युनिलिभर नेपालको खुद नाफा अर्ब नाघ्यो
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७४.१६ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ८६ करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले गत आवको अन्त्यसम्ममा आफ्ना उत्पादनहरु बिक्री गरेर ७ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८ प्रतिशतको वृद्धि हो । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको थियो । आम्दानी बढेसँगै कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो ।
कम्पनीले अन्यस्रोतबाट पनि १२ करोड २९ लाख आम्दानी गरेको छ । गत आवमा कम्पनीले कुल ७ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको व्यापार बढेसँगै कच्चापदार्थ लगायतको खपत पनि बढेको छ । गत आवमा कम्पनीले कच्चापदर्थामा ३ अर्ब ९७ करोड रुपैयाँ खचृ गरेको छ । अघिल्लो वर्ष यस्तै खर्च २ अर्ब ६९ करोड थियो । त्यस्तै कर्मचारी खर्च पनि ३८ करोड १३ लाखबाट बढेर ५१ करोड ८२ लाख पुगेको छ । कम्पनीले गत आवमा कुल ५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ भने ३ अर्ब ५३ करोड रुपैयाँ अवितरित मुनाफा छ । कम्पनीको प्रति सेयर नेटवर्थ पनि ३९४२ रुपैयाँ पुगेको छ ।