सर्जन विकका हत्याराले बनाएका थिए अर्को व्यक्ति मार्ने योजना, सिआईबीले बनायो असफल

२४ श्रावण २०७९, मंगलवार १७:४२

काठमाडौं । सर्जन बिकको हत्यामा संलग्न अभियुक्तहरुले अर्का व्यक्तिको पनि हत्या गरेर बीमा दावी भुक्तानी लिने योजना बनाएको खुलेको छ ।

बाँके कोहलपुरका सञ्जीव अर्यालले बीमा ठगी प्रकरणमा योजनावद्ध ढगंबाट बीमितको हत्या गराई अर्को घटना पनि गराउन प्रक्रिया सुरु गरिसकेको र सो घटनाबारे सूचना पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले असफल पारिदिएको खुलेको छ । सर्जन बिक घटनाका मुख्य योजनाकार संजिवले यसअघिका अभिकर्ता सरदार अहमद खाँमार्फत बीमा गराई हत्या गर्ने योजना बनाएको भेटिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख एआईजी मनोज सुवेदीले सर्जन बिकको हत्यामा संलग्न अभियुक्तहरुले दोस्रो व्यक्तिको हत्या गर्ने योजना अघि बढाइसकेको पुष्टि गरेका छन् । मुख्य अभियुक्त अर्यालले सर्जन बिक हत्याकाण्ड झै दोस्रो व्यक्तिको पनि बीमा गरी हत्या गराएर दुई करोडभन्दा बढी दावी भुक्तानी लिन योजना अघि बढेको तथ्य खुलेको छ ।

सर्जन विकलाई सपना मल्लसँग अस्ट्रेलियामा डिपेन्डेन्ट भिषामा पठाउने प्रलोभन बीमा गरी विवाह गराई हत्या गरी साढे दुई करोड रुपैयाँ बीमा कम्पनीबाट बुझिसकेको एक वर्षपछि हत्या भएको तथ्य उजागर भएको थियो । प्रहरीले सो हत्याकाण्डको अनुसन्धानको भईरहेको र हाल बयान लिने क्रममा अर्को पनि घटनाको बन्दै गरेको पर्दाफास मात्रै भएन अर्का निर्दोष व्यक्तिको ज्यान समेत जोगिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सञ्जीवसहित उनको समूहलाई पक्राउ गरेपछि प्रहरीले गरेको अनुसन्धानमा त्यस्तै प्रकृतिको अर्को षड्यन्त्र पनि रचेको रहस्य खुलेको छ । पीडितले आफ्नो पनि सोही उद्देश्यले बीमा गर्ने र विदेश जाने प्रक्रिया अघि बढाएकोले आफ्नो पनि हत्या हुनसक्ने बयान प्रहरी समक्ष दिएका छन् ।

‘पक्राउ परेका सञ्जीवले अर्को पनि त्यस्तै आपराधिक योजना बनाएको अनुसन्धानले देखाएको छ,’ अनुसन्धानमासंलग्न प्रहरी अधिकारीले भने, ‘अनुसन्धान जारी छ । अनुसन्धानसँगै नयाँ तथ्य खुल्दै गएका छन् ।’ यसअघि सर्जन विकको हत्या प्रकरण जसरी नै योजना बुन्दै गरेको बयान दिने क्रममा खुलाको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–२ जोगीगाउँ घर भएका २५ वर्षीय चौधरी थरका व्यक्ति (नाम गोप्य) लाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा झन्डै डेढ महिना अघिमात्रै एक युवतीसँग कानुनी विवाद गरेको फेला परेको छ । विगतमा जस्तै विवाह पूर्व नै बीमा कम्पनीमा बीमा गर्ने प्रयास गरेपनि कम्पनीले नमानेपछि यस पटक पहिले अदालती विवाह गरेरै बीमा गर्ने प्रक्रिया अघि बढाएको देखिएको छ ।

बर्दिया घर भई कोहलपुरको एक मोटरसाइकल शोरुममा काम गर्दै आएका ति युवकसँग सञ्जीव एक वर्षदेखि नजिकिँदै विदेश पठाउने, त्यसअघि बीमा गरिदिने भन्दै कागजी विवाह गरेको खुलेको छ । उनले बीमा गराउने प्रयत्न गर्दा त्यहाँस्थित प्रायः कम्पनीहरुले नमानेपछि रोकिएको हुनसक्ने विश्वास गरिएको छ ।

