लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै
काठमाडौं । सर्वसाधारण जनताले धान्नै नसक्ने गरी पेट्रोल, डिजेलको मूल्यबृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर लागत बृद्धि भएको भन्ने नेपाल आयल निगमको दावी झुठा भएको प्राप्त तथ्याङ्कहरुले देखाएको छ । निगमले आईओसीबाट प्राप्त खरिद मूल्य नै झुठो देखाएर सर्वसाधारणलाई ठगी गरी अर्बौ रुपैयाँ घोटाला गरिएको तथ्य बीमापोष्टले फेला पारेको छ । नेपाल आयल निगममा अर्बौ रुपैयाँ घोटाला भएको प्राप्त तथ्याङ्कहरुले औल्याएको छ । इन्धनको कारोबार गर्न एकाधिकार प्राप्त नेपाल निगममा नयाँ व्यवस्थापकको रुपमा इन्जिनियर उमेश प्रसाद थानीको प्रवेशसँगै बढाइएको इन्धनको मूल्यभित्रका अर्बौ रुपैयाँ घोटाला भएको तथ्य बीमापोष्टले ‘ट्रेस’ गरेको छ ।
भारत र नेपालमा इन्धनको मूल्यमा निकै ठूलो अन्तर पाइएपछि गरिएको अध्ययनको क्रममा नेपाल आयल निगमले सार्वजनिक गरेको विवरण नै कीर्ते भएको फेला छ । नेपाल आयल निगमले वास्तविक मूल्य भन्दा २२ प्रतिशत बढि मूल्य असुल गरेको पाइएको छ । यसको पछाडि व्यवस्थापक थानीले आईओसीका व्यवस्थापकसँगको मिलोमतोमा अर्बौ रुपैयाँ तलमाथि गरेको तथ्याङ्कले औल्याएको छ ।
भारतमा जम्मा ५७ रुपैयाँ भारु (९१.४ नेपाली रुपैयाँ) मा बेस रेटमा आईओसीले इन्धन उपलब्ध गराउँदै आएको छ । दिल्लीका लागि तोकिएको बेसरेट भन्दा नेपालले रिफाइनरीबाटै उठाउँदा अझै सस्तो पर्न जानुपर्नेमा उल्टै कृत्तिम मूल्य खडा गरेर जनताको टाउकोमा अत्याधिक भार थोपरिएको पाइएको छ । भारतको नयाँ दिल्लीमा बेसरेटमा स्थानीय, संघीय सरकारले लिने कर थप गरेर ९६.७२ रुपैयाँ भारुमा खुद्रा बिक्री भइरहेको पेट्रोल नेपालमा भने २१२.५८ रुपैयाँ अर्थात १३२.८६ रुपैयाँ भारु लागत पर्ने कुरा झुठा र कृत्तिम भएको पुष्टि भएको छ ।
नेपाल आयल निगमका उच्च अधिकारीले आईओसीका उच्च अधिकारीसँगको मिलेमतोमा कृत्तिम मूल्य राखेर इन्धनको कारोबार गरिरहेको विवरणहरुले देखाएको छ । निगमले जनतालाई झुठा विवरण प्रकाशन गरी इन्धनको चर्को मूल्य असुल गरिरहेको तथ्यले देखाएको छ । बीमापोष्टले भारतीय आयल कर्पोरेशनसँगबाट बेस रेट प्राप्त गरी अध्ययन गर्दा यस्तो तथ्य उजागर भएको हो ।
नेपाल आयल निगमले इन्धन खरिद गर्ने इण्डियन आयल कर्पोरेशनले जम्मा ५७ रुपैयाँमा सरकारलाई थप कर तिरेर ९६ रुपैयाँ भारुमा इन्धन बिक्री गर्दै आएको छ । भारतमा लाग्ने कर नेपालमा आउने इन्धनलाई लाग्दैन । तर नेपालमा छुट्टै कर लाग्छ । निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले माफियासँगको सेटिङमा आईओसीबाटै मूल्यमा गडबढ गरी उपभोक्तामाथि गम्भिर प्रकृतिको अपराध गरिरहेको तथ्याङ्कले देखाएको छ । आईओसीले बेस प्राईसमा नेपालमा इन्धनमा उपलब्ध गराउनुपर्नेमा उतैबाट कमिशन सेटिङमा अर्बौ रुपैयाँको खेल भइरहेको छ ।
