स्वास्थ्य बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

७ श्रावण २०७९, शनिबार १३:५९

काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकले स्वास्थ्य बीमा गरिसकेपछि सहज र सरलरुपमा भुक्तानी पाउनुपर्ने भन्दै त्यसो नभएको पाइएमा त्यो त्रुटी भए सच्याउन सरकार तयार रहेको जानकारी गराए । उनले स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खापुङले हाल नेपालमा कोरोना खोपको अभाव नरहेको जानकारी दिए । उनले खोप कार्यक्रम सञ्चानल गर्न स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्ने बताए ।

मन्त्रालयका सचिव डा। रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढेको जानकारी गराए । यो महिनादेखि कोभिडको समयमा करारमा नियुक्त गरिएका कर्मचारीको करार नवीकरण नगरिएको उनले बताए । उनले भने ‘कोरोना संक्रमण दर उकालो लाग्दै गयो भने व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको छ ।’

शहीद गंगालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारीले अस्पतालले प्रौढ उमेरका बिरामी दैनिक आठ जनाको शल्यक्रिया गर्दै आएकामा हाल दैनिक आकस्मिक तीन जनासम्मको शल्यक्रिया गर्ने गरेको अस्पतालले जनाएको छ ।

बैठकमा सांसद गिरीराजमणी पोखरेल, योगेश भटटराई, सरिता न्यौपाने, अन्जना विसुङ्खे, सुरेन्द्र यादव र नविना लामाले स्वास्थ्यजन्य सामानको खरिद झन्झटिलो रहेको भन्दै सार्वजनिक खरिद ऐनलाई संशोधन गरिनुपर्ने बताएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*