श्रीलंकाका राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, आर्थिक संकटपछि आक्रोसित जनताले राष्ट्रपति राजापाक्षेलाई लखेटे

२५ असार २०७९, शनिबार १६:०९

काठमाडौं । देशमा गम्भिर आर्थिक संकटपछि पनि पद छोड्न तयार नभएका श्रीलंकाली राष्ट्रपति गोटावाया राजापाक्षेलाई प्रदर्शनकारीले राष्ट्रपति भवनबाट लखेटेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको घेरा तोडेर राष्ट्र भवनमा प्रवेश गर्दा उनी सुरक्षित तरिकाले सेनाको बंकरहुँदै बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीले राष्ट्रपति राजापाक्षेको स्वीमिङपुलमा सर्वसाधारण जनताले पौडी खोलेको फोटो राखेर श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास जनताको कब्जामा पुगेको उल्लेख गरेको छ ।

देशैभरिबाट भेला भएका लाखौं सर्वसाधारणले आज विहानैदेखि राष्ट्रपति भवन अगाडि प्रदर्शन गरिरहेको थिए । देशको अर्थव्यवस्था सम्हाल्न नसकेपछि पदबाट राजिनामा दिन र नयाँ सरकार गठन गरेर आर्थिक सुधारका मार्गहरु अघि बढाउन माग गरिरहेकामा राजापाक्षेले सुन्दै नसुनेझै गर्दै आएका थिए ।

आज उनको निवासमा हजारौं प्रदर्शनकारीहरु प्रवेश गरेर तोडफोड गर्दै कब्जामा लिएको बीबीसीले जनाएको छ । राष्ट्रपति राजापाक्षे कहाँ भागे भन्ने खुल्न सकेको छैन । श्रीलंका समुन्द्रमा बीचमा रहेको र त्यहाँबाट भारतमा भाग्न सजिलो हुने भएकोले त्यतै गएको आशंका गरिएको छ ।

श्रीलंका विगत एक वर्षदेखि गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको छ । पछिल्लो समय देशसँग इन्धन खरिद गर्ने डलर समेत सकिएपछि मानिसहरुले खाना पकाउने ग्याँस समेत पाउन छोडेका छन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*