भुकम्पले खास क्षति भएको छैन, आत्तिनुपर्दैनः खोटाङका स्थानीय जनप्रतिनिधि

१५ श्रावण २०७९, आईतवार ०९:५७

काठमाडौं । आज विहानै गएको शक्तिशाली भुकम्पले खासै क्षति नभएको खोटाङका स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् । बीमापोष्टसँग कुराकानी गर्दै हलेसी वाचुङ नगरपालिकाकी मेयर बिमला राईले कुनै पनि घरहरु नभत्किएको र मानिसहरु कसैलाई पनि केही नभएको जनाएकी छिन् । सो नगरपालिका भुकम्पको केन्द्रबिन्दु भएको मात्तिम नजिकै पर्दछ ।

त्यस्तै भुकम्पको केन्द्रबिन्दु भएकै गाउँ सकेला गाउँपालिका पनि खासै क्षति नभएको केही घरहरु चर्किएको जानकारी प्राप्त भएको छ । साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले हालसम्म पनि क्षतिको विवरण प्राप्त नभएको बताए । उनले केही घरहरु चर्केको खवर आएको छ । थप क्षति भएको कुनै खवर आएको छैन । भुकम्प गएपछि पनि सो क्षेत्रमा विद्युत तथा टेलिफोन सुचारु रहेकोले सञ्चार सम्पर्कमा समस्या नरहेको अध्यक्ष राईले बताए ।

भुकम्पको केन्द्रबिन्दु रहेको साकेला गाउँपालिका वडा नं ५ मात्तिम बिर्तामा मा एक वटा घर भत्किएको र अन्य केही घरहरु चर्किएको सो वडाका अध्यक्ष जीवन खत्रीले बीमापोष्टलाई जानकारी दिए । उनका अनुसार मानिसहरु कसैलाई पनि क्षति पुगेको छैन ।

त्यस्तै छिमेकी वडा ४ का वडा अध्यक्ष अर्जुन कुमार कटुवालले पनि भुकम्पले खासै क्षति नभएको जनाएका छन् । साकेला गाउँपालिकाभित्र ठूलो क्षति नभएको स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् । भुकम्पले खोटाङको दित्तेलसम्म बेस्सरी हल्लाए पनि खासै क्षति नभएको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।

चीन, नेपाल र भारतसम्म तीन देश हल्लाएको भुकम्पले राजधानी काठमाडौंसमेतलाई प्रभावित बनाएपछि चारैतिर त्रास फैलिइरहेको बेला भुकम्पको केन्द्रबिन्दुमा नै खासै क्षति नभएको खवर आएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*