उनले डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने अवसर आएको र त्यसका लागि नक्कली विवाह गर्नुपर्ने भन्दै पाल्पाकी एक अपरिचित युवतीसँग विवाह गराइसकेको खुलेको छ । अदालतबाटै विवाद सम्बन्ध कायम गरेर आएपनि चौधरीको आम्दानीको स्रोत खुल्ने कागजात नभएकोले बीमा कम्पनीहरुले बीमा गर्न नमानेको बुझिएको छ ।

विवाह गराएकी भनिएको युवतीसँग उनको चिनजान समेत नभएको ति युवकले प्रहरी समक्ष बताएका छन् । घटनाका योजनाकार संजिवले डिपेन्डेनमा विदेशी जाँदा हुने फाईदाको बारेमा विस्तृत जानकारी दिँदै सजिवले दुबैको डेढ महिनाअघि नै कानुनी रुपमा बिहे गराइदिएका थिए । हत्या गर्ने योजना बनाइएका चौधरीसँग विवाह गर्ने पाल्पा घर भएकी करिस्मा विश्वकर्मा भएको उनले प्रहरी समक्ष बताएका छन् । फोनमा एक दुई पटक कुरा भएपनि त्यसबाहेक आफूलाई कुनै कुरा थाहा नभएको चौधरीले अनुसन्धानकर्तालाई बताएका छन् ।

सञ्जीवकै योजनामा सवारी दुर्घटनामा हत्या गरिएका सर्जन र विवाह गरी रिलायन्स लाइफबाट साढे दुई करोड रुपैयाँ दावी भुक्तानी लिने सपना मल्लको फोटो र कागजात डकुमेन्ट देखाँउदै अस्ट्रेलिया पठाइसकेको जानकारी दिएर ति चौधरी थरका युवालाई प्रभावमा पारेको खुलेको छ । योजनाकार अर्यालले ति युवालाई सुनौलो अवसर हो भन्दै दिनदिनै भेट गर्ने गरेको र कागजी विवाह गरिसकेपछि अब बीमा गर्ने र विदेश लैजाने भन्ने गरेको पीडित युवाले प्रहरी समक्ष बताएका छन् । उनले बीमा गर्ने प्रयास गरेपनि ४५ दिनदेखिको प्रयास सफल नभएको पाइएको छ । उनी बीमा गर्न कुन कुन कम्पनीमा पुगेर ति कम्पनीहरुको अण्डरराईटिङले मानेन भन्ने कुरा खुल्न बाँकी छ । पीडित युवाका अनुसार अर्यालले बीमाको पहिलो किस्ता तिर्न रकम जम्मा गरेर बैंकमा राखिसकेको भन्दै बीमा गर्ने वातावरण बनाउँदै गरेकोले केही दिन पर्खन भनेका थिए ।

आफनो भविष्यप्रति यति धेरै चिन्ता जनाएको भन्दै चौधरीले पनि आफनो दुःख पीडा सबै सजिवलाई सुनाउँदै आएका थिए । डेढ करोडको बीमा गराएर सजिलै वैदेशिक रोजगारीको लागि सहज हुने भन्दै उनलाई फकाइरहेका थिए भने पीडित युवा पनि बीमा गर्न तयार भइसकेका थिए । सामान्य बाईक पसलमा काम गर्ने युवाले डेड करोडको बीमा गर्छु भन्दा कम्पनीले नपत्याउँदा उनको हत्यामा ढिलाई भएको हुनसक्ने विश्वास गरिएको छ ।

जब सर्जन बिक हत्याकाण्डबारे समाचार पत्रपत्रिका र अनलाईनमा देखे अनि पीडित युवा पनि प्रहरी कार्यालयमा पुगेर घटनाबारे विस्तृतमा बयान दिएसँगै सिआईबीले थप अनुसन्धान सुरु गरेको छ । साथै उनको जीवन जोगिन पुगेको छ । पीडित युवाले प्रथम बीमाशुल्क तिरी दिएबापत अष्ट्रेलिया पुगेपछि एउटा आईफोन उपहार पठाउनुपर्ने शर्त अघि सारेका थिए । उनले अष्ट्रेलिया पठाईदिन्छु भनेपनि खासमा प्रक्रिया सुरु गरेका थिए वा थिएनन् भन्ने खुल्न बाँकी छ ।

आफूमाथि भएका सबै कामहरु मारेर पैसाका लागि ठूलो षडयन्त्रको सिकार बन्दै गरेको थाहा पाएपछि पीडित चौधरीले आफू मृत्युको मुखबाट फर्किएको अनुभव गरेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*