एक वर्षमा मूल्य बृद्धि दोब्बर, जेठ महिनासम्ममा महंगी साढे ८ प्रतिशत पुग्यो

२७ असार २०७९, सोमबार १७:४४

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनासम्ममा उपभोक्ता मुद्रास्फिती ८.५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनासम्ममा उपभोक्ता मूल्य बृद्धि ४.१९ प्रतिशत रहेको थियो । एक वर्षको अन्तरालमा देशको महँगी दोब्बर बढ्न पुगेको छ ।

चालु आवको वैशाख महिनासम्ममा मूल्य बृद्धि ७.८७ प्रतिशत रहेको थियो । युक्रेन र रुसबीचको युद्धका कारण इन्धन तथा उपभोग्य वस्तुहरुको संकट तथा मूल्य बृद्धिको असर देशको महंँगी तथा मूल्य बृद्धिमा देखिएको हो ।

चालु आवको जेठ मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मुल्यबृद्धि ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ९.४४ प्रतिशत रहेकोछ । त्यस्तै, यस अवधिसम्म वार्षिक विन्दुगत मासिक औषत मूल्यबृद्धि ६.०९ प्रतिशत रहेको छ ।

गत वर्षको यसै अवधिसम्मको तुलनामा चालु आवको जेठ मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सूर्तीजन्य पदार्थ, मदिराजन्त पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्य बृद्धि क्रमशः२२.६०%, ११.२२%, ९.७०%, ६.६८% र ९.१३% रहेको छ ।

साथै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फिती क्रमशः २५.७९%, ११.६४%, ८.३०%, ८.२१% र ७.८४% रहेको छ ।

यस अवधिसम्ममा काठमाडौं उपत्यकामा मात्रै ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मूल्यबृद्धि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*