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सो अवधिसम्म कम्पनीको जगेडा कोषको आकार २.८३ प्रतिशतले घटेको छ भने महाविपत्ती कोषको आकार ३७.६२ प्रतिशत बढेको छ ।

त्यस्तै, सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ६.२१ प्रतिशत घटेर ७१ करोड ४३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको हालसम्म जारी बीमा पोलिसी संख्या भने २.८१ प्रतिशत बढेर १ लाख ५६ हजार ७३५ पुगेको छ । यस अवधिसम्म इन्योरेन्सको खुद दाबी भुक्तानी पनि सामान्य बढेको छ । अघिल्लो आवको यस अवधिसम्म ४३ करोड ६६ लाख रुपैयाँ रहेको खुद दाबी भुक्तानी शुन्य दशमलव ९३ प्रतिशतले बढेर ४४ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी १४.२५ प्रतिशत बढेर १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) २३ रुपैयाँ ८६ पैसा र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ६०९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*