राष्ट्र बैंकका विवादित सञ्चालक कर्ण चार महिनादेखि राष्ट्र बैंक नगई सुविधा लिँदै

२६ असार २०७९, आईतवार १२:२४

काठमाडौं । चार महिनादेखि घुसकाण्डमा मुछिएर विवादमा आएका नेपाल राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णमाथि सरकारले अझैसम्म पनि कुनै पनि छानबिन गर्न सकेको छैन ।
विवादमा परेपछि राष्ट्र बैंक जान छोडेका कर्णले घरैमा बसेर बैठक भत्ता लगायतका सुविधाहरु भने लिँदै आएका छन् ।

गभर्नर अधिकारीमाथि कुनै कारण बिना नै छानविन समिति गठन गर्न सक्ने सरकारले संचालक डा. सुबोधकुमार कर्णमाथि ३० हजार डलर घुस मागेको उजुरीपछि पनि छानबिन गर्ने सम्बन्धमा कुनै प्रक्रिया अघि बढाएको छैन ।

सञ्चालक कर्णमाथि विदेशी मुद्रा नेपाल भित्राएने एक व्यापारीसँग ३० हजार डलर घुस मागेको उजार भएको थियो । घुस काण्डपछि उनी नेपाल राष्ट्र बैंकको कुनै पनि बैठकमा सहभागी नभएको स्रोतको दावी छ । उनी राष्ट्र बैंकको बैठकहरुमा सहभागी नभए पनि भत्ता तथा सुविधाहरु भने नियमित रुपमा लिइरहेका छन् ।

केपी ओली सरकारको पालामा विष्णु पौडेलसँगको सेटिङमा सञ्चालक बनेका कर्णमाथि गम्भिर आरोप लागेको चार महिना बितिसक्दा पनि संचालक कर्णमाथि छानबिन गर्न जाँचबुझ समिति बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लग्न पर्नेमा सो नगरी कर्णलाई छुट दिइरहेको छ । यस सम्बन्धी प्रस्ताव अर्थमन्त्रालयले अघि बढाउनु पर्नेमा यतिबेला अर्थमन्त्रीको जिम्मेवारी प्रम शेर बहादुर देउवाले नै सम्हालिरहेका छन् ।

२०५० सालदेखि लेखा परिक्षण पेशामा संलग्न कर्ण नेपाल धितोपत्र बोर्डका संचालक, नेपाल चार्टर्ड एकाउन्टेन संस्था (आईक्यान) का पूर्व अध्यक्ष समेत हुन् । २०५१ साल कार्तिक २१ गते हरिसिद्धि इट्टा तथा टायल कारखानाको कन्ट्रोलरबाट करिअर सुरु गरेका कर्णले उतिबेला पनि सरकारको नीति विपरित तीन वटा संस्थामा एकैसाथ काम गर्ने गरेको आरोप लागेको छ । उनले नेपाल परिवार नियोजन संघ र नेपाल खानेपानी संस्थानमा समेत सोही समयमा काम गर्ने गर्दथे । भारतबाट सिए पास गरेका कार्णले २०४१ सालमै बिबिए पास गरेको दावी गर्ने गर्दछन् ।

२०७५ वैशाख ११ देखि राष्ट्र बैंकको संचालक बनेको कर्णमाथि ३० हजार डलर अर्थात करिब ३६ लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ । राष्ट्र बैंकको संचालकले स्वतः राजीनामा नदिएको अवस्थामा सरकारले जाँचबुझ समिति बनाएर सो समितिको सिफारिसको आधारमा हटाउन सक्ने कानुनी व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*