प्राय सधैं नेपालमा भन्दा भारतमा इन्धनम महंगो हुने कारण त्यहाँको महंगो कर प्रणाली हो । तर यस पटक नेपालमा भारतमा भन्दा २२.८१ प्रतिशतले महंगोमा इन्धन बिक्री वितरण भइरहेको छ । पछिल्लो समय भारतमा इन्धनमा लगाइएको कर केही सस्तो बनाएको मात्रै नभई नेपालमा पनि पूर्वाधार कर हटाइएको छ । यति हुँदा पनि निगमले लगातार इन्धनको मूल्य बृद्धि गर्दै आएको छ ।
भारतीय आयल कर्पोरेशनले भारतमै बेस रेट ५७.१३ रुपैयाँ राखेर इन्धन बिक्री वितरण भइरहेको जनाएको छ । साप्ताहिक रुपमा मूल्य निर्धारण हुने भारतमा पछिल्लो पटकको जुन १६–२२ सम्मको तथ्याङ्क अनुसार कर, डिलर कमिशन, ढुवानी भाडा समेत भारतमा ३९.५९ रुपैयाँ थप शुल्क लिई ९६.७२ भारुमा इन्धन कारोबार भइरहेको छ । नेपालमा भने नेपाल आयल निगमले एक लिटर पेट्रोलको मूल्य नेपाल आईपुग्दा २१२.५८ रुपैयाँ अर्थात १३२.८६ रुपैयाँ भारु लागत दावी गर्दै आइरहेको छ । जुन पूर्णतः झुठा भएको तथ्य आईओसीको पेट्रोलको इन्धन मूल्य सम्बन्धी यस विवरण प्रमाणित गर्छ ।
नेपाल आयल निगम र आईओसीबीचमा भएको सम्झौता अनुसार अन्तर्राष्ट्रिय अभ्यास अनुसार मूल्य निर्धारण गर्ने विधि अन्तर्गत भारतीय बजारमा पठाउने मूल्यभन्दा रिफाइन गरिएको इन्धनमा सामान्य मुनाफा राखेर दिनुपर्ने शर्त छ । तर, यस पटक आईओसीले नै उच्च मुनाफा राखेर नेपाललाई इन्धनको मूल्य सूचि पठाएको देखिएको छ ।
ठूलो भल्युममा इन्धन खरिद गर्ने हुँदा बेस रेटभन्दा अझै कम मूल्यमा इन्धन दिने शर्त छ । ५७.१३ बेसरेटकै आधारमा हिसाब गर्दा समेत नेपाली रुपैयाँ ९१.४ रुपैयाँमा आईओसीले नेपाललाई इन्धन दिनुपर्ने हुन्छ । तर निगमले सार्वजनिक गरेको विवरणमा पेट्रोल प्रतिलिटर भारतले दिँदा प्रतिलिटर १०१.९१ रुपैयाँ पर्ने उल्लेख गरेको छ । निगमकै आधारमा पनि प्रलिलिटर १० रुपैयाँको दरले घोटाला भएको पुष्टि हुन्छ । भारतीय बजारको बेस रेट अनुसारको मूल्यमा नेपालमा लाग्ने कर ६५.६१ रुपैयाँ प्रतिलिटर थप गर्दा १५७.०१ रुपैयाँ हुन आउँछ । उक्त मूल्यमा ढुवानी भाडा, बीमा, प्राविधिक लस, निगमको प्रशासनिक खर्च र कमिशन समेत जोड्दा १४.३७ रुपैयाँ थप गर्दा पेट्रोलको कूल लागत १७१.३८ रुपैयाँमा कूल लागत पर्ने देखिन्छ । यो इन्धनको घटेको मूल्य अनुसारको कर समायोजन गर्दा १६५ भित्रैमा सीमित हुनेदेखिन्छ । निगमले पट्रोलको मूल्य प्रतिलिटर लागत २१२.५८ पुगेको देखाएकोमा आईओसीको तथ्याङ्क अनुसार प्रतिलिटर ४१.२० रुपैयाँ फरक पर्न आएको छ । यसले समेत निगमले उपभोक्तासँग मासिक अर्बौ रुपैयाँ ठगी गरिरहेको तथ्याङ्कहरुले उजागर गरेको छ ।
निगमले मासिक छ करोड लिटरभन्दा बढि पेट्रोल भारतबाट आयात गर्दै आएको छ । सो आधारमा निगमभित्र मासिक दुई अर्ब ५० करोड भन्दा बढि घोटाला भएको तथ्याङ्कले औल्याएको छ । यद्यपि उक्त तथ्याङ्कहरुको थप परिक्षण र प्रमाणिकरण गरेर मात्रै यकिन तथ्याङ्क र घोटालाको विवरण सार्वजनिक गर्न सकिनेछ ।
4 thoughts on “लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै”