नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न लागेको नबिल बैंकमा कर्मचारी संघको आपत्ती, यस्तो छ कारण
काठमाडौं । नबिल बैंक कर्मचारी संघले नेपाल बंगलादेश बैंकलाई प्राप्तिपछि पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आशमा रहेपनि उल्टो मनोबल गिर्नेगरी नयाँ सहमति भएको भन्दै त्यसप्रति आफुहरुलाई मान्य नहुने बताएका छन् ।
नबिल बैंक र एनबि बैंकबीच मर्जरका क्रममा एनबी बैंकका कर्मचारीहरुको २ तहसम्म घटुवा गर्ने गरी भएको सहमतिमा नेपाल राष्ट्र बैंकका गभर्नर र एनबि बैंकका कर्मचारीहरुको आपत्ती रहेको थियो । सो प्रति १७ वटा वाणिज्य बैंकका कर्मचारीहरु युनियनहरुले समेत राष्ट्र बैंकमा लिखित रुपमै विरोध जनाएका थिए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैंले एनबि बैंकका कर्मचारीलाई अन्याय नहुने गरी नयाँ सहमति नभएसम्म नबिल र एनबिको मर्जरलाई स्वीकृत नदिने अडान लिएसँगै दुई बैंकबीचको मर्जर विवादित बन्न पुगेको हो ।
एनबि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई भेटेर नयाँ सहमति गरेसँगै पुनः नबिल बैंकका कर्मचारी तातिएका हुन् ।
नबिल बैंक कर्मचारी संघका अध्यक्ष सविन भट्टराइले एक पत्र लेख्दै एनबी बैंकसँग निकट भविष्यमा नै प्राप्ति पश्चात एकीकृत कारोबार संचालन हुँदा एनबी बैंकका कर्मचारीलाई समेत लेभल नघट्ने गरी भएको नयाँ सहमतिप्रति विरोध जनाएका हुन् ।
नबिल बैंकका कर्मचारीले एनबी बैंकलाई प्राप्तिपश्चात पनि आफुहरुलाई यथास्थितिमा नै राखेको र कर्मचारीको बढुवा नगरेको भन्दैं विरोध जनाएका हुन् । बैंकिङ्ग क्षेत्रमा लामो समयदेखि अग्रणी स्थानमा रहेका नबिल बैंकका कर्मचारीहरुले आफुहरुलाई जत्तिकै एनबी बैंकका कर्मचारीलाई पनि पद दिने सहमतिले खेद प्रकट गरेका हुन् ।
बैंकका दक्ष निष्ठावान कार्यरत सम्पूर्ण कर्मचारीको वृत्ति विकासमा भने हदै सम्मको शंकुचन रही आएको अवस्थामा पनि तत तत पदमा समायोजन गर्दा नबिल बैंकमा कार्यरत कर्मचारीको मनोबल र मनोदशा के हुन जान्छ ? जतिसुकै प्रगतिशिल कुराको दुहाई दिए पनि के पाकिस्तानको जनशक्तिको कार्य दक्षताको मिलान जापानको जनशक्तिको कार्य दक्षतासँग तुलना गर्न मिल्छ ? भन्दै प्रश्न ठड्याँउँदै प्रमुख कार्यकारी अधिकृतलाई पत्र लेखेका हुन् ।
साथै नबिल बैंकका कर्मचारीले हाल फाइफ बढुवाको रोलक्रममा रहेका ग्रेडको सीमा छोइसकेका कर्मचारीको हकमा २ तह र अन्यको हकमा १ तह स्वतः बढुवा गरी न्यायिक र भावनात्मक रुपमा यथोचित सम्बोधन गर्न आग्रह गरेका छन् ।