अध्ययनबिनै १० ब्रोकरलाई उपत्यकाबहिर शाखा खोल्न स्वीकृति (सूची सहित)

१४ असार २०७९, मंगलवार १२:३६

काठमाडौं । धितोपत्र बोर्डले मुलुकभर ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिन थालेको छ । नेप्सेले लिखित परीक्षाबिनै ब्रोकरको नयाँ लाइसेन्स बाँड्न गृहकार्य गरिरहेका बेला बोर्डले ठूलो संख्यामा शाखा विस्तारको अनुमति दिन थालेको हो ।

यसअनुसार थप चार वटा ब्रोकरले सात स्थानमा शाखा संचालन अनुमति पाइसकेका छन्। १० वटा ब्रोकरले १६ स्थानमा शाखा स्थापनाको सैद्धान्तिक सहमति पाइसकेका छन् । २७ वटा ब्रोकरबाट ६५ स्थानमा १ सय ४६ वटा शाखा स्थापनाका लागि आवेदन प्राप्त भएको बोर्डले स्रोतले बताएको छ ।

बोर्डले सम्बद्ध स्थानमा ब्रोकरको आवश्यकता, सेयर कारोबारको सम्भावनालगायत केही विषय नहेरी माग आएका सबै ठाउँमा शाखा विस्तारको अनुमति दिने तयारी गरेको छ । अहिले ब्रोकरको शाखा विस्तारलाई सेयर बजारको सुधारका लागि भन्दै आन्दोलन गरिरहेका लगानीकर्ताको मागसँग जोडेर अनुमति दिन थालिएको छ ।

लगानीकर्ताको माग सम्बोधन गर्न बनेको कार्यान्वयन समिति बैठकले आइतबार ब्रोकरलाई शाखा विस्तारको अनुमति दिने निर्णय गरेको बोर्डले जनाएको छ। ब्रोकरको शाखा विस्तार नयाँ भने होइन । ०७६ सालअघि नेपाल स्टक एक्सचेन्जले आफैं ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन पाउने व्यवस्था थियो । सोही व्यवस्थाअन्तर्गत नेप्सेले १७ जिल्लामा ४१ वटा शाखा संचालनका लागि अनुमति दिइसकेको थियो ।

‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, ०६४’ को तेस्रो संशोधन गरेर नेप्सेको अधिकार धितोपत्र बोर्डले आफू मातहत ल्याएको थियो ।
यसरी ०७६ साल फागन १ देखि बोर्ड आफैंले ब्रोकरलाई शाखा स्थापनाको अनुमति दिन थालेको छ । सोही व्यवस्थाबमोजिम पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको पालामा थप ६ वटा शाखा संचालनका लागि बोर्डले अनुमति दिएको थियो ।

बोर्डका अध्यक्षमा रमेशकुमार हमाल आएपछि थप ४ वटा ब्रोकरले ७ स्थानमा शाखा संचालनका लागि अनुमति पाइसकेका छन्  । १० वटा ब्रोकरलाई १६ वटा शाखा संचालनका लागि बोर्डले सैद्धान्तिक सहमति दिइसकेको छ ।

त्यस्तै, बोर्डले चारवटा सेयर ब्रोकरलाई काठमाण्डौ बाहिरका बिभिन्न सात स्थानमा शाखा संचालनको लागि स्वीकृति दिएको हो। यसरी स्वीकृति पाउनेमा भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, नेपाल स्टक हाउस रहेका छन्।

भिजन सेक्युरिटिजले कावासोती नवलपरासी, बेनी म्यादी, दमौली तनहुँमा गरि तीनवटा शाखा संचालनको लागि स्वीकृति पाएको छ भने अनलाइन सेक्युरिटिजले बट्टार नुवाकोट, दिपशिखा धितोपत्रले टांडी चितवन, नेपाल स्टक हाउसले बिदुर नुवाकोट तथा टिकापुर कैलालीमा शाखा संचालनको लागि स्वीकृति पाएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*