असार मसान्त लागेसँगै सीडी रेसियो ८९.२६ प्रतिशतमा, एकैदिन निक्षेप ५ अर्ब थपियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५ अर्बले बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ खर्ब ८७ अर्ब पुगेको छ ।
राष्ट्र बैंकका अनुसार असार १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४९ खर्ब ८७ अर्ब पुगेको हो । अघिल्लो महिना जेठ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४९ अर्ब ८२ खर्ब रुपैयाँ रहेको थियो ।
यस महिनासम्म बैंकहरुको निक्षेपमा सुधार देखिएसँगै औसत कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्न पुगेको छ । गत जेठ ११ गतेसम्म ८९.३७ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो यस अवधिसम्म घटेर ८९.२६ प्रतिशत पुगेको छ ।
असार १२ गतेसम्म कमर्सियल बैंकहरुको मात्रै निक्षेप संकलन ४४ खर्ब १ अर्ब पुगेको छ भने यस अवधिसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब ऋण प्रवाह गरेका छन् ।
गत वैशाख महिनासम्म नेपालमा रहेका १८ वटा वाणिज्य बैंकहरु ऋण प्रवाह गर्नै नसक्ने अवस्थामा थिए । बैंकहरुले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १८ वटा वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा पनि माथि पुगेको थियो ।
जेठ महिनाको अन्त्यतिर बैंकहरुको सीडी रेसियो. ९० प्रतिशतभन्दा तल झर्न थालेको हो । नियमक निकाय राष्ट्र बैंकले बैंकहरुको असार मसान्तभित्रमा सीडी रेसियो ९० प्रतिशतभन्दा तल झार्न निर्देशन दिएको थियो । जेठ २२ गतेसम्म बैंकहरुको सीडी रेसियो ८९.९९ प्रतिशत पुगेको थियो ।