जीवन बीमामा संख्यात्मक प्रतिस्पर्धा भयो, अब गुणात्मकतामा केन्द्रित गराउँछौंः अध्यक्ष सिलवाल

१८ श्रावण २०७९, बुधबार १२:३१

काठमाडौं । सङ्ख्यात्मक बीमा पोलिसीको कारण बीमा क्षेत्रमा समस्या देखिएको बीमा ठगी प्रकरण बढ्दै गईरहेको बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।जीवन बीमा क्षेत्रमा भएका ठगी प्रकरणमा बीमा पोलिसीको सङ्ख्या मात्रै बढाउने काम जीवन बीमा कम्पनीहरुमा भएको कारण यसलाई कसरी रोक्न सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको उनले बताए । अध्यक्ष सिलवालले संख्यात्मकतामा प्रतिस्पर्धा हुँदा समस्या आएको हो कि भन्ने कोणबाट सुक्ष्म विश्लेषण सुरु गरिएको जनाउँदै आगामी दिनमा गुणस्तरीय बीमा सेवामा केन्द्रित गरिने जनाएका छन् ।

सङ्ख्यात्मक बीमा पोलिसी घटाउँदा आधा भन्दा बढी बीमा प्रिमियम घट्ने देखिन्छ । एक बर्ष बीमा पोलिसी घटेपनि बीमा ठगी प्रकरण रोकिन्छ भने किन नगर्ने भन्ने बिषयमा छलफल भईरहेको र त्यसै अनुरुप आगामी दिनमा बीमा कम्पनीहरुलाई नियमन गर्ने तयारी भइरहेको उनले बताए । सरकारले पछिल्ला वर्षहरुमा बजेटमै बीमाको पहुँच उच्च दरले बृद्धि गर्ने लक्ष्य राखेको कारण पनि बीमा कम्पनीहरु संख्यात्मक बीमामा जोड दिन प्रोत्साहन गरिएको थियो । अबका दिनमा गुणस्तरीय बीमामा जोड दिनुपर्ने अध्यक्ष सिलवालको बुझाई छ ।

बाँके कोहलपुरका सर्जन बिकको बीमा दावी भुक्तानी लिने उद्देश्यले हत्या गरिएको विषयसँगै बीमा जगत संवेदनशिल भएकोले छानविन पश्चात ठोस निर्णय गरिने बताए । सो प्रकरणका अनुसन्धानको लागि कम्पनीबाट सबै विवरण आईसकेको छ। समितिको निर्देशन बमोजिम २४ घण्टाभित्रै उक्त विवरणहरु समितिमा पेश गरिसकेको हुँदा छानविनमा लाग्ने बीमा समितिको भनाई छ ।
‘जीवन बीमा कम्पनीहरुको प्रतिस्पर्धा प्रिमियम संकलन कसरी गर्ने भन्नेमा मात्रै केन्द्रित भयो । जसरी हुन्छ प्रिमियम देखाउने र सफलताको मापन समेत त्यसैलाई मान्न थालियो । त्यसले अस्वस्थ प्रतिस्पर्धा बढायो । अस्वस्थ प्रतिस्पर्धाको कारण पनि यस्तो समस्या देखिएको हो’ अध्यक्ष सिलवालले भने ।

‘हामीले अहिले प्रिमियमलाई मात्र फोकस गरेर जाने हो भने त्यसले बजारमा यस्ता खालको बढाउने खतरा बढेको छ । बीमा क्षेत्रमा प्रिमियम संकलनदेखि लिएर बीमा योजनासम्ममा पनि जोखिम छ । यसलाई केही हदसम्म व्यवस्थित गरेर अगाडि बढेमा व्यवस्थित हुने देखिन्छ,’ अध्यक्ष सिलवाल भन्छन् ।

‘कम्पनीबाट आवश्यक विस्तृत विवरण झिकाइएको छ, अध्ययन हुन्छ, कानुनी प्रकृया अनुसार नै अध्ययन गरेर कमी कमजोरी पत्ता लगाउँछौं र थप निर्णय गर्छौं,’ उनले सर्जन बिक प्रकरणमा अगाडि भने ।
यससँगै अब समितिका नियमन विभागले उक्त विषयमा थप अध्ययन गर्नेछ ।

ठगी प्रकरणमा सामेल भएर अपराधिक घटना सहयोग गर्ने मतियारको रुपमा कसैले कम्पनीको तर्फबाट काम गरेको देखिएमा जोसुकैलाई आवश्यक कारवाही हुने उनले बताए । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साउन १६ गते बीमा समितिलाई बुझाएको सम्पूर्ण डकुमेन्टलाई (एकमुष्ट रुपमा ‘पोलिसी डकेट’) को अहिले विस्तृत अध्ययन भइरहेको अध्यक्ष सिलवालले बताए ।

पोलिसी जारी गर्दा बुझाएको डकुमेन्ट, अण्डराइटिङ् गरेको डकुमेन्ट, बीमितको आयश्रोत लगायतको सबै विवरणहरु अध्ययन गरेर निर्णय गरिने बीमा समितिका अध्यक्ष सिलवालले जानकारी गराएका छन् ।
बीमा अभिकर्ताहरुको सिलिङलाई पनि बाधेर लाने कि भन्ने बिषयमा जीवन बीमा संघको राय आएपछि छलफल हुने बताएका छन् । अध्यक्ष सिलवालका अनुसार अण्डरराइटिङमा देखिएको समस्या समाधान गर्नको लागी नियामकको तर्फबाट बीमा कम्पनीहरुलाई कसरी नियमन र निर्देशन गर्नुपर्छ भन्नेबारे स्वयम् सिइओहरुबाट नै सुझाव माग गरिएको जानकारी दिएका छन् । तर, बीमाको पहुँच विस्तार गर्न बाधा नहुने र व्यवहारिक निर्देशन जारी गर्न बीमा समिति प्रतिबद्ध रहेको उनले बताए ।

उता, बीमा कम्पनीहरुले पनि पर्याप्त छलफल गरेर मात्रै नयाँ निर्देशन जारी हुनुपर्ने एकाध घटनालाई प्रधान बनाएर बीमाको सिष्टममा दायाबायाँ गर्दा समग्र बीमा व्यवसाय खलबलिन सक्नेतर्फ सचेत हुनुपर्ने सुझाव दिएका छन् । त्यसैको लागि बीमा समितिले सबै जीवन बीमा कम्पनीहरुसँग छलफल गर्दैछ ।

आगामी साता जीवन बीमा कम्पनीहरुको सिईओहरुले यसै बिषयमा एक कार्यक्रम आयोजना गरि बीमा समितिसँग पुनः छलफलमा बस्ने तयारी गरिरहेको जीवन बीमक संघका अध्यक्ष एवं मेट लाइफ एलिकोका सिईओ निर्मलकाजी श्रेष्ठले बताए । जीवन बीमक संघले पनि यस्ता घटनाबाट बच्न जीवन बीमा कम्पनीहरुले गनुपर्ने राय बीमा समितिलाई दिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*