हिमालयन एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरु निराश, बढुवा रोकियो, कर्मचारीको तलव नबढ्ने चिन्तामा

१९ श्रावण २०७९, बिहीबार १४:३८

काठमाडौं । दुई बीमा कम्पनीहरु मर्जरपछि यसको प्रत्यक्ष असर कर्मचारी बृत्तमा पर्दछ । मालिकहरुको मन मिल्दा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी दुई वटा आपसमा त मर्जर गरे तर कर्मचारी मर्जर गर्न नसक्दा कम्पनीको भविष्यमाथि नै प्रश्न चिन्ह उठ्ने अवस्था आएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुलाई एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कर्मचारीहरुलाई कसरी मर्जरमा लैजाने हो भन्ने निर्णय गर्न बाँकी रहेको सो कम्पनीका एक अधिकारीले बीमापोष्टलाई जानकारी दिए ।

कम्पनी स्रोतका अनुसार हतार हतारमा एउटै कम्पनीबाट डिडिए गराई यही साउन १ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको भएपनि दुई कम्पनीमा कार्यरत कर्मचारीहरुलाई कसरी मर्जरमा लैजाने भन्नेबारे कुनै निर्णय गरेको छैन । कर्मचारीहरुले भने समयमा निर्णय नहुँदा कर्मचारीमा उत्साह नभएको, बढुवा रोकिएको तथा तलब बृद्धि समेत प्रभावित हुनसक्ने भन्दै चिन्ता फैलिएको गुनासो गरेका छन् ।आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बीमापोष्टको सम्पर्कमा आएका केही कर्मचारीहरुले नेपाल सरकारले बृद्धि गरेको तलव समेत पाउने नपाउने कुनै निश्चित नभएको गुनासो गरेका छन् ।

 

दुई कम्पनी मर्जरमा गएपछि यस पटक कर्मचारीहरुको बढुवा नहुने भन्ने हल्ला देशैभरि भएकोले पनि कर्मचारीहरुले टार्गेट लिँदा बढि लिन मानेका छैनन् । दुई कम्पनी मध्ये हिमालयन जनरलको तुलनामा एभरेष्ट इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुको तलव सुविधा बढि छ । बीमा समितिले कुनै पनि कर्मचारीहरुको तलव सुविधा घटाउन नपाउने व्यवस्था गरेकोले बढी तलव पाउने एभरेष्ट इन्स्योरेन्स कम्पनीकै स्केलमा तलव खुवाउनुपर्नेछ । यसो गर्दा एभरेष्ट इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुको तलव सुविधामा कुनै बृद्धि हुने छैन ।

कम्पनीले दुवै तर्फका युनियनसहितका टोली बनाएर मर्जर गर्ने भने पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढाइएको एक युनियनका नेताले बीमापोष्टलाई जानकारी दिए । यसअघि एभरेष्ट इन्स्योरेन्स कम्पनीले कर्मचारी मर्जरमा संयुक्त कमिटी बनाउन माग गर्दै बक्तव्य नै निकालेर आह्वान गरेको थियो । बीमा क्षेत्रमा पहिलो मर्जर भनेर तामझामसहित मर्जर गरेर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका कर्मचारीहरु निराश हुन थालेपछि पहिलो मर्जरमाथि प्रश्न चिन्ह उठ्ने अवस्था सिर्जना भएको छ । कर्मचारी समायोजनमा भएको ढिलाई र यसले कर्मचारीमा वृत्ति विकासमा पार्ने प्रभाव सम्बन्धमा कम्पनीका सूचना अधिकारी ध्रुव न्यौपानेले केही बताउन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*