एनआईसी एसिया बैंकले ल्यायो सबैभन्दा आकर्षक निक्षेप योजना, १० लाख निक्षेप राख्दा करोड फिर्ता पाइने

काठमाडौं । देशकै सबैभन्दा ठूलो एनआईसी एसिया बैंकले मुद्दति निक्षेपमा दश गुणा फिर्ता दिने योजना अघि सारेको छ । दीर्घकालिन लगानी संकलन गर्ने उद्देश्यले बैंकले यस्तो अघि सारेको हो । जस अनुसार एनआईसी एसिया बैंकले आज १० लाख रुपैयाँ निक्षेप जम्मा गरेमा २१ वर्षपछि एक करोड रुपैयाँ फिर्ता पाउनेछन् । त्यस्तै एक लाख रुपैयाँ निक्षेप जम्मा गर्नेहरुले १० लाख रुपैयाँ फिर्ता पाउनेछन् ।
एनआईसी एसिया बैंकले बीमा कम्पनीहरुलाई नै चुनौति दिने गरी नयाँ स्कीम अघि सारेको हो । यद्यपि यो नयाँ स्कीम बीमा कम्पनीमा प्रिमियम तिरेको जस्तो नभई एकैमुष्ठ बुझाउनुपर्नेछ । एनआईसी एसिया बैंकका अनुसार यही असार महिनाभित्रैमा मुद्दति निक्षेपमा जम्मा गर्नेहरुले मात्रै यस्तो सुविधा पाउनेछन् ।
देशकै ठूलो बैंकले नयाँ मुद्दति निक्षेप योजना सार्वजनिक गरेपछि दीर्घकालिन लगानीका लागि बीमा कम्पनीहरुलाई समेत फाइदा हुनेछ । जीवन बीमा कम्पनीहरुसँग करिब पाँच सय अर्ब रुपैयाँ निक्षेप रहेको छ । दीर्घकालिन रुपमा यसैगरी लगानी गर्न पाएको खण्डमा जीवन बीमा कम्पनीहरुको बोनसदर तीन डिजिटमा पुर्याउन सहज हुनेछ ।
एनआईसी एसिया बैंकले अघि सारेको निक्षेप योजनाले जीवन बीमा क्षेत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त भएको एक जीवन बीमा कम्पनीका उच्च अधिकारीले बताए । ‘बीमा कम्पनीहरु सधैं लगानीको उपयुक्त अवसरको खोजिमा हुन्छन् । हामीले धारण गरेको जोखिम २०–२५ वर्षलाई हुन्छ, लगानी बार्षिक रुपमा गर्नुपर्दा निकै अन्योल र अस्थिरता थियो । यसले आशा जगाएको छ’ एक जीवन बीमा कम्पनीका कर्मचारीले भने ।
नयाँ योजनाबाट सबैभन्दा बढि फाइदा रेमिट्यान्स पठाउनेले लिन पाउनेछन् । उनीहरुले १९ वर्षमा नै १० गुणा लाभ पाउनेछन् । त्यस्तै संस्थागत निक्षेपकर्ताहरुले २० वर्षमा १० गुणा लाभ पाउनेछन् ।
यद्यपि संस्थागत निक्षेप लगानीहरुले भने एनआईसी एसिया बैंकमा सञ्चार सम्पर्क कठिन भएको भन्दै छुट्टै हटलाईन नम्वरको व्यवस्था गरेमा अझै सहज हुने सुझाव दिएका छन् ।
ब्याजको आधारमा लाभ ग्यारेन्टी गरिएकोले बीमा कम्पनीहरुले निर्धक्क लगानी गर्न सक्ने बैंकका सहायक सूचना अधिकारी तथा केन्द्रीय गुनासो व्यवस्थापन अधिकारी अर्जुन खनियाँले जानकारी दिए । बैंकले सञ्चालन गरेको आकर्षक स्कीमको अवधी असार महिनाभरका लागि मात्रै भएकोले यस योजनामा सहभागी हुन चाहने व्यक्ति तथा संस्थागत लगानीकर्ताहरुले सोही अवधीभित्रमा बैंकमा निक्षेप जम्मा गरिसक्नुपर्नेछ ।