हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट सुरु हुँदै

१ श्रावण २०७९, आईतवार ०५:०५

काठमाडौं । नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर प्रक्रिया आज सम्पन्न हुँदैछ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मर्ज भई बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आज हुँदैछ ।

भोलि अर्थात साउन १ गते विहान ९ः३० बजे काठमाडौंको दरवारमार्गस्थित याक एण्ड यति होटलमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, मुख्य सञ्चालकहरु एनसिई ग्रुप तथा राजेन्द्र खेतानसहितका उद्योगी व्यवसायीहरु, दुवै कम्पनीका सञ्चालक तथा कर्मचारीहरुको उपस्थितिमा एकीकृत कारोबार सुरु हुनेछ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा भई बीमा समितिले मर्जरको अन्तिम स्वीकृति दिइसकेको छ । यससँगै दुवै कम्पनीहरुले आजबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए । बीमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

 

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट गाभ्ने र गाभिने संस्थाको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सले सकार्ने गरी गत असार २३ गते स्वीकृति प्राप्त भएको थियो ।

यी दुवै बीमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएकोमा एमओयुमा हस्ताक्षर भएको दुई महिना १० दिनमै मर्जर सम्पन्न गरेका छन् । मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरणसँगै बीमा समितिले तोकेको चुक्ता पुँजि दुई दुई अर्ब पुग्नेछ ।

सहमति अनुसार हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच स्वाप रेसियो ८५ः१०० मा मर्जर भएका हुन् । जसअनुसार हिमालयन जरल इन्स्योरेन्सका शेयरधनीहरुको ८५ कित्ता बराबर एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर हुनेछ ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ रहनेछ । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड र हिमालयनको १ अर्ब १७ करोड रुपैयाँ छ ।

कम्पनीले हाल सेयर स्वाप अनुपात कायम गर्दा उपलब्ध १७ करोड रुपैयाँ प्रिमियमको रुपमा वितरण गर्नेछ । मर्जरपछि बन्ने कम्पनीको शाखा संख्या ७५ पुग्नेछ । मर्जरपछि बन्ने नयाँ कम्पनीको संचालक समिति अध्यक्षमा हिमालयन जनरल इस्योरेन्सतर्फबाट हुनेछ । तीन जना संचालक हिमालयबाट र तीन जना एभरेष्ट बैंकबाट हुनेछन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह हुनेछन् । शाह हाल हिमालयन जनरल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*