साढे २ करोड बीमा ठगीको काण्डमा अभिकर्ताको मिलोमतो ! अनुसन्धान गर्दै प्रहरी

१३ श्रावण २०७९, शुक्रबार २०:२२

काठमाडौं । साढे २ करोड रुपैयाँको लागि बीमितको हत्या गर्न अभिकर्ताले सहयोग गरेको प्रहरीको आशंका गरेको छ । अभिकर्तालाई जीवन बीमा कम्पनीको मेरुदण्डको रुपमा लिईन्छ । बीमितलाई बीमाबारे जानकारी दिने अभिकर्ताहरुमा यस्तो कार्य गर्दा सिंगो अभिकर्तामाथि प्रश्न उठेको छ ।

विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन्। सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ। गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा कम्पनीहरु बताँउछन् । कम्पनीमा सबै विवरण आएपछि भुक्तानीको प्रकृया अघि बढाईएको कम्पनीको सिईओ राकेश पोखरेल बताँउछन् । घटना अनुसन्धानको क्रममा रहेको कारण यस बिषयमा अहिले बोल्न नमिल्ने उनको धारणा रहेको छ ।

खासमा बीमा कम्पनीहरुले अण्डर राइटिङमा कडाइ नगर्दा परिवारकै सदस्यको हत्या गरेर पैसा कमाउने अपराधी नियत मौलाएको बीमाविज्ञहरुको धारणा रहेको पाईन्छ । बीमा समितिले यसै बिषयमा कडाई गर्नैपर्ने बेला आएको उनले भने । ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो ।

पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई प्रहरीले सार्वजनिक पनि गरेको छ । त्यस्तै, बीमा गराउने रिलायन्स लाइफका अभिकर्ता खाँको समेत संलगनता देखिएको प्रहरीले जनाएको छ।बीमा कम्पनीहरु बीचमा अरुको भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने होडबाजीमा बीमा गर्न खोज्दा यस्ता समस्या आउने गरेको पेशागत अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारी बताँउछन् ।उनले भने ‘आएको बिजनेसलाई किन छोड्ने? यो साल प्रिमियम तिरिहाल्यो अर्को साल तिर्न नसके उसैले सक्दैन भन्ने चलन बढेको छ।’

धेरै बीमा शुल्क संकलन गरे भनेर बजारमा चर्चा बटुल्नलाई मात्रै देखावटी रुपमा बीमा गरियो भने यस्ता खालका घटना बढेर जान्छ।। यस घटनामा बीमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको छ । दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ ।

आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको देखिन्छ । सर्जनको दुर्घटनामा मृत्यु भएको कुरासमेत सञ्जीवले नै सपनालाई बताएका थिए । घटनापछि उनी विदेश जाने योजनामै थिइन् । गत साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको हो । सपनाविरुद्ध मृतकसँग विवाह गरी बिमाबाट २ करोड ५० लाख लिएको कसुरविरुद्ध मुद्दा चलाइने भएको छ ।

त्यस्तै स्याङ्जाका सञ्जीवविरुद्ध प्रतिवादी सपना मल्ललाई प्रलोभनमा पारी मृतक सर्जनसँग विवाह गराएको र बिमाबापत ८० लाख रुपैयाँ लिएको कसुरमा मुद्दा चलाइने भएको छ । सबै आपराधिक लाभ हुने गरी सहभागी भएको आधारमा घटनाको मुख्य योजनाकार उनी नै भएको देखिन्छ ।

त्यस्तै मिनीबस चालक टोपबहादुर भने सपनालाई विदेश लाने एजेन्ट चिनाइदिएको र ठक्करपछि घाइते भएका सर्जनलाई अस्पताल नलगी फरार भएको देखिन्छ । वारदातको समय(राति ११ बजे) उनले बस लिएर जानुपर्ने कुनै स्पष्ट आधारसमेत नदेखिएको पनि सीआईबीले जनाएको छ ।

त्यस्तै दीपक केसीले सपनालाई बीमा रकम भुक्तानी लिन सपनालाई काठमाडौं आउन सघाएको र सपनाले पाएकोमध्ये ८० लाख रुपैयाँ लिएका थिए । उनीविरुद्ध पुरानो कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएकोसमेत अभियोग लागेको छ । ललिता सापकोटाले भने बिहे गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर सपनालाई सञ्जीवसँग चिनजान गराएकी थिइन् । उनी सञ्जीवको प्रेमिकासमेत भएको खुलेको छ । त्यस्तै बीमा अभिकर्ता खाँ पनि घटनामा संलग्न भएको देखिएको सीआईबीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*