अर्थ मन्त्रालयको सिसीटिभी फुटेज रिकभर गर्ने विशेष समितिको निर्णय, हार्डडिस्क प्रहरीमा पठाइयो

३ श्रावण २०७९, मंगलवार २१:०३

काठमाडौं । अर्थ मन्त्रालयको मेटिएको सिसीटिभी फुटेज रिकभर गरेर यथार्थ पत्ता लगाउने संसदीय समितिले निर्णय गरेको छ । संसदीय छानविन विशेष समितिले आज अर्थमन्त्रालयमा मेटिएको हार्डडिस्क रिकभर गर्ने निर्णय गरेरै हेर्ने निर्णय गरेको हो ।

बजेट बनाउँदाका बखत गत जेठ १४ गतेदेखि जेठ १५ गतेसम्म अर्थमन्त्रालयमा बजेट बनाउँदा बाहिरिएको सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले अर्थमन्त्रालयमा रहेको सिसी टिभी क्यामेराको फुटेज रिकभर गर्न नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । यससँगै अब अर्थमन्त्रालयमा जेठ १४ गते को आएको थियो भन्ने कुरा दुधको दुध पानीको पानी हुने सम्भावना छ । यद्यपि अर्थमन्त्रालयमा हार्ड डिस्क नै साटिएको आशंका समेत गरिएकोले अझै शंका भने बाँकी नै छ ।

तत्कालिन अर्थ मन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय समितिले मन्त्रालयमा राखिएको सिसिटीभीको हार्डडिक्स अनुसन्धानका लागि नेपाल प्रहरीको फरेन्सीक ल्याबमा पठाउने भएको हो । जेठ १४ गते रातिको सीसीटीभी फुटेज नभेटिएपछि हार्डडिक्स नै पठाउन लागिएको स्रोतले बतायो ।

संसदीय छानविन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका बेला अबैध व्यक्ति अर्थमन्त्रालयमा घुसपैठ गराएको बारे छानविन जारी राखेको छ । समितिका सदस्य उध्रित गर्दै नेपाल प्रेसले आज प्रकाशित गरेको समाचारमा भनिएको छ ‘अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज आएन । अब सीसीटीभीमा प्रयोग भएको हार्डडिस्क नै नेपाल प्रहरीको ल्याबमा पठाउँदैछौं । यदि हार्ड डिस्क नै परिवर्तन गरिएको भए त्यहाँबाट पत्ता लाग्छ ।’

विशेष समितिले अर्थमन्त्रालयको सिसी क्यामेराको दृष्य मेटिएको फुटेज कसरी रिकभर गर्ने भनेर प्रहरीको साइबर ब्यूरो र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँग सुझाव लिएकोमा प्रहरीको फरेन्सिक ल्याब सबैभन्दा उत्तम स्थान भएको सुझावका आधारमा आज उक्त निर्र्णय गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*