इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरियो
काठमाडौं । सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरिएको छ। अधिवत्ता रुद्रप्रसाद पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालासँग १० करोड धरौटीमा छाड्न भनेको र २ करोड दिने उल्लेख छ ।
पोखरेल नेपाल बार एशोसियनका निवर्तमान कोषाध्यक्ष हुन् । उनी बारमा एमालेको निकट कानुन व्यवसायीको तर्फबाट उम्मेदवार थिए । तामाङको पक्षमा कानुन व्यवसायीको रुपमा पोखरेलले मुद्दा लडेका छन् ।
तामाङलाई सहकारीकर्ताको १० अर्बभन्दा बढी निक्षेप नदिएको आरोप छ । अडियोमा १० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको थियो । वकिल पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबिच भएको गोप्य संवादमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल अडियो रेकर्डमा सुनिन्छ ।
सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गएको वर्षको असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
त्यही मुद्दामा तामाङलाई धरौटीमा छाड्न गरिएको डिलमा सहमति जनाएका न्यायाधीश कोइरालाले २०७८ को पुस १४ मा भने तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउने र अन्यलाई धरौटीमा छाड्ने आदेश दिएका थिए ।