बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कलाई अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन

१० असार २०७९, शुक्रबार १९:५१

काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ ।वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले वि.सं. २०६६ सालमा बीमितको मृत्युदर तालिका तयारी भई कार्यान्वयनमा रहेको र यस अवधिमा दुई पटक राष्ट्रिय जनगणना समेत भई औषत मृत्युदर सम्बन्धी तथ्याङ्क सार्वजनिक भइसकेको सन्दर्भमा बीमितको मृत्यु्दर तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

अध्यक्ष सिलवालले बीमाप्रतिको विश्वास बढाउँदै बीमा व्यवसायलाई विस्तार गर्न र बीमितको हितको रक्षा गर्न समेत यस किसिमका अध्ययन आवश्यक रहेको उल्लेख गर्नुहुँदै बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कहरुलाई अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिनुभयो ।
बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले यससम्बन्धी प्रारम्भिक अध्ययन गरिएको जानकारी दिनुभयो ।
जीवन बीमक संघ नेपालका उपाध्यक्ष पोषकराज पौडेलले बीमा समितिले बीमितको मृत्युदर तालिका परिमार्जन गर्न लागेबाट उपयुक्त बीमाशुल्क निर्धारणका साथै समग्र जीवन बीमा व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बीमा समितिका परामर्शदाता बीमाङ्की प्रेक्षा माथेमाले बीमितको मृत्युदर अनुसन्धान संयन्त्र र बीमाङ्की विज्ञान विषयमा अध्ययरत विद्यार्थीहरु रुस्तम लवाजुले विभिन्न देशका बीमितको मृत्युदर तालिका तथा मुलुक पौडेल र सागर निरौलाले बीमितको मृत्युदर तालिकाका लागि आवश्यक तथ्याङ्क सम्बन्धी विषयमा प्रस्तुती गर्नुभएको थियो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदीको उपस्थिति रहेको कार्यक्रमको संचालन समितिका उपनिर्देशक निर्मल अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा जीवन बीमक संघका पदाधिकारी, जीवन बीमा कम्पनीका सूचना प्रविधि विभाग तथा बीमाङ्की मूल्याङ्कन शाखाका कर्मचारी र बीमा समितिको बीमालेख शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*