शिखर इन्स्योरेन्सद्धारा मौसम सूचकाङ्कमा आधारित बाढी बीमा सुरु

१३ श्रावण २०७९, शुक्रबार १३:५५

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले मौसम सूचकाङ्कमा आधारित बाढी बीमा सुरु गरेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई थप सेवा सुविधा दिने हेतुले कर्णाली क्षेत्रमा उक्त बीमा सुरु गरेको हो ।

वर्षातको समयमा नदीको सतह बढेर, धान बालीमा क्षति भएको अवस्थामा बीमा गरेका कृषकले अब पूर्व निर्धारित मापदण्ड अनुसारको क्षतिपूर्ति पाउने भएकोले कृषकले बाढीबाट धान उत्पादनमा हुने क्षतिको चिन्ता गर्नु नपर्ने भएको छ ।

धानबाली लगाएको समयमा नदीमा बाढी आउँदा नदीको सतह निर्धारित स्तर भन्दा बढी भएमा यस बीमा अन्तर्गत दाबी भुक्तानी पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको लागि जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कैलाली जिल्ला, चिसापानी स्थित नदीको जलमापदन केन्द्र, २८० को जलस्तरको तथ्याङ्कको आधारमा बीमाबाट क्षतिपूर्ति प्रदान गरिनेछ ।

त्यस्तै, कर्णाली नदीको जलस्तर बाढीको कारणले बढेर, जेठ कात्तिक १४ गतेसम्म चिसापानी स्थित जमापन केन्द्र अनुसार १०.८० मिटर भन्दा बढी भएमा यस बीमा अन्तर्गत बीमा गरेका कृषकले दाबी प्राप्त गर्नेछन् । नदीको स्तर बढ्दै गएमा दाबीको मात्रा बढ्दै जान्छ र चिसापानी स्थित नदीको जलमापन केन्द्र अनुसारको नदीको स्तर १४.८१ मिटरभन्दा बढी भएमा बीमाङ्क रकमको शत प्रतिशत दाबी भुुक्तानी हुनेछ ।

यो बीमा सामुहिक बीमाको अवधारणामा संचालन गरिने भएकोले दाबी भुक्तानी सहज र पारदर्शी हुनेछ । साथै दाबी भुक्तानी सहकारीमार्फत प्रदान गरिने हुनाले दाबी प्रक्रियामा बीमित कृषकको लागि सहज हुनेछ । जसमा सहकारी संस्थाबाट बीमित कृषकको खातामा दाबी रकम जम्मा हुनेछ ।

यो बीमाको लागि बीमाशुल्क ७ प्रतिशत अर्थात् १ लाखको धानबाली (उत्पादन मूल्यको बीमाशुल्क ७ हजार रुपैयाँ र बीमित कृषकको व्यक्तिगत दुर्घटना बापत ५० रुपैयाँ तिनुपर्नेछ । साथै बीमित कृषकको दुर्घटनाबाट मृत्यु भएमा सोही बीमावापत २ लाख रुपैयाँ नजिकको हकदारलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

उक्त बाढी बीमा गर्नका लागि शिखर इन्स्योरेन्सको जुनसुकै शाखा कार्यालयबाट बीमा गराउन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*