सर्जन बिक प्रकरणमा अदालत र प्रशासन समेत चुक्यो, जीवन बीमालाई हतोत्साहित बनाउने दुस्प्रयास नगरौं

रिना खत्री
१४ श्रावण २०७९, शनिबार १७:५४

काठमाडौं । गत वर्ष साउन १३ गते हस्तान्तरण गरेको साढे दुई करोड रुपैयाँको दावी भुक्तानी हिजो साउन १३ गते बिग फ्रड प्रमाणित भएको छ ।२०७८ बैशाख २ गते राति ११ बजे सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर निवासी २१ बर्षिय सर्जन बिकको मृत्यु भएको घटना र मृत्यु बीमा कम्पनीबाट साढे दुई करोड रुपैयाँ दावी भुक्तानी बापत बुझिलिएको रकमबारे अहिले आएर नयाँ खुलासा भएको छ । एक बर्षपछि नेपाल पुनर्बीमा कम्पनीको आंशकाको कारण प्रहरीले घटनाक्रम कोलाँउदा योजनावद्ध ढंगबाट बीमा गराईएको फेला परेको हो ।

नेपाल प्रहरीद्धारा घट्नामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान सुरु भएको छ । उल्लेखित घट्नाले शुक्रबार रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्ने कर्मचारीदेखि सञ्चालकहरुरु समेत स्तब्ध बन्न पुगेका छन् । रिलायन्स लाइफमा काम गर्ने कर्मचारी र अभिकर्ता मात्रै नभई सबै बीमा कम्पनीहरुमा कार्यरत कर्मचारी तथा अभिकर्ताहरु स्तब्ध बन्न पुगेका छन् । जीवन बीमा पेशा र व्यवसाय माथि धक्का पुग्ने कामले सिंगो बीमा क्षेत्रको भविष्य जोखिममा परेको छ । बीमा व्यवसाय कम्पनीले नेपालको प्रचलित कानुन बमोजिम बीमा समितिले तोकेका समयाअवधीभित्र दावी भुक्तानी दिएको मात्रै हुँदा दावी भुक्तानी दिने रिलायन्स लाइफको मात्रै यसमा त्रुटी वा गल्ती औल्याइनु अर्को गल्ती हुनेछ ।

सामान्यतया बीमा दावी भुक्तानीमा सवारी दुर्घटनामा भएको मृत्युलाई शंकाको दृष्टिकोणबाट नहेरी सकेसम्म छिटो दावी भुक्तानी दिने प्रयत्न गरिन्छ । कारण, सवारी दुर्घटनामा कर्तव्य ज्यानको सम्भावना कम हुन्छ । बीमा समितिले पनि बीमितलाई दावी भुक्तानी दिन ढिलाई, वाहानाबाजी वा आलटाल नगर्नु भनेकै छ । त्यसैले कम्पनीले सवारी दुर्घटनामा गरेको बीमितलाई प्रहरीले कर्तव्य ज्यान नभएको र सवारी दुर्घटनामै मृत्यु भएको कागजी प्रमाणको आधारमा बीमा कम्पनीले दावी भुक्तानी दिएको देखिन्छ ।

समाजमा ऐन, कानुन र विधानहरु यस कारण बनाइएको हुन्छ कि कुनै अपराध नहोस् र भइहालेको खण्डमा त्यस्ता अपराधीलाई दण्डित गर्न सकियोस् । सर्जन बिक प्रकरणमा पनि त्यही भएको हो ।

डरलाग्दो कुरा चाही, बीमा मानिसको मृत्युको कारण बन्दैछ । सामाजिक, आर्थिक र आपराधिक मनोवृत्ति बीमा क्षेत्रमा पर्नु सिंगो बीमा जगतका लागि चासो र चिन्ताको विषय हो । सर्जन बिक प्रकरण रिलायन्स लाइफका लागि मात्रै नभई सबै बीमा कम्पनी र सिंगो बीमा जगतकै दुर्भाग्यपूर्ण बन्न पुगेको छ ।

अपराधी प्रायः सधैं एक कदम अगाडि हुन्छ भने कानुन र राज्य संयन्त्र पछि पछि लागिरहेको हुन्छ । सर्जन बिक प्रकरणमा यस्तो सुनियोजित योजना बनाए कि पीडितका परिवार, प्रहरी प्रशासन, राज्य संयन्त्र तथा बीमा कम्पनीहरु समेतलाई चक्मा दिन सफल भएका छन् । यस घटनाबाट हतोत्साहित बन्दै तत्कालै अत्तालिने भन्दा पनि योजनाबद्ध तरिकाले बीमालाई अपराधसँग जोडिन नदिन सबै सचेत र सजग बनाउन आवश्यक देखिन्छ ।

त्यसको लागि नियामक निकाय बीमा समितिले समय समयमा तालिम तथा प्रशिक्षणहरु दिन आवश्यक हुन्छ । अपराधीले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सजिलो हुन्छ भनेर छानेको होइन, बरु बीमा अभिकर्तासँगको निकटता, सम्बन्धका कारण मुछिएको हो, आज रिलायन्स लाइफलाई परेको छ, भोलि जोसुकै अर्को कम्पनी पर्न सक्छ, त्यसैले जीवन बीमा कम्पनीहरुले आगामी दिनमा यस्ता कुराहरुबाट पाठ सिक्दै शिक्षाको रुपमा सर्जन बिक प्रकरणलाई ग्रहण गर्नुपर्ने देखिन्छ ।

जीवन बीमा पीडितको मलहम हो । जीवन बीमा आश्रित परिवारको आशा र भरोसा अनि विश्वास हो । जीवन बीमा गरेकोमा अवस्थामा कुनै कारणबश मृत्यु भइहालेको खण्डमा आश्रित परिवारले आर्थिक रुपमा रक्षावरण पाउँछन् । र, त्यस्तो आर्थिक रक्षावरणमा अनावश्यक शंका, अनावश्यक सास्ती भोग्नु, भोग्न लगाउने कानुन बनाउनु जीवन बीमालाई नै हतोत्साहित गर्नेछ । त्यसैले यही एउटा घटनालाई अतिरञ्जित गर्दै जीवन बीमाको दावी भुक्तानी सबै गलत तरिकाले हुन्छ भनेर चित्रण गर्ने र सोही अनुसार बीमितमाथि वा बीमितका आश्रितमाथि व्यवहार गर्नु साँच्चै पीडामा परेकाहरुका लागि थप पीडादायी हुन सक्दछ । त्यसैले जीवन बीमालाई आश्रित परिवारको सम्मानजनक रक्षावरण र अपराधलाई अपराधको रुपमा बुझ्नु र बुझाउनुपर्दछ ।

अहिले बजारमा प्रवाह भइरहेको प्रतिक्रियाबाट सिंगो बीमा क्षेत्रमा अपराध नै अपराध भइरहेको, दावी भुक्तानी लिनेहरु सबै खराव हुन् भन्ने सन्देश प्रवाह गर्न खोज्नु अन्ततः जीवन बीमाको जरा काट्ने काम भइरहेको छ । बीमाबारेमा गलत खाले सन्देश प्रवाह हुँदा बजारमा खटिने सबै अभिकर्ताहरु खराव मनोवृत्तिका, अपराधिक मनोवृत्तिका हुन्छन् भन्ने अर्को गलत सन्देश प्रवाह भइरहेकोतर्फ सबै सचेत र सजग हुनु जरुरी छ ।

बीमा कम्पनी, अदालतदेखि परिवारका सदस्यसम्म चुकेको काण्ड

बीमा कम्पनी मात्रै होइन, अदालत, न्यायाधिश र प्रहरी प्रशासन समेत चुकेको एउटा सुनियोजित अपराध हो सर्जन बिक काण्ड । बीमा दावी भुक्तानी लिएकी सपना मल्ललाई कसैले पनि सर्जन बिककी श्रीमती होइन भनेर भन्न सकेन । दुर्घटनापूर्व नै उनीहरुले जिल्ला अदालतमा पुगेर कानुन बमोजिम कोर्ट म्यारिज गरेकोले उनीहरुको सम्बन्धमाथि शंका गर्ने ठाउँहरु थिएन ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको अण्डरराईटिङ विभागले हेर्न कागजातमा श्रीमतीको प्रमाणको रुपमा अदालतमा कोर्ट म्यारिट गरिएको कागजात पेश गरेकोले शंका गर्ने ठाउँ थिएन भने सवारी दुर्घटनामा मृत्यु भएको भन्ने प्रहरी प्रतिवेदन तथा दुर्घटना मुचुल्काले मृत्युलाई विश्वास नगर्ने आधारहरु थिएनन् ।

सर्जन बिकको समाज र परिवारले सपना मल्लको विवाह सम्बन्धी नाटकलाई चिन्न सकेन । उनको समाजले दलितसँग विवाह गर्नुलाई जातिय रुपमा उनले गरेको त्याग, बलिदानको रुपमा बुझ्यो वा अदालतमा पुगेर विवाह गरेर पनि मृतकसँग सँगै नबस्दा समेत सोधखोज गर्न सकेनन् ।

सायद समयमै घरपरिवारका सदस्यहरुले सोधखोज गरेको भए, सुटुक्क विवाह गर्न पुगेको जोडीलाई जिल्ला अदालतले उनका अभिभावकहरुलाई सोधखोज मात्रै गरेको भएपनि घटनाले अर्कै मोड लिनसक्ने थियो ।बीमा गरेको चार महिनामा सवारी दुर्घटनामा उनको निधन भयो । नियोजित रुपमा सवारी दुर्घटना गराएर हत्या गरेको घटनालाई प्रहरीले कर्तव्य ज्यानको रुपमा बुझ्न सकेन ।

परिवारका सदस्य, मृतककी श्रीमती भनिएकी व्यक्तिसँग प्रहरीले शंकाको दृष्टीले हेरे पनि प्रहरीले नियोजित रुपमा हत्या गरेको तथ्यबारे सुईकोसम्म पत्ता लगाउन सकेन । अपराध अनुसन्धानमा विश्वकै उत्कृष्ट मध्येमा पर्ने नेपालको प्रहरीले सर्जन बिकको दुर्घटनामा मृत्यु भएको ठहर गर्न बाध्य भयो ।प्रहरीको प्रतिवेदन, दुर्घटनामा मृत्यु भएको तथ्य र बीमा शुल्क भुक्तानी गरिसकेको अवस्थामा बीमा समितिको निर्देशन बमोजिम दावी भुक्तानी दिनैपर्ने बीमा नियमलाई रिलायन्स लाइफले चाहेर पनि रोक्न सक्ने अवस्था थिएन ।

त्यसैले, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भव्य कार्यक्रम नै गरेर सर्जन बिकसँग कोर्ट म्यारिज गरेकी श्रीमती सपना मल्ललाई साढे दुई करोड रुपैयाँ दावी भुक्तानी दिएको देखिन्छ ।

यस घटनामा रिलायन्स लाइफ नामक एउटा जीवन बीमा कम्पनी, कम्पनीमा कार्यरत कर्मचारीहरु मात्रै चुकेका छैनन्, सिंगो राज्य संयन्त्र, प्रहरी प्रशासन, सर्जन बिकको समाज र उनका परिवारका सदस्यहरु सबै चुकेका छन् । त्यसकारण सर्जन बिकको हत्या काण्डमा बीमामा आउनुपूर्व नै धेरै कामहरु नियोजित रुपमा न्यायालयबाट समेत भइसकेको देखिन्छ । न्यायालयका न्यायाधिशले विवाह दर्ता गर्नुपूर्व मृतकका आफन्तसँग सोधीखोजी किन गरेनन् ? अण्डरराईटिङ राम्रोसँग नगरेको भन्दै बीमा कम्पनीका कर्मचारीहरुमाथि प्रश्न उठेसँगै न्यायालयमा न्यायाधिशले विवाह दर्ता गर्दा किन केही सोधनन् ? साक्षीहरु को को हुन् ? भन्ने अर्को प्रश्न पनि उठेको छ । अष्ट्रेलियो जाने भन्दै विवाह गराएको कुराहरु आएको छ । त्यसो भए अष्ट्रेलिया जानको लागि दुवैले कुनै पहल गरे वा गरेनन् ? बीमाको दावी भुक्तानी लिन सुनियोजित हत्या भयो कि अष्ट्रेलिया जाने योजना असफल बनेपछि बीमा दावी भुक्तानी लिन हत्या गर्ने योजना बन्यो थप अनुसन्धानको विषय बनेको छ ।

उनको मृत्यु केवल बीमा कम्पनीको त्रुटी वा कमजोरीका कारण भएको होइन, विवाहको नाटक गर्ने, कोर्ट म्यारिज गराउने वकिल र न्यायाधिशदेखि उनको परिवारका सदस्य अनि बीमा गराउने अभिकर्ता र बीमा कम्पनी सबै उत्तिकै जिम्मेवार छन् ।

उनको आफ्नै परिवारले समेत सर्जन बिकसँग विवाह गरेकी सपना मल्लको अपराधिक मनोवृत्ति चिन्न नसक्नु पनि उनको मृत्यु पहिलो कारण हो । बाँकी हिस्सा तपसिलको भागमा पर्ने देखिन्छ ।अपराधलाई केवल अपराधको रुपमा चित्रण गर्नुपर्दछ । सर्जन बिकले जीवन गुमाए, परिवारकाका सदस्य गुमाए अनि जीवन बीमा क्षेत्रलाई एउटा दरिलो सबक सिकाएर धर्तीबाट विदा भएका छन् ।

हरेक बीमा कम्पनीहरुले आफ्ना बीमा अभिकर्तालाई दक्ष र क्षमतायुक्त बनाउन सक्नुपर्दछ । केवल कर्मचारीको दक्षताले मात्रै बीमा क्षेत्रका गलत काम रोक्न सकिदैन बीमा अभिकर्ताहरुलाई पनि सक्षम, असल बनाउनुको साथै बीमा अभिकर्तामा अझै जनचेतनाको फैलाउन आवश्यक छ भन्ने कुरा देखाएको छ । त्यो सबकलाई सबै बीमा कम्पनीहरुले गम्भिरतापूर्वक मनन् गर्नु र अनुसरण गर्नुपर